कसले सुन्देला यिनीहरूको पीडा?
दागाने काइँलो
उसै त शरणार्थी, त्यसमाथि पनि विना दर्ता । यो सुन्दा कतै तपाईँ छक्क त पर्नु हुन्न ? भूटानीहरूको नेपाल आगमनसंगै गृह प्रशासन र शरणार्थीकालागि राष्ट्रसंघीय उच्चायुक्तले शरणार्थीको दर्ता प्रकृया शुरू गरेको थियो । भूटानबाट रातारात नेपाल छिरेका सबै शरणार्थीको त्यस बखत दर्ता गरिएन । कति शरणार्थीलाई धेरै समयपछि मात्र दर्ता गरिनु पर्ने आवश्यकताको महशूश भएको थियो भने रातको समयमा नेपाल–भारत सिमाना काकडभिट्टा आइपुगेका शरणार्थीहरूले चहाएर पनि दर्ता गर्ने मौकाबाट चुके ।
सबै कुरालाई चटक्क बिर्सेर जीउ–ज्यान जोगाउन नेपाल छिरेका शरणार्थीलाई दर्ता गर्ने क्रममा नानाथरी प्रश्न सोधिएको थियो । दर्ता प्रक्रियामा छुटेका वा असफल घोषित धेरै शरणार्थीले आज शिविरभित्रै मागेर खान बाध्य भएका छन् । केही मात्राका शरणार्थीहरूले शिविरभित्र नबसी शिविर आसपासका बस्तीहरूमा बनिबुतो गरेर बाँचेका छन् ।
यी शरणार्थीहरूमाथि आज अरू कुराले भन्दा पनि शरणार्थीको दर्जा नपाएकोमा मगन्तेको जीवन बिताउन बाध्य छन् । भूटानमा छँदा आफूसंगै एउटै गाउँमा बसोबास गरेका शरणार्थी साथीहरूले विभिन्न प्रकारका सहुलियत र सुविधाहरू पाएको बेला उनीहरू भने आँखाभरी आँसु बोकेर भौँतारिइरहेका छन् । शरणार्थीहरू आफैँ जोगी छन्; त्यसमा पनि शरणार्थीभित्रका मगन्ते शरणार्थी । यी पीडित शरणार्थीले सहुलियत नभएको, ओतलाग्ने छाप्रो नभएको आदि भन्दै नेपाल सरकार र यूएनएचसिआरलाई हजारौँ पटक विन्ति बिसाएका छन् । तर उनीहरूको पीडामाथि मलम लगाउने प्रयास कहिल्यै गरिएन ।
सन् २००७ मा शुरू भएको शरणार्थीहरूको पुनर्वास प्रक्रियाले उनीहरूमा बढि पीडा थपेको छ । भूटानमा छँदाका आफ्ना साथीभाइहरू पराइका मुलुकतिर हिँडिरहेका बेला उनीहरूको शिविरभित्रै बस्ने पनि कुनै ठाँउ छैन । उनीहरूको दर्ताको प्रक्रिया कहिले हुने हो र पुनर्वासका लागि जान पाउने हुन्, त्यो अनिश्चित् बनेको छ ।
पुनर्वासको विकल्पमा यी शरणार्थीहरूको अवसर एकदमै थोरै देखिन्छ भने भावी दिनमा घरफिर्तिको अवसर सृजना भयो भने त्यस मौकादेखि पनि चुक्ने निश्चितप्राय देखिन्छ । देशबाट जबरजस्ती लखेटिएर हिँडेका यी शरणार्थीले नेपालमा भनेजस्तो शरणासम्म नपाएको अवस्था छ भने शरणार्थीकालागि भनेर खोलिएका संघसस्थाले पनि कुनै चासो देखाएका छैनन् । केही वर्ष यतादेखि १८ वर्षमुनिका बालबालिकालाई रासनको व्यवस्था गरिएको छ भने उनीहरू अन्य सुविधाबाट वन्चित छन् ।
यसरी शरणार्थीको दर्जा पाउनबाट चुकेका भूटानीको संख्या भारतमा पनि धेरै छ । करिव २० हजार भूटानी नागरिकहरू भारतमा बेबारिसे जीवन जिउन बाध्य भएको कुरा यथार्थ हो । भारतमा रहेका भूटानीहरूलाई नेपालमा झैँ कुनै पनि संसस्थाले सहयोग गरेको छैन । पुनर्वास सुरु भए पछि कतिले त नेपालमा आएर दर्ताको प्रयत्न गरेका थिए तर आखिरमा त्यो हुन सकेन । जे जस्तो अवस्थामा बसेका भए पनि भूटानीले भूटानीको दर्जा पाउनका लागि भूटानी शरणार्थीको रुपमा यी पीडित नागरिकले मान्यता पाउन आवश्यक देखिन्छ ।
is this a literature?U sud publish only literature not news coz this site is best for literature…i like this site much but these days this site is copy and pasting news from tpmishra.com and that is bad i ever like to seee…