ऐतिहासिक दृष्टिमा ‘वासदेखि पुनर्वाससम्म’
भक्त घिमिरे-
[(सर्वप्रथम वासदेखि पुनर्वाससम्म नामक संस्मरणात्मक यस कृतिको ऐतिहासिक पाटोलाई पर्गेल्ने जिम्मेवारी दिएर मलाई अवसर प्रदान गर्नुभएकोमा कृतिकार डा. ढकालप्रति आभार व्यक्त गर्दै यस लोकार्पण समारोहको आयोजक संस्था साहित्य परिषद-भूटानप्रति पनि कृतज्ञता जाहेर गर्दछु ।लेखक डा.ढकाल र मबीचको अन्तरंग सम्बन्ध, हाम्रो सहकार्यमा भएका ऐतिहासिक महत्वका कामहरु धेरै भए पनि म ती तमाम गन्थनमा अल्झिन छोडेर धेरै भूमिका नबाँधीकन सरासर विषयभित्र जान चाहन्छु । यस कृतिको ऐतिहासिक पक्ष केलाउने मेरो दायित्व भएकाले म त्यसै विषयको संक्षिप्त आँकलनतर्फ लाग्दैछु ।) – विमाेचन समाराेहमा गरेकाे सम्बाेधनकाे पूर्णपाठ यहाँ प्रस्तुत छ – सम्पादक ]
कृतिको नामबाटै यसले प्रकट गर्ने ऐतिहासिक झलकहरुको संकेत स्पष्ट हुन्छ । भूटानबाट आम-उच्छेदनमा परेका मान्छेहरु पहिले बेघर बटुवाझैं वास खोज्दै भारत पसे, नेपाल आइपुगे ! दशकौंको अन्तरालमा उनीहरु फेरि त्यो वासदेखि पुनर्वासका लागि अर्को यात्रामा हिँडे ! यसरी नेपाली सांस्कृतिक पृष्ठभूमिका भूटानीहरुको सामाजिक जीवनका तीन खुड्किला कालखण्डलाई एकैचोटि झल्काउन यो कृतिको नाम नै काफी बनेको छ ।
लेखकले आफ्नो समग्र कृतिलाई पूर्वाद्ध र उत्तरार्द्ध गरी दुइ मुख्य खण्डहरुमा विभाजित गरेका छन् । भूटान र भूटानीहरुको समग्र पृष्ठभूमिलाई समेट्तै नेपालमा शरणार्थी बन्दासम्मको जीवनवृत्तिलाई पूर्वार्द्ध भाग र मधुरो बत्तीजस्तो जीवनको जिजीविषा बोकेर शरणार्थी शिविरबाट पुनवर्वाश योजनामा समुद्रपारितिर लागेको यात्रासँगै त्यसपछिका उवड-खावडहरुलाई लेखकले दोस्रो अथवा उत्तरार्द्ध खण्डमा समेटेका छन् ।
यसरी कृतिलाई दुइ खण्डमा बाँडिए पनि समय र अवस्थाका हिसाबले यसमा तीनवटा कालखण्डहरु समेटिएका छन् । जस्तैः भूटान, जहाँ जन्म, पालन-पोषण र शिक्षा; त्यसपछि नेपाल जहाँ, शरणार्थी बनेर मानवमूल्यका वृत्तान्तहरुको अध्ययन-अनुभव अनि त्यसपछि नयाँ पुनर्वासित मुलुकहरुको सुविधासम्पन्न तर निरस, यान्त्रिक जीवनपद्धति !
‘यात्रा रहेछ जिन्दगी’ भन्ने रामकृष्ण ढकालको गीतजस्तै आफ्नो जीवनलाई यात्राहरुकै विम्बका रूपमा प्रस्तुत गरिएको यस कृतिले कृतिकारको एकल जीवनविम्बमात्र नभएर लाखौं मान्छेहरुको यथार्थलाई प्रतिनिधित्व गरेको छ । जीवनलाई कृतिकारसँगै त्यो अन्त्यहीन यात्रामा डोऱ्याउनेहरु हामी नै हौं । कवि सञ्चमान खालिङको ‘निरन्तर हिँडिरहने धनेहरु’-को विम्बलाई डा.ढकालको यस कृतिले पनि प्रतिकात्मक रूपमा थपक्कै बोकेको छ ।
मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । चाहेर वा नचाहेर पनि जीवनको पूर्णविराम नभएसम्म बच्चादेखि वृद्घसम्मले यो यात्रा गर्नैपर्छ ! सुख, शान्ति, आनन्द, मुक्ति जे जे भने पनि मानिसले जीवनभरि खोजी रहने वस्तु नै अँध्यारोका विरुद्ध उज्यालो हो । यसैलाई उपनिषदहरुले ‘तमसोमा ज्योतिर्गमय…’ भनेका छन् । यो पाएपछि हुन्छ कि त्यो पाएपछि हुन्छ कि भन्दाभन्दै समयले मानिसको जीवन बिताइदिन्छ । तर, कति मानिसले सुख अनुभूत गरेर, शान्तिको मर्म चाखेर, आनन्द र खुशी समातेर अथवा जीवनको उज्यालो देखेर मर्न पाएका छन्, यो कसैलाई पनि ज्ञान छैन । कुरो जे होस् आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार मानिसले उज्यालो खोज्न भने छोड्दैन । यो नै जीवनविज्ञान पनि हो ।
यात्रा अनेक खालका हुन्छन् । धन कमाउने यात्रा, रमणीयताको यात्रा, शिक्षा र अन्य अवसरका लागि गरिने यात्रा, सम्बन्ध निर्माणको यात्रा वा स्पन्दनद्वारा स्वतः मन दौडिने यात्रा ! यी सबै यात्राको कुनै न कुनै गन्तव्य हुन्छ । तर, बाँच्नका लागि सासमात्र फेर्न पाउने आशामा दौडिएको एउटा यात्रीको कुनै निर्दिष्ट गन्तव्य हुँदैन । यस्तै एउटा गन्तव्यहीन यात्राका बटुवा हामी बनेका छौं । निरन्तरको यात्रा नै हाम्रो नियति बनेको छ । हुरी, बतास, घामपानी, उकाली–ओराली हरेक यात्रामा भोग्नैपर्छ । कति यात्रामै भेटिन्छन्, कति यात्रामै छुट्छन् । बेलाबखत मानिसले भौतिक रूपमा, भावनात्मक रूपमा अरुको पनि साथ पाउँछ । तर, वैचारिक रूपमा मानिसको यात्रा सधैं एकल हुन्छ ! विचार निर्माणमा परिवेशको प्रभाव त हुन्छ नै यद्यपि, एउटै परिवेशले धेरै मानिसमा धेरैखाले विचार पैदा गरिदिन्छ । हाम्रोचाहिं भौतिक र वैचारिक दुवै यात्राको गन्त्वय अझै टुंगो लागेको छैन । यिनै तमाम आरोह-अवरोहको गथासो हो वासदेखि पुनर्वाससम्म !
इतिहासका विविध कालखण्डमा अस्तित्वको खोजी, चरम गरिबीबाट उन्मुक्तिको आशा अनि कहिले सम्मान र अस्मिता रक्षाको अभिलाषामा हिँडिरहने सदैवको मानिसको यात्रा अझै पनि जारी छ । लाग्छ शायद हिँडिरहनु पर्ने यो अन्त्यहीन यात्रा नै जीवनको पर्याय हो ।
जीवनलाई निरन्तर यात्रामा हुत्याइरहनुको कारण उल्लेख गर्दै कृतिकार आफ्नो प्राक्कथनमा नागरिकतामाथि डकैती लागेको दाबी गर्छन् । उनको नागरिकताको कथन यस्तो छ, “नभएको होइन नागरिकता तर, कसैद्वारा डकैती गरियो । नागरिकता नभएकै कारण छिमेकमा वास मिलेन, त्यसकै अभावमा भाषा, संस्कृति, सभ्यता मिल्ने देशमा शरणार्थी भएर बस्नुपऱ्यो । त्यहाँ पनि यो अनमोल नागरिकता किन्न मनले मानेन, आत्मा बेच्न मन लागेन, समयको निर्णयमा बग्दै गयो यो जीवन !”
उनको यो कथनले नेपाल मुलुकमा नागरिकता किनिन्थ्यो अथवा किन्न पान्थ्यो तर, शरणार्थीजस्तो आर्थिक अभावले ग्रस्त जीवनमा त्यो कुरा सम्भव भएन भन्ने तथ्य त देखाउँछ नै । तर, त्योभन्दा अझ महत्वपूर्ण कुरा आफ्नै पितृहरुको थलो, एकै भाषा-संस्कृति, सभ्यताका आधारभूमिहरु, रगतकै साइँनो लाग्ने मान्छेहरु भएको एउटा देशमा अँटाउन नसकेर केवल विपन्नताको कारण आकाशमार्ग हुँदै, समुद्रहरु नाघ्दै सामाजिक परिपाटी, विश्वासरचना, सभ्यता, संस्कृति र दर्शनचेतना केही पनि नमिल्ने विराना मुलुकहरुमा आइपुगियो ! दमित, पीडित, उच्छेदित निरीहहरुका लागि पूर्वीय सभ्यता भएका देशहरु कुनै काममा नआउँदा रहेछन् भन्ने कुराले चाहिं कृतिकारलाई बढी पिरोलेको छनक दिन्छ र यो कुरा हामी कैयौंको साझा यथार्थ साबित भएकै छ !
आफ्नो कृतिको पूर्वार्द्ध खण्डअन्तर्गत ‘शैशवस्मृतिका पानाहरु’ शीर्षकमा कृतिकारले गोसी जुनियर हाइस्कूलदेखि के.जी. नायरको भूमिकासम्म उल्लेख गरेर त्यस विद्यालयका पूर्वविद्यार्थीहरुलाई आ-आफ्नो अतीततिर फर्काउने काम मात्र गरेका छैनन् तर, भूटानको तत्कालीन शिक्षापद्धति र अनुशासन व्यवस्थाको झल्को पनि दिएका छन् ।
आफ्नो मातृभूमिलाई स्मृतिमा बोकेर कृतिकार भूटानभूमि र भूटानीहरुको संघर्षको कथा खास पीडितहरुबाट लेखिनुपर्नेमा जोड दिन्छन् । भूटानका बारेमा बाह्य लेखकहरुले लेखेका पुस्तकहरु पाइए पनि ती पुस्तकहरुले नेपालीभाषी भूटानीहरुको यथार्थता समेट्न नसकेकामा कृतिकार खिन्नता व्यक्त गर्छन् । उनको कथनमा त्यस्ता बाह्य लेखकहरुलाई भूटानको तत्कालीन सरकारले वस्तुस्थितिको तथ्यबाट छलेर आफ्नै प्रशस्तिका कुरामात्र लेख्न प्रेरित गऱ्यो । अतः फिरंगीहरुले यात्रासंस्मरणका रूपमा लेखेका भूटानका ती एकपाटे कथाहरुलाई कृतिकारले दरबारको प्रशस्तिगान मात्र बुझेका छन् । उनी भन्छन्, “बाहिरबाट एकदुइ दिन घुम्न गएका भरमा उनीहरुलाई समग्र समाजको मर्का, पीडा र वस्तुस्थितिको व्यापक बोध नहुनु स्वाभाविक पनि । अतः हामीले हाम्रा सन्ततिलाई भूटान चिनाउन भूटानी लेखकहरुका लेख र कृतिहरु पढाउन अत्यन्त जरुरी छ !”
भूटानको सामान्य परिचय, भूटानको नामाकरण, आप्रवासीहरुको देश भूटान, भूटानका संस्थापक आदिजस्ता शीर्षकहरु राख्तै लेखकले आफ्नो कृतिलाई यसै पनि ऐतिहासिक दस्तावेजका रूपमा अघि सारेका छन् । भूटान देशको नामाकरण सन्दर्भमा कृतिकारले देशनिर्माता नेपालीभाषीहरुलाई इतिहासमा बेस्सरी अन्याय लादिएको कुरा उठाएका छन् ।
कुनै पनि देशको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक पृष्ठभूमि केलाइएको कृतिलाई ऐतिहासिक दस्तावेज मानिन्छ । तर, त्यसका ठोस तथ्यात्मक गुत्थीहरु कति बलिया छन्, तिनका आधारमा समालोचक, अन्वेषकहरुले सम्बन्धित कृतिको महत्व निर्धारित गरिदिन्छन् । यस कृतिलाई पनि कुनै अन्वेषकहरु, समालोचकहरुले भविष्यमा मूल्यांकन गर्ने नै हुनाले अहिले नै हामी यसलाई कुन मान्यतामा राख्ने भनेर चिन्तित भइरहनु जरुरी छैन ।
यद्यपि, म एउटा टिप्पणीकारको हैसियतमा यस कृतिले हाम्रा समकालीन पुस्ता र भावीसन्ततिलाई के के कुराको जानकारी दिनसक्छ भनेर आँकलन गरिरहेको छु । मेरो नजरमा एउटा इतिहास निर्माणको आधारभूमि खडा गर्न सकिने प्रशस्त आधारहरु यस कृतिमा समेटिएका छन् ।
एउटा देश कसरी स्थापित भयो, त्यसको प्राचीनता, शासनको पूर्वाधार, प्रभारम्भिक प्रशासन, भाषा र संस्कृतिका आधारहरु कसरी सिर्जित भए भन्ने कुराले नै सम्बन्धित देशको इतिहास बनाउने हो । भूगोल अथवा ढुंगा र माटोले मात्रै कुनै देश बन्दैन । देशसँगै समाजको अस्तित्व र गौरवबोधका गाथाहरुले कुनै देश स्थापित गर्ने हो ! अनि त्यही गरिमाभित्र उच्चसम्मानका साथ हरेक नागरिकहरु प्रफुल्ल बनेर बाँच्न पाउने व्यवस्थालाई प्रजातन्त्र भनिन्छ । तर, भूटानका नागरिहरुले कुनै कालखण्डमा पनि अहिलेसम्म त्यस्तो ‘तन्त्र’ अनुभूत गर्न पाएका छैनन् । विशेष प्रमुखताका साथ कृतिकारले तिनै कुराहरुलाई समेटेका छन् ।
अब कुरा आउँछ भूटान देश निर्माणको यात्रामा हाम्रा पूर्वजहरुको भूमिका के रह्यो र त्यसको परिणाममा उनीहरुले के पाए ?
हाम्रा पुर्खाले दक्षिणको औले-वन फाँडेर खेतीयोग्य जमीन बनाउँदै देशभरिका जनतालाई पुग्ने खाद्यान्न उत्पादन गर्नदेखि पशुपालन र अलैंची, सुन्तलाजस्ता नगदेबालीको निर्यात-व्यापारसम्म भ्याएर देशको राजस्वमा ठूलो आर्थिक योगदान गरेका थिए । यसबाहेक सडक, विद्यालय, विद्युतीय ऊर्जाका कारखाना, खाने पानी योजनादेखि ठूल्ठूला सरकारी भवनहरु हाम्रै पुर्खाको खून-पसिना सिंचेर बनेका थिए ।
एउटै देशका नागरिक भए पनि भोटिया मूलका उत्तरीहरुलाई निशूल्क-श्रममा नखटाएर दक्षिणका नेपाली बोल्ने नागरिकहरुलाई मात्र जोतिएको थियो । यसको कारण के थियो भने तुलनात्मक रूपमा त्यो सीप र दक्षता उत्तरमा बस्नेहरुमा विद्यमान थिएन । तर, सबै पूर्वाधारहरु निर्माण गरिसकेपछि एक किसिमको डाह पैदा गरियो र दक्षिणमा बस्ने ‘विदेशी’हरुले देशको स्रोत-साधनमा अधीन जमाए, अब देशको सार्वभौमसत्तामै कब्जा गर्नेछन्-भन्ने हाउगुजी जन्माएर छोडियो । यसरी देशका निर्माताहरुलाई नै वैरीको उपमा भिराएर सिमाना कटाइएपछिको कथा जोडिँदै जोडिँदै वासदेखि पुनर्वाससम्म नामको यो कृति निर्माण भएको छ ।
नेपालीहरुको भूटान प्रवेश, नेपाली भाषा-साहित्यको तत्कालीन स्थिति आदि शीर्षकहरुले यथार्थमा बहुमूल्य ऐतिहासिक तथ्य समेटेका छन् । हुन त माथि नै उल्लेख भइसकेका विभिन्न शीर्षकमा पनि कम मूल्यवान तथ्यहरु छैनन् । यद्यपि, यी पछिल्ला शीर्षकहरुमा अधिकतम् स्रोतहरु उल्लेख गरी कथनलाई पुष्टि गर्ने चेष्टा गरिएको छ; जस्तैः बाडुली, अमर भूटानका प्रसंगहरु ।
पुनर्वासः विगतदेखि वर्तमानसम्म शीर्षकले हामीलाई शरणार्थी जीवनबाट निवृत्त हुने सिलसिलामा देखिएका कमी-कमजोरी, दुरुह चेतनाका परिणतिहरु झल्काएको छ ! दुइदशकसम्म शरणार्थी जस्तो बन्देजपूर्ण, कष्टकर जीवन भोगेर पनि हामी (हाम्रा अग्रजहरु) ले आफ्नो कर्तव्यपथको औचित्य साधन गर्नेतर्फ एकताबद्ध पहल गर्न सकेनौं । त्यो असफलताका कारणमा भिन्ना भिन्नै व्यक्तिचेतनाका भिन्ना भिन्नै दृष्टिकोणहरु हुनसक्छन् । तर, अब विगतका कमजोरी र असफलता केलाएर एकार्कामा दोष लगाइरहनु भन्दा हातलागेको उपलब्धिमा सन्तुष्ट भएर भविष्य सपार्ने उद्योगतिर लाग्नुपर्छ भन्ने कृतिको मूल सन्देश प्रवाहित छ । पुनर्वासका प्राप्ति र चुनौतीहरु शीर्षकले पनि गुमाइएको वीगतलाई हासिल गरिएको उपलब्धिले छोपछाप पार्दै सभ्य र अनुशासित जीवनशैली अपनाएर सुन्दर भविष्यका लागि नयाँ पौरख गर्न हाम्रा नयाँ पुस्तालाई उत्प्रेरित गर्न खोजिएको छ ।
समष्टिमा यस पुस्तकप्रति के निष्कर्ष दिनसकिन्छ भने लेखकका निजी अनुभव, सामाजिक जीवनका उच्छवास र दुर्दशाहरु प्रायः सबैको जीवनसित तादात्म्य राख्ने खालका साझा हुनाले शुरुमा कृतिलाई सामान्य ठानिन सक्छ । तर, विस्तारै भित्र प्रवेश गरेपछि यसका ऐतिहासिक तथ्यहरुले पाठकलाई तान्ने नै छन् । यसै पनि केही समयपछि यो कृति दर्बिलो ऐतिहासिक दस्तावेज बन्नेछ । आखिर इतिहास भनेको पनि पुराना समयका वस्तुस्थिति र तीप्रति पुराना मान्छेका अनुभूतिहरु, पुराना मान्छेहरुले बनाएका धारणा, अभिव्यक्त गरेका कृतिहरु नै त हुन् । मैले अध्ययनकै क्रममा भूटानबाट निर्वासितहरुको सत्प्रयासमा प्रकाशित केही पुस्तकहरु हेर्न भ्याएको छु ! अन्य इष्टमित्रहरुले हाम्राबारेमा लेखेका थुप्रै पुस्तकहरु पनि हेरेको छु । तीमध्ये अधिकांश अंग्रेजीमा छन् । मेरो नजरमा भूटानबाट आएका लगभग सबै साक्षरले बुझ्ने गरी शुद्ध र सरल नेपाली भाषा-शैलीमा लेखिएको अनि यथेष्ट ऐतिहासिक तथ्यहरु समेटिएको यो नै पहिलो कृति हो । म सबैका सामु हात उठाएर यति कुरा भन्न सक्छु ।