कविताइतरको बाटो
सम्पादकीय
भूटानको नेपाली साहित्यमा कविताइतरका विधामा धेरै कम कृतिहरू छापिएका छन् । धेरै लेखिएको र छापिएका सिर्जनामा कविता र गजल पर्दछन् । पछिल्लो केही वर्ष यता त्यसमा केही परिवर्तन आएको छ । यसले आगामी दिनमा भूटानी सर्जकहरूको लेखन दिशा बदलिने सङ्केत गर्दछ ।
हुन त अमर भूटान (सं अधिकारी भूट्नीज, १९७१), ड्रुक लोसेल (सं अधिकारी, १९७९-१९८३) र शेरब्चे कलेज वार्षिकी (सं भट्टराई, १९८३) जस्ता साहित्य प्रधान पत्रिकाहरूमा कविताइतर थुप्रै रचनाहरू प्रकाशित छन् । भूटानी लेखनमा सन् १९९० पूर्व, कविता र काव्यका कृति प्रकाशित भए पनि निबन्ध, कथा र उपन्यासका कृतिहरू निस्किएको पाइएको छैन । सन् १९९० पछिको देश बहिरगमनको एक दशकको लेखन पनि कविता प्रधान नै रह्यो । सन् २००० पछिको दुई दशकले चाहिँ केही कथा, उपन्यास र संस्मरणका कृति जन्माएको छ । अहिलेसम्म उपन्यास भनेर निस्किएकामा इन्द्रखवासको आमाको गुनासो (१९९५), विजय राईको ऐनाभित्र (२००१), गोपाल लेप्चाको जिन्दगी (२००२), मणिराम राईको हराएको कलम (२०१३), रमेश दियालीको छाप्रा नम्बर ५५ (२०१९) छन् भने कथामा मणिराम राईको नफुटेको सत्य कथा (२००४), डिल्लीराम आचार्यको परिवर्तनका मोडहरू (२००३), दिलीप राखालीको अर्किड(२०११), छत्रपति फुएलकाे स्यालकाे रजाईँ (२०११) र बुद्धिकाे खेल (२०१३), डा० गोविन्द रिजालको बेजोड-बन्ध (२०१९) र जे.एन्. दाहालको लेखककी छोरी (२०२०) हुन् । यस सन्दर्भमा नेपाली भाषा परिषद्ले सन् २००३ मा निकालेको भूटानी कोपिलाको कथा अङ्क र साहित्य परिषद्, भूटानेले यतिराज अजनबी र शिवलालको सम्पादनमा निकालेको समकालीन भूटानी नेपाली कथा (२०१८) उल्लेखनीय छन् ।
गैरआख्यानको प्रकाशनको पछिल्लो लहरमा गोपाल पौडेलको संस्मरण कथा भित्रको कथा (२०१९) पछि आइपुगेको छ डा० लक्ष्मीनारायण ढकालको वासदेखि पुनर्वाससम्म (२०२०) । यो कृति कथा वा उपन्यास नभएर आत्मवृत्तान्त हो । यस खालका अन्य कृतिहरूमा शिवलाल दाहालको अलबिदा बेलडाँगी (२०१३) र टेकनाथ रिजालको निर्वासन (२००४) पर्दछन् । यद्यपि यी कृतिहरूमा चित्रण गरिएको विषयवस्तु र स्वरूपमा अनेक भिन्नता छ ।
माथिका कृतिहरूको प्रकाशनलाई हेर्ने हो भने आख्यान र गैरआख्यानको लेखनमा भूटानी सर्जकहरूले अब केही जाँगर र गतिशीलता देखाउन थालेका छन् । त्यसले लेखनको नयाँ दिशावोधतर्फ इगिंत गर्छ र फुटकर लेखन मात्रै पर्याप्त रहेनछ, सिर्जनालाई विस्तार गर्दै वृहत् आकारको लेखनतिर जानुपर्छ भन्ने कुरा बुझाउँछ । जसरी कथा र उपन्यासहरूमा व्यक्तिगत र सामाजिक जीवनका विस्तृत पाटा, घटना र अन्तक्रियाहरुलाई सहजताका साथ चित्रण गर्न सकिन्छ त्यस्तो कवितामा कमै हुन्छ । भूटानी लेखन्तेहरुका कथा र उपन्यासहरू हेर्दा अब हाम्रा सर्जकहरू हाम्रो सामाजिक वस्तुता, यथार्थता र चारित्रिक विशेषतालाई बुझेर लेखनतर्फ अग्रसरित हुँदैछन् । हाम्रा भोगाइ र दुखाइहरू, न्यायिक लडाइ र बलिदानहरू, असफलता र विडम्बनाहरू, विस्थापन र राज्यहीनताका पीडाहरू, निराशा र चिन्ताका धुमिल क्षणहरूसँगै संघर्ष र प्राप्तिहरू कुराहरु लेखनमा आउन थालेका छन् । जसरी विस्थापन, बसाइँ सराइ, जातीय विभेद र सामाजिक परिस्थितिका अनेक गल्पहरु लेखनमा आउन थालेका छन् त्यसले एउटा जीवनन्त समाजको चरित्रलाई प्रतिबिम्बित गर्दछ । यहाँबाट लेखनलाई विस्तार गरेर फराकिलो पार्दै लानुसँगै परिष्कारमा पनि ध्यान दिनसके भविष्यमा हाम्रो साहित्यिक पहिचान दर्बिलो हुनसक्ने सम्भावनाको दृष्टिगोचर गर्न सकिन्छ ।