कवि ‘दीपित’को “मातृवियोग” लोकार्पित

अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ ।

साहित्य परिषद् भूटानका अध्यक्ष श्री गङ्गा लामिटारेको प्रमुख आतिथ्य र डिल्लु चम्लागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’ले खण्डकाव्य ‘मातृवियोग’ जन्मनुको पृष्ठभूमिलाई प्रकाश गर्दै त्यसलाई कृतिका रूपमा पाठकको हातसम्म ल्याइपुर्‍याउन सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई धन्यवाद टक्य्राए भने अवीर र खदा पहिराएर स्रष्टा कवि धिमाललाई अभिनन्दन गरिएको थियो ।

शारदुलबिकृडित छन्दमा रचिएका खण्डकाव्यका केही श्लोकहरूलाई कवि मणिरामले आफ्नै स्वरमा मीठो लय हाली वाचन गरेर उपस्थित सहभागीहरूलाई भावविवहल बनाएका थिए । यसका साथै स्रष्टा पशुपति तिम्सिनाले कवि दीपितको कृतिमा समीक्षा गर्दै युवापुस्ताका साहित्यिकहरुले सकेसम्म समाजको जनजीवन झल्किने गरी लेख्नुपर्ने बताए । सो कार्यक्रममा विभिन्न अमेरिकी सहरलगायत क्यानडाबाट पनि साहित्यिक व्यक्तित्वहरूले उपस्थित थिए ।

कृति लोकार्पणपछि रचनावाचन र मसिना बालबालिकाहरूको प्रस्तुति समेत रहेको थियो । उक्त कार्यक्रम मातृभाषा संरक्षण समूह र परोपकारी संस्था होपको सह-आयोजनामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *