ऐनामा देश
सिएम निरौला, न्यू ह्याम्पशायर
आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने सोचेर हिँडी पनि हालें । निकैबेर आनन्द लिएँ | पौडी खेलें अब चैं घर जान्छु भन्ने लाग्यो र पुलबाट बाहिर निस्कें । छेउमै राखेको ताउलीले आंग पुछें | लुगा फेरेर भुइँमा भएको आफ्नो चिसो लुगा टपक्क टिपेर उठ्दा….. झसंग भएँ; एक्कासी मेरो नजिकै एक व्यक्तिलाई सुइमिङ पुलको भित्तामा देखें । आफ्नै आँखाले धोका दिएको भ्रान्ती भयो | अघि पौडी खेल्दा लगाएको चस्माको कारण होला भनी सोचेर मज्जाले आखा मिचें, अहँ होइन,मनमा कस्तो कस्तो भयो । मनमा के के सोचें सोचें…।
उनको अनुहारतिर पुलुक्क हेरें,
कताकता डराएको, त्रसित मुद्रा थियो उनको ।
कालो बादलमा चादनीको धेरा भनेझैं कता कता उनको आँखामा पनि मैले सोचेका कुरा देखिन्थे ।
अनि म अझ झसंग भएँ । जिउ नै सिरिङ्ग भो । अलिक सानो हुँदो हुँ त मैले अघि नै पौडी खेली सकेर फेरेको कपडा नै बिताई सक्थें, पुरै डुंगडुंगती गनाउने चालले । आफ्नै गाला छामें, चिमटी हेरें । म सायद हरियो, नीलो, रातो-पिरो भएथें । कान पुरै तातेर आयो, डल्ले खुर्सानी खाँदा जस्तै गरेर ।
“म तलाई नै खोज्दै आएको थिएँ ।”
“ए सुन् त, म त साँची भूटान पुगेर पो आएँ त केटा ।”
उनी एकोहोरो वरबराउन थाले,
“तिमेरको घर अगाडिको गारो अझै लडेको रहेनछ । २५ वर्षमा, कतै कतै भत्किएको पछाडीको भाग चर्केको, भत्किन पनि के भत्क्योस तेरा बाउले उबेला दर्सिन ढुंगाले बनाको । परालको सुली लगाउने ठाउँमा ठूलो सालको रूख रहेछ । म त्यही रुखको फेदमा निकैबेर थकाइ मारेर बसें । नागेश्वरी खोलो सुकेछ । पानी पिउन पनि सुकुन खोलै पुग्नुपर्दो र’छ”, २५ वर्षपछि पनि त्यहाँको पानीको स्वाद जस्ताको त्यस्तै ।
उनले मुस्कुराउँदै भने, “त्यो तिमेरको परालको सुली भए ठाउँ पुग्दा निः मेरो दिमागमा धेरै पुराना कुरा खेले । त्यो परालको सुलीको एउटा बेग्लै कथा छ । जब १९९० मा जुलूस उठ्यो । त्यहीबेला देशमा खै के भयो भयो, को मर्ला को बाँच्ला भयो । खमारी टारको राई माइलो, बम्जनडाँडाको घिमिरे काइँलो र केही अरु पनि भागेर स्याङबा आइपुगे । एक रात त्यही परालमा लुकाएर बचाएँ ती मोराहरुलाई ।” तकलाइको स्याङबा गाउँलाई सिरानघरे निरौलाहरूले पुरेतको नामले मज्जाले चिनाएका मोरातर, तिमेरले केही गर्न सकेनौ है, केटा ! कति सुन्दर थियो त्यो हाम्रो गाउँ”, उनी भन्दै गए।
“अनि फटाहा धपाउन मकैको ढोड र आछामेको सिक्रा लिएर ग’का थियौं हौ, उबेला म पनि कस्तो पो थिएँ त लहै लहैमा लागेर ।”
उनले त्यसो भनिरहँदा बाबाले अरूसँग गफ गर्दा सानामा सुनेको कुरा सम्झें, उसबेला म सात कक्षमा पड्थें ।
“लडाइँको कुरा गर्छस् होला, लडाइँ त के गर्नु हामी त अधिकारी माइलाको तुलफूल चोरी खान गइहाल्यौं, खै क-कस्ले चैं खमारी टारका निरौला माइलाको गहुँबारी माडेर भूरकुट पारेछन्; सानो रिसाका हैनन् ती ।” हामी पनि मकैको ढोड बोकेर बन्दुक बोक्नेहरूसँग लड्न ग’का । ओए आन्दोलनको बेला आर्मीले पक्डन्छ भनेर घरपारीको डाँडामा लुक्दा भूत आउँछ भनेर हेर्न बसेका ठूला घरे साइँलो र म ! फटाहा लोकेहरूले लुकेर तर्साको चैं कहिल्ले बिर्सन्न म ।”
मज्जाले एक्लै हासे ।
“तर सबै चैं त्यस्ता थिएनन् है, मलाई गेलेफूमा एक जना डासुले त देश नछाड्न भनेको थियो तर, सबै हिँडेपछि हिड्नै पऱ्यो ।”
उनले डासो भन्दा याद आयो उनीप्रमुख जिल्ला अधिकारी भन्दा माथिको अफिसरको कुरा गर्दैछन् ।
“फेरि सिरानघरेहरू पनि हिँडेपछि त पुरेत नै नहुने हिँड्नै पऱ्यो ।” उनी फत्फताई रहेका थिए । म के गरौं कसो गरौंमा थिएँ ।
“मलाई बेलाबेला यही कुराले सताइरहन्छ । ‘हिँडे छेउ लाग्छ’ भनेझैं भो, उनको कुरा सुनेर देश नछोडेको भए…”
कतै आक्रोशीत जस्तो देखिँदै थिए । “तल पाठशाला भएको ठाउँमा पुग्दा नरमाइलो लाग्यो । हाम्रो गाउँमा त सबै पूर्वतिरका मान्छेहरूको बस्ती बसेछ, ठूलठूला गुम्बाले भरिएछ । पर काफ्ले दाइको घर भएको ठाउँमा चैं एउटा मन्दिर रहेछ है !” सुबेदी बा’को जमीनमा त गोल खेल्ने ठाउँ बनेछ ।”
त्यही भ’र राजाका मान्छेले नेपाली किताब जलाएको हुँदा आन्दोलनको समयमा लोग्ने मान्छेले लगाउनु पर्ने बख्खु र आइमाईले लगाउने बख्खु जलाए । बुझिस् ? प्रश्न आयो ।
‘गो’ र ‘किरा’को कुरा गर्दैछन् यिनी; पाउनु चैं भने एकपटक लाउन खुबै मन लाग्या छ । तर, खै यो जुनीमा लाइएला जस्तो छैन ? मनमनै सम्झें ।
“त्यो कुरा चैं के हो भने भूटान सरकारले स्कूलमा पढाउँदै आएकोमा १९९०मा मार्चतिर हो जस्तो लाग्छ, पुलिसहरु आएर सबै दक्षिणी जिल्लाका ७६ वटा स्कूलमा एकैचोटि विद्यार्थीहरुबाट खोसेर स्कूलकै अगाडि जलाइएको हो । जनताको तर्फबाट होइन ”, उनले वताए।
फेरी थपे, “नेपाली किताब जति सबै जलाएपछि नेपाली भाषा पढ्न पनि पाइएन, सरकारी लेखनकार्य पनि दक्षिणी छवटा जिल्लाहरुमा बन्द भो र सबैतिर जोङ्खा भाषामा शुरु गरियो । नत्र त्यतिसम्म सबै छवटा जिल्लामा नेपालीमै परमाना आउँथे भाइ । पहिले त मण्डलले घर-घरमा मान्छे पठाएर भए पनि चिट्ठीमा लेखेको कुरा बुझाउँथे, पछी त्यही पनि बन्द भो !”
त्यति सुनेपछि म तिन छक्क परें । केही बोल्न पनि मन लागेन । वातावरण सुनसान थियो ।
“ए साँची तलाई याद छ ? त्यो सोनाम डासुले पाठशालामा आगों लगाको !” उनले सोधे अनि आफैं बोल्न थाले,“मैले त्यो ठाउँबाट एउटा परमान ल्याको छु, देश छोड्न परेको कारण यो पनि हो”,उनले एउटा आधा भन्दा धेर डढेको पुस्तक देखाउँदै आँखाभरि आँसु भराएर भने ।
“मुटु कटक्क खान्छ, मन पानी-पानी हुन्छ । आफ्नी आमाले जन्मेकै दिनदेखि सिकाको नेपाली भाषा बोल्दा जरिमना तिर्नुपर्ने । जरै मास्नलाई र’छ । नेपाली पढे भने नेपलीभाषी (हामी), बाठा हुन्छन् अरे !! कुनै दिन देशका मालिक हुन्छन् अरे । लुकेर पढ्छन् भनेर बुद्धि सकिएकाले नेपाली किताब जलाई दियो । त्यति मात्र हो र, सालेहरूले हाम्रा सबै कुरा जलाइदिए”, उनी भन्दै गए । म नतमस्तक भएँ ।
“यो आधा डढेको पुस्तक पनि मैले पाउनु रहेछ त्यो भएर कसो हावाले उडाएर त्यो पाठशालाको भित्तो लडेको ठाउँमा ढुंडगाले किचेको र’छ । तँ भूटानमा हुँदा कति वर्षको थिइस् हँ ?”
म बोल्न नपाउँदै उनले थपे, “त्यस्तै ५-६ वर्षको थयो होला, विचरो देउतालाई के थाहा होस त ! सुस्केरा हाल्दै उनले फेरि भने, “यहाँ सुन्, यो तैंले राख; कुनै दिन काम दिन्छ, त्यो दिन मलाई सम्झनु, ला डाका”, रिसाउँदै दिए !
फरर पाना पल्टाएँ, एउटा जलेको पेपर भेटें; लेखिएको थियो “देश छाड्नु” अरू बुझिनँ । उनको बोली रोक्किने छाँट छैन । “ल सुन् केटा, भूटानको दक्षिण भू-भागमा बस्थ्यौं हामी नेपालीभाषी भूटानी, पढेर बाठा हुन्छन्, मन्त्री हुन्छन् भनेर हाम्रा नानी पढ्ने स्कूलमा नेपालीभाषा बन्द गऱ्यो, भूटान सरकारले हाम्रो भाषाको जोहो गर्न खोज्दा शासकले हाम्रो भाषामा लेखिएका किताब जलाइदिए । अन्याय भयो भन्दा राजाले आर्मी शासन लाएर ठोक्न थाले ।”
“त्यति मात्र हो र, हाम्रा छोरी चेलीलाई रात बिताउन आर्मी क्याम्प पठाउनुसमेत भन्न भ्याए पापीहरूले”, उनले बेलीविस्तार बताए ।
मनमनै सम्झें, त्यस्तो कहाली लाग्दो समयमा त ती पापीलाई नसुम्पेका छोरीचेली अहिले आएर बाटो बिराउँदा ती बाबा-आमाको मन कस्तो भ’को होला !
“छोरी चेलीले कपाल काट्नु रे, उनीहरूसँग बिहे गर्नु पर्ने रे, हाम्रा नेपाली पोसाक लाउन नपाउने रे, भनेका थिएतर, उनीहरूको इच्छा पुरा गरिदिए हाम्रा सन्तानले”, आँखाभरि आँसु पारेर रोकिए उनी ।
एकैछिनमा आँसु पुछ्दै थपे,“ओए सबै सरकारका मान्छे एकै खालका चैं हुँदा रहेनछन् है !” म बोल्न नपाउँदै उनले भने, “धेरै गुम्बा बनाए पनि पुराना मन्दिर त झकझकी बालेका रहेछन् । पुजारी चैं देख्न पाइनँ । बन्द रहेछन्, बाहिरैबाट दर्शन गरेर आएँ ।”
उहिले गाउँबुडा हुँदा दुई घण्टासम्म अर्कालाई बोल्न नदिई भाषण ठोक्ने मान्छेले मसँग बोल्न के रोकिन्थे, उनी बोल्दै गए ।
“ए साँच्ची सुन न, हामीले पनि उटांगी त गरेकै हो उतिबेला । त्यो मोरो काइँलो बिरामी परेछ, मलेरियाको शंका लाग्यो अनि तेरो बाउलाई खून चेक गर्न पठाइयो नि हौ गेलेफू, दवाई खाँदाको हैरान, गाउँको डाक्टर पनि भइयो त्योबेला, हाहा..! हामीले बेलामा धेरै थोक गर्यौं धेरै ।”
उनले यसरी बोल्दै गर्दा म निकै डराइसकेको थिएँ । भाग्न पनि खोज्दै थिएँ ।
एकाएक खुशी हुँदै उनले भने,
“ए डाका, हाम्रो कान्छाले रक्सी छाडेछ है”, तिग्रामा प्याट्ट हान्दै फेरि उनले भने, “तर, तेरी काकी निः मेरी श्रीमती त मसँग सारै रिसाइछे । बोल्न पनि मान्दिनँ । किन मलाई यस्तो देशमा एक्लै छोडेर तिमी भूटान गयौ भनेर रिसाई । ऊ नबोलेपछि मलाई पनि बोलिरहन जाँगर चलेन; भगवान गुहारें, अहँ भएन, यो निष्ठुरी भगवान पनि कष्ट पर्दा कहाँ आउँछ र, खाली पूराण, पूजा-आजा, भोग र सेवातिर मात्र डुल्छ ।”
उनी कहिले धेरै खुशी त कहिले दुखित हुँदै फेरिँदै थिए ।
भूटानको वर्णनमा लागिहाले, “ए जेठा, गेलेफू बजार त झिलिमिलि पो भएछ, कहाँ १९९० हो र धेरै राम्रो धेरै । माउगाउँ मन्दिरको दर्शन पनि गरें मैले यसपाली । भूटानमा पनि अब त धेरै चर्चहरु बनेछन् । झन् गुम्बाहरु विशाल, सरकारी खर्चमा पो बनाइयो रे हजारौं गुम्बाहरु”, यति भनेर उनी फिस्स हाँसे |
“त्यति मात्र हो र पछी आर्मी आएर सानो दुःख दिएनन्, ती घटनाहरू सम्झेर ल्याउँदा पनि मन रोएर आउँछ । केही बेर भकानिन्छु, फेरि समाल्छु, तिमीहरू पो सानै थियौ, दन्ते कथा जस्तो हुन्छ तर, हामीलाई त जहाँसम्म छ । आर्मीले छँदाखाँदाको घर जलाएको, कतिलाई कुटपीट गरेको, अझ महाशुर क्षत्रीलाई त जिउँदै बोरामा हालेर सुन्कोसमा बगाएको । आर्मी त निः देख्दा पनि… तर, जे होस यहाँका त्यस्ता छैनन् है । सारै सहयोगी मलाई यहाँका चैं मनपर्छ”, यस्तै के के भनिरहेका थिए उनी ।
मलाई कहिले उनको गफ सिद्धिएला र उम्कन पाइएला भनेर प्रतिक्षामा मिनटहरु साता-महिना र घण्ट पनि वर्षझैं लागिरहेको थियो । तर, उनलाई भने केटाकेटीलाई दशैं आएझैं व्यवहार गर्दै थिए ।
उनले खुशी व्यक्त गर्दै फेरि भने,“म धेरै खुशी छु । डाँडाघरे पनि गुरुजीले मेरो काम मज्जाले सकिदिनु भएछ ।”
आँखाभरि आँसु पार्दै उनले भने, “नानी यो दुनियाँ त्यो दुनियाँभन्दा धेरै फरक छ । यहाँ न इष्ट-मित्र, न आफन्त, न चाड-पर्व र रमाइलो । जति दुःख पाए पनि त्यो संसार नै स्वर्ग रहेछ । मै उस्तो, जाबो छोटो बुद्धि भएको । हेर त्यो संसार कति रमाइलो छ ।”
यसपछि पनि उनी केके बर्बराइरहे, मैले कति बुझें कति बुझिनँ ।
“सबै इष्टमित्र, आफन्त, जे गरे नि हुने, जता गए नि हुने, मलाई बँचा न भतिज ठुले, म फेरि त्यही दुनियाँमा रमाउन चाहन्छु । मलाई जीवन फर्काइदे न । तँ त बाठो छस्, मान्छे चिन्छस्, जान्या छस्, कहाँ गएर के भनेर हुन्छ, एकपटक मेरो लागि कृपा गर न । सबै मिलेर मलाई फेरि मेरो जीवन दान देऊ न ठूले । मेरो विन्ति हैन यो माग हो । सुन्नुपर्छ तिमीहरुले मेरो कुरा । मलाई अहिले जीवनको साह्रै लोभ लागेको छ ।”
यस्तै यस्तै केही कुरा बुझें मैले । म उनकै अगाडि नतमस्तक थिएँ आवाजविहीन उभिएको । उनका रोदनभरि आग्रह-अनुग्रहबाट मैले बल्ल पाएको अमूल्य मानव जीवन बर्बाद पार्नु हुँदैन, यसको माया गर्नुपर्छ भन्ने बुझें ।
“हामीलाई भूटानबाट नांगै बनाएर लखेटेको बेला त मन थामेर बाँचियो, अहिले त हामीलाई मार्न हैन बँचाउन चाहनेहरु धेरै रहेछन्, मैले बाटो बिराएँ, तर अरुहरुलाई चेतना बाँड्नुपर्छ । म संसारमै रमाउन चाहन्छु, मलाई फिर्ता आउन सहयोग गर…”
उनी यसरी नै कराउँदै मेरो अघिबाट हराए ।
निकैबेरको छट्पटिपछि शरीरभरि पसिना आएछ । खै के भएर हो मेरो मोबाइलको घन्टी बज्ने बनाएको रहेछ, नानीले खेलाउँदा के गऱ्याथ्यो रातको तीन बजे नै कराउने बनाइदिएछ । घन्टी बज्यो, कहाँ हो कहाँ के कराएर जस्तो भयो । पछि निकैबेरमा मोबाइल रहेछ भन्ने थाहा भयो । झसंग्ग बिउँझें ।
मनमा कुरा खेल्नथाले । डर पनि लाग्यो । झ्यालका पर्दाहरू हावाले फट्फटाइरहेका थिए । झ्यालबाट बाहिर चिहाएर हेर्दा पानी परिरहेको थियो, सुकेका पातहरूमा पानीका छिट्टाहरू बजारिँदै धर्तीमा बगिरहेको प्रष्ट सुनिन्थ्यो । उता आकाशमा बादल मडारीई रहेको । पर कतै क्षितीजमा कुकुर भूकेको आवाज सुनिँदै थियो तिर्खा लागेझैं भयो,जुरूक्क उठे र बोतलको पानी कलकल पिएँ । आजै चैं यो बोतल पनि कति सानो भएको- प्यास मेटिएन, धाराको तीन ग्लास पानी पिएर कोठैमा फर्कें । त्यत्रा धेरै आफन्तले छोडेर जाँदा पनि नदेखेको सपना आजै चैं देख्नु पर्ने, हजुर बाले त झन एकै छिन छाड्नु हुन्नथ्यो रे, सधैं अँगालोमै राख्नु हुन्थ्यो रे- तै पनि कहिल्यै सपनामा नदेखेको । सपनामै भए पनि इतिहासै पढाएर गए । हामी ससाना उमेरमा देशबाट खेदिएकाहरुलाई ऐनामा देश देखाएझैं गरेर गए झटारे काका । आ… सपना न हो भनेर दोस्रो चरण निदाउन खोजें तर, सकिनँ ।