बिरामी छोरो र गिरफ्तारी
प्रकाश धमला
अस्ट्रेलीया
“आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा बिहान- बेलुकी “बाजी- बाजी” गर्न पुजाकोठामा बोलाउनु हुन्थ्यो। मिठाई दिनु हुन्थ्यो, कहिले काहीँ केही खुद्रा पैसा दिनु हुन्थ्यो, तर प्राय आशिष् दिनुहुन्थ्यो; धेरै पढ्ने, ज्ञानी हुने, बाबाआमालाई धेरै माया गर्ने, ठुलो मानिस हुने, सबैलाई आदर गर्ने।
आमाले भन्नु भयो “नानी बाबालाई आर्मीले पक्रेर लग्यो, बाबालाई केही पनि नहोस् भनेर भगवानसंग प्रार्थना गरेको।” भित्तामा बाबाले बोलबोम जाँदा किनेर ल्याएको एउटा गणेशको मूर्तिलाई आमाले अगरबत्ती घुमाई घुमाई “रक्षा गर हे प्रभु! रक्षा गर” भनिरहनु भएको थियो। आमाको स्वर मधुर थियो। मलिन थियो अनुहार। बेला- बेला घिक-घिक्क आवाज आउँथियो।आँखामा आँसु छचल्किएको थियो।त्यही बेला भाइ विकाशले मेरो टाउकोमा चिसो रुमाल राखेर “दादा अलि जाती भयो?” भनेर सोध्यो। म चुपचाप मात्र रहेँ। अलि अलि टाउको हल्लाएँ क्यार, त्यति हो। आगोले जलेको शरीर कस्तो हुन्थ्यो मैले अनुभव गरेको थिएन तर आगोको रापले नजिक बस्दा कस्तो महसुस हुन्छ मैले त्यही बेला अनुभूति गरेको थिएँ।
आमाले फेरी भन्नु भयो “विकाश बाहिर राखेको त्यो सेतो गिलासको पानी लिएर आऊ, दादालाई देऊ, दादालाई आइया भएको छ”। भाइले “हुन्छ” भन्दै मलाई नाघेर बाहिर निस्कियो। दुई तले घर, भाँडा घर, भुईँ तलमा दोकान थियो हाम्रो। हाम्रो दोकानमा सलामी, चिरांग डाँडा, गोपिनी, बुढीछु, पताले गाउँका मानिसहरू सुन्तला, अलैँची, धान, बेच्न आउँ थिए। खाद्यान्न सामग्रीको एउटा सानो स्टोर नै थियो; हाम्रो भुईँ तला। माथिल्लो तलामा हामी सुत्थ्यौँ। म नेपाली क ख ग अ आ एक दुई सिक थिएँ। एउटा सानो टेबुल र चार ओटा कुर्सी थिए। टाढा बाटो भएर आएका गाउँले मानिसहरूले यही टेबल कुर्सीमा बसेर चिया पिउँथिए। यी टेबल कुर्सीसँग गाउँको सम्बन्ध थियो, हार्दिकता थियो, गाउँले मानिसहरूको ममता थियो। टेबल कहिले एक्लो रहेको थिएन, कुर्सी कहिले खाली रहेको थिएन। हामीलाई कहिले काठको निर्जीव बस्तु जस्तो लागेन बार्दलीका ती टेबल कुर्सी।
भाइ उही टेबलमा पिउने पानी लिन गयो। एकैछिन पछि भाइले एउटा बटुकोमा अलिकति पानी र अर्को सानो बटुकोमा सेतो लतपतिएको पिठो लिएर आयो। मलाई पानी दियो, त्यो सेतो पिठो पनि दियो। मैले “यो सेतो त खन्न भनेँ।” आमाले बिस्तारै मेरो छेउमा आएर भन्नुभयो “कस्ता निस्ठुरी रहेछन्, बिरामी छोरालाई औषधी सम्म खुवाउन दिएन रहेछन्। बाबाले तिमीलाई औषधी खवाउँदै हुनुहुन्थ्यो, ती पापीले औषधी पनि खुवाउन दिएन रहेछन्। तिनीहरूको कल्याण कहिले पनि नहोस्।” भाइले भन्यो “आमा, बाबा कहिले आउनु हुन्छ?” ठिक यही समय पल्लो कोठामा सुतिरहेकी बहिनीको च्यार्र च्यार्र आवाज आयो। बहिनी बिउँझिइछिन। “खोइ बाबु” भन्दै आमा बहिनीलाई बोक्न कोठातिर जानु भयो। बहिनी जोडले रोइ, आमाले कुर्सीमा बसेर बहिनीलाई दूध दुधानी बाट पिलाउन थाल्नु भयो। यता भाइले मलाई औषधी खुवाउन थाल्यो।
दिनको ठिक ३ बजेको थियो। दोकान बन्द थियो। मानिसहरू हाम्रो घरमा आउने जाने क्रम जारी थियो। सन्जेल काका, दयाराम मामा, रुबी दिदी, खड्का बडी सबै आएर आमासँग गफ गर्न थाले। कोहीले “डम्फुबाट भोलि सम्ममा छोड्छ होला” भने, कोहीले “सोधपुछ गर्न लागेको होला” भने। आमाले आँखा भरि आँशु पारेर भन्नु भयो “ अस्ति पनि अमरे आएर बुढिछु लिएर गएको थियो, त्यहाँबाट अभिमानले चिरांग मण्डल कहाँ लिएर गयो रे, सुनकोश दोभान हुँदै डम्फु जेलमा पुर्यायो रे। बिचरा! एक हप्ता पछि घर आउँदा कस्तो बिरामी हुनुभएको थियो, कुटेर जिउ भरि नीलडाम थियो, कति दिन सम्म ओछ्यानबाट उठ्न सक्नुभएन। कस्तो दशा लागेको हामीलाई? अब म कहाँ जानु, यो दोकान, यो हरहिसाब कसरी समाल्नु।” आमाका परेलीका बाँध भत्किए बर्बर आँशुको राते खोला बनेर।
साँझ झमक्क पर्यो। देबीथानको ठुलो वरपीपल मातिबाट घाम डुब्यो। पर पर डाँगी पहिरोको टुप्पामा ताराहरू देखिन थाले। भाइले सम्झन थाल्यो कान्छा काका र ठुल्दाजुलाई। आमाले सम्झन थाल्नु भयो बाबालाई। मैले एकोहोरो हेरिरहेँ आमा, भाइ र बहिनीलाई। आमा खाना पकाउन किचेन तिर जानु भयो। म र भाइ बहिनीलाई हेर्न टेबल वरिपरि बस्यौँ।
ढोकामा कसैले ढकढक पारेको आवाज आयो। हामीलाई अलि अलि डर लाग्यो। आवाजसंगै “ढोका खोल्न साइली म डम्बरीकी आमा” कोही बोलेको सुनियो। डम्बरीकी आमा भन्ने सुन्ने बित्तिकै मैले ढोकामा लगाएको चुकुल खोलेँ। डम्बरिकी आमा, ढोका मै एउटा सानो प्लास्टिकको झोला बोकेर उभिनु भएको रहेछ। मैले “भित्र आउनु नि” भनेँ। घर भित्र पस्नु भो। भाइले अलि ठुलो आवाजमा “आमा डम्बेरिकी आमा आउनु भएको छ” भन्यो। किचेनबाट आमाले “एकै छिन् बस है दिदी” भन्नु भो। म हतार हतार झोला हेर्न ताम्सें, झोलामा केही मेल र लब्सी रहेछन्। म र भाइ हेरिरह्याैँ तिनै मेल र लब्सीका दानाहरूलाई मुख मिठ्याउँदै।
आमा खाना लिएर आउनु भयो। एउटा गिलासमा तताएको दूध र अर्को बटुकोमा खोले खाना। मलाई केही पनि खाना मन थिएन। आँखा भरि मेल र लब्सीका दानाहरू लुकामारी गरिरहे। “दिदी के ल्याऊँ?” आमाले सोध्नु भयो। “अहिले केही पनि पर्दैन एकछिनमा चिया पिउँला न” डम्बरिकी आमाको उत्तर। “खोइ साइला दाजु?, आज त छिट्टै दोकान बन्द गरेछौ त, हुन त बि,,,,बिजिनेस गर्ने मान्छे कहिले कहाँ कुद्नु पर्ने केही ठेगान नहुने है” डम्बरिकी आमाले थप्नु भयो। आमा के भन्नु के भन्नु हुनु भयो, चुपचाप रहनु भयो। म र भाइले एक साथ भनियौँ “ बाबालाई आर्मीले पक्रेर लग्यो” यत्ति नै बेला फेरी सानी बहिनी चिच्याएर रोई। डम्बरीकी आमाले टाउकोमा दाहिने हात राखेर सिलिङ तिर एकोहोरो हेर्दै भन्नु भयो “ हे प्रभु! छिट्टै छुट्टी होस्” हामीलाई हेर्दै “यी नानीहरू साना छन्, यसरी रोजीरोटी गर्ने घरमुलीलाई यातना नदिलाऊ।” विकास भाइले भित्तामा सजाएर राखेको राजा जिग्मेको तस्बिर देखाउँदै भन्यो “आमा प्रभु भनेको यो फोटोको मान्छेको हो?” डम्बरीकी आमाले भन्नु भयो “राजा भगवान् जस्तै हुन् नानी सबै ठिक हुन्छ।” एकछिनको सुनसान पछि “नानी हरूलाई लाव्सी र मेल साह्रै मन पर्छ, यसो केटाकेटी सम्झेर लिई आएको नि, नानीलाई ज्वरो आएको रहेछ, ज्वरो आएको बेला अमिलो चिज खानु हुन्न झनै बिराम परिन्छ, साह्रो पर्छ” मलाई हेर्दै डम्बरीको आमाले भन्नु भयो। मैले “आमा अचार हाल्नु नि, बाबा आउनुभए पछि खाउँला नि” भने। आमा भान्सा कोठामा जानु भयो र एकैछिनमा हातमा एउटा स्टिलको बौलमा केही खोर्सानी, नुन, रिफाइन तेलको सानो बोतल, रातो प्लास्टिकको बोयाम, र सानो कटेरी बोकेर मेरो छेउमा आएर बस्नु भयो। डम्बरीकी आमा र आमा भएर लब्सीको अचार लगाउनु भयो र कोठाको एउटा कुनामा राख्नु भयो। बाबा आउने प्रतीक्षामा आचारको बोयाम मुख बन्द गरेर बसिरहेको थियो एउटा सानो कोठामा डम्बरीकी आमा हामीसँग बिदा मागेर हिँडेको बेला।