ए नयाँ वर्ष

सञ्चमान खालिङ/पीए,अमेरिका
सञ्चमान खालिङ/पीए,अमेरिका

ए नयाँ वर्ष
आशा थियो
अलिकति माना लिएर आउँछौ
अलिकति छाना लिएर आउँछौ
बम र बारुदको धुवाँले
धमिलिएको वायुमण्डल सँगल्याउन
शान्ति पवन भएर आउँछौ
मान्छेलाई मंगल ग्रह होइन
मान्छेसम्म पु–याइदिन्छौ

हिजो भन्दा आज
आज भन्दा भोलि
शहरदेखि गाँउ टाढा हुँदैछ
त्यहाँ
कम्प्युटर, विद्युतीय उपकरणहरुको
शासन चल्छ रे
अनि भूमण्डलिकृत समाज
यहाँ त
दरिद्रताको पराकाष्ठँ ताण्डव नाच्दै छ
अर्कैले लादेको एकाइशौं शताब्दी
बेलै नपुगी बाँच्न कर लागेको छ
म चाहन्छु तिमी ठप्प रोकिनु पर्छ
मेरो समाजले अरुको दाँजो नपुगुन्जेल
तर तिमी
ठूला–ठूला मिसाइल बोकेर आयौ
हुनेलाई खापमाथि खाप
नहुनेलाई झन नाङ्गेझार पा–यो
भो अब
छेपारोको कथा– आश्वासन
नदोहो–याउ है मेरा बस्तीहरुमा-झुपडीहरूमा

(२०६३—०८—२७)
धरान

श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट

One Reply to “ए नयाँ वर्ष”

Leave a Reply

Your email address will not be published. Required fields are marked *