कण्डमनगर
सत्यवीर
बेलडाँगी, नेपाल
सर्वप्रथम
तपाईँलाई यो बताऊँ कि
यो जो कुनै बहादुर सैनिकको छातीमा वीर-पदक जस्तो गरी
झुण्ड्याइएको छ प्रवेशद्वारको छातीमा कण्डमको बाकस
मात्र यो सङ्केत दिन कि
यहाँ मान्छेको होइन कण्डमको राज चल्छ ।
त्यस्तो पनि होइन कि
जुका झैँ जीवनभर
मैथुनिक क्रिडामा लिन हुन्छन् यहाँका मानिसहरू
तर, यो भ्रम पर्न सक्छ कसैलाई पनि
चोकदेखि चोकसम्म
चौतारादेखि चौतारासम्म
स्कुल, अस्पताल, कार्यालय आदि जहाँसुकै
जब पच्छ्याइरहेको हुन्छ यहाँ
कण्डमका बाकसहरूले ।
भोको पेटलाई नुन चाहिन्छ कि कण्डम ?
तर, बुझ्नेले यहाँको मुटु कुरा बुझ्दैन
देख्नेले यहाँको मुटु कुरा देख्दैन ।
भान्सामा खानलाई नुन समेत हुँदैन
नजिकै कुनै रुख वा छिमेकी छाप्रोको भित्तामा हाँसिरहेको हुन्छ कण्डमको बाकसहरू ।
मुफ्तमा झिक्न मिल्ने ती कण्डमहरुले
अललिरहेका छाप्रावासीलाई
अलिनो सेक्सको निम्ति उकासिरहेको देख्दा
लुङ्गी उचालेर देखाइदिन झोक चल्छ तामाङ्नी दिदीलाई ।
बरु
ठाउँठाउँमा झुण्ड्याएको भए यसरी
न्यायको निम्ति लड्न प्रेरित गर्ने सैद्धान्तिक पुस्तकहरू
लेखिएको भए राजनैतिक नाराहरू यहाँ भित्ताहरूमा
छर्नु थियो सङ्घर्षका तात्कालिक योजना भएका पर्चाहरू
भने
आफ्नो बीस वर्षे छोराले
हस्तमैथुन गरेर समय खेर फाल्ने थिएन पक्कै
घले दाजुलाई घरीघरी यस्तो लागिरहन्छ ।
अब त
छाप्रोवासीले ‘भोक लाग्यो’ भन्नुको कुनै अर्थ छैन
देख्नेले पेटको भोक शान्त पार्नुभन्दा
सेक्सको भोक बढाउने मनोवैज्ञानिक युद्ध
ज्यादा जरुरी देखेको छ यहाँ ।
‘कण्डम परिवार नियोजनको अस्थायी साधन हो’
‘कण्डमले यौन रोगको सङ्क्रमण हुनबाट रोक्छ’
कसले भन्यो कण्डमले यस्तै मात्र काम गर्छ भनेर ?
यही नगरबासी गुरुङ काकाको बुझाई छ-
यो त एक्काइसौँ शताब्दीको अचुक हतियार हो
यसले त जोगाउँछ
मान्छेलाई नयाँ विचार सङ्क्रमण हुनबाट पनि ।
काकाको प्रश्न छ-
नत्र कसरी बाँचिरहेछन् चिन्तनशील मानिसहरू
यतिका वर्षसम्म विचारहीन भएर पनि ?
कण्डम
‘यूज एण्ड थ्रो’ हुनुमा गर्व गर्दो हो
यो नगरमा
एक हुल मान्छे सधैँ
कण्डम हुनुमा गर्व गर्छन्,
किन कि
कण्डम प्रतीक हो यहाँ व्याप्त विचारको
कण्डम बिम्ब हो राजनीतिको
मानिसहरूले माने पनि नमाने पनि
बनाउनेले कण्डमलाई आइडल बनाएर
झुण्ड्याइदिएको हो यहाँ वर्षौँ अघि ।