कथाभित्रको कथा- एक चर्चा
जे एन दाहाल
पेन्सिल्भिन्या, अमेरिका
“एउटा मान्छे बेलडाँगी झापाबाट आकाशको यात्रा गर्दै न्यूजिल्याण्डसम्म पुग्छ । उसलाई जहाजको झ्यालबाट बाहिर हेरी अनजान ठाउँकाबारे जान्ने प्रबल उत्सुकता हुन्छ। उज्यालो धर्ती, सडकमा दौडी रहेका गाडी र विभिन्न भवनहरू देखी मनभरि खुसीयाली छाउँछ।”
प्रस्तुत मान्छे (ऊ) पात्र लेखक हुन्। माथि उद्धृत गरिएका पङ्ति ‘कथा भित्रका कथा’ का लेखक गोपाल पौडेलका हुन्। प्रस्तुत घटना उनको संस्मरणको पहिलो पानामा पढ्न पाइन्छ। यसमा शीर्षक राखिएको छैन।
लेखक गोपालले न्यूजिल्याण्ड अवतरणपछि म्याङग्री क्याम्पका विभिन्न तालिम लिई त्यो देशको परिवेश बुझ्दै जान्छन्। उनलाई (उनको परिवारलाई) त्यहाँका फलफूल र चराहरू देख्दा आँखामा भूटानको झल्को आउँछ।
म्याङग्री क्याम्पमा तालिमकै क्रममा पौडेलले बर्मा, अफगानिस्तान, पाकिस्तान र सिरिया देशका शरणार्थीहरुसँगको साक्षात्कार गर्ने अवसर पाउँछन्। पौडेलले तालिमका सुरुवाती दिन सम्झँदै लेख्छन्, “ती देशका शरणार्थीसँग भाषा नबुझेका कारण कहिले कहिले झगडा भए पनि एउटै पीडाबाट गुज्रिएर आएका मान्छेको मन मिल्दो रहेछ।”
म्याङग्रीबाट बसको यात्रामा पामस्टोन नर्थ (दोस्रो सहर) हिँड्दा लेखक गोपाल झ्यालबाट बाहिर हेर्दै डाँडा र स-साना पहाडका थुम्का थुम्की हेरी भूटानका कुलागांग्री र जुमोलह्री सम्झन्छन्। र नेपालका कन्जनगंघा र धौलागीरी सम्झन पुग्छन्।
यसरी एक लेखकले जन्मभूमि र कर्मस्थल एकसाथ जोड्नाले लेखकमा दुवै देशको भौगोलिक स्थितिको जानकारी छ भन्ने देखाउँछ। यसका साथै ती देश प्रति आज पनि सम्मान र सम्झना छ भन्ने पनि दर्साउँछ। समृत राईले निर्माण गरेको आवरण दृश्यमा भूटान छाड्दै गरेको र शरणार्थी बसाई एकसाथ उतारिएको छ। ती दुई दृश्यले लेखक आफू भूटानमा जन्मिए र नेपालमा शरणार्थी जीवन बिताएका थिए भन्ने प्रस्ट देखाउँछ।
‘सपनाप्रति छोटो सम्झना’ शीर्षकको संस्मरण पढ्दा कतै मन गर्वले फुल्छ, कतै बिचरा भन्ने साहानुभूति हुन्छ। कारण सपना नाम गरेकी ती पन्ध्र वर्षीय बालिका ब्रेन ट्युमरले ग्रसित छिन् र पनि रोग र मृत्युलाई स्वीकार गर्नुपर्छ भनेर उनलाई भेट्न आउने जाने सबैलाई सम्झाउँछिन्, बुझाउँछिन्। बाँचुन्जेल केही गर्नु पर्छ भनी उनी आफैँ सबैलाई बुझाउँछिन् । यी कुरा पढुन्जेल मेरो मन थामिएन। आँखा चिसा भए।
पुस्तक बेलडाँगीबाट, न्यूजिल्याण्डसम्मको यात्रा विवरण हो। लेखक आफूले (आफ्नो परिवारले) भोगेको अनुभूति र विभिन्न स्थानमा पात्रहरुसँगको अन्तरङ्ग कुराकहानी हो। पृष्ठ ६९ ‘न्यूजिल्याण्डमा पारिवारिक अवस्था’ शीर्षकको संस्मरणमा एउटै परिवार भित्रका कोही सदस्य दाल-भात खाने, कोही सदस्य जाम ब्रेड या पिज्जा-बर्गर खाने पनि छन्। यसरी हामी एउटा छुट्टै परिवेशबाट अर्को आधुनिक परिवेशमा रूपान्तरण हुँदैछौं। यो समयको माग र आजको आवश्यकता हो भनी पौडेलले लेखेका छन्।
लेखक घरीघरी नोस्टाल्जिक बन्दै न्यूजिल्याण्डबाट शरणार्थी जीवन, भूटानभित्रको जीवनतिर फर्कन्छन्। उनी आफ्ना सङ्घर्षका दिन पाठक माझ ताजा बनाउन सफल छन्। १०६ पृष्ठको उक्त कृतिमा विषयसूचि राखिएको छैन। शीर्षक दिएर २० वटा संस्मरण राखिएको छ। जसमा कुनै कुनै संस्मरण भित्र उपशीर्षक पनि पढ्न पाइन्छ। यस कृतिको पृथक् पक्ष यहाँ प्रस्तुत सबै संस्मरणहरू प्रथम पुरुष — म, एक बचनमा नभएर बहुवचन ‘हामी’मा छन्। प्रथम पुरुषमा प्रस्तुत संस्मरण पढी रहेका आजका पाठकलाई यो पुस्तकका संस्मरण केही नौलो लाग्न सक्छ।
समग्रमा भूटानमा एउटा परिवेश, शरणार्थी शिविरको अर्को र पुनर्वास भएको देशमा अरू नै परिवेश छ। यसरी उही पात्र समय परिस्थितिले गर्दा फरक कथा जन्माइदियो। यो कृति त्यही भोगाइको एउटा उपज हो भनी लेखकले बताएका छन्। र यो उनको कुरा सहिपनि हो। यस कृतिमा कतै-कतै भाषिक अशुद्धता छ भनेँ, कतै घटना प्रस्तुत गर्ने सिलसिलाको कमी देखिन्छ। यसरी हेर्दा एउटा सम्पादन पक्ष दर्बिलो छैन ।
पौडेलको कथा भित्रको कथा जी बि एल ओ (GBLO) नामक संस्थाले सन २०१९ मा प्रकाशन गरेको हो। पुस्तक अध्ययन गर्ने कुनै पनि भूटानी परिवेशको पाठकले आफ्नै कथा व्यथा अवश्य ठान्छन्। यसरी पाठकलाई आफ्नै घटना ठान्ने बनाउने कला चाहिँ लेखकीय सफल पक्ष हो।
नेपाली भएकै कारण भूटानबाट लखेटिनु र भूटानी भएकै कारण नेपालमा रहुन्जेल पराया व्यवहार सहँदै शरणार्थी जीवन व्यतीत गर्नु कति चुनौतीपूर्ण थियो तर आफू पनि नेपाली भएका कारण तुलनात्मक रूपमा संसारका अरू शरणार्थी भन्दा निक्कै राम्रो शिक्षाको ज्योति पाएकोमा जय नेपाल! जय नेपाली ! भनी (लेखक पौडेलले) जयजयकार पनि गरेका छन्।