कार्यपत्रः प्रस्तावनाः देश सम्झने साझा दिन

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे

{जो जुन भुगोलबाट आए पनि हामी सबै बराबर छौं । तर, वर्तमान विश्वपरिवेशले के देखाएको छ भने इतिहास मासिएका मानिसहरु धागो चुँडिएको गुड्डीजस्तै हुन्छन् । त्यसर्थ इतिहासलाई जतनले सुरक्षा गर्नुपर्छ । भूटानी वा नेपाली, सबैका लागि संस्कृति र पुर्ख्यौली विरासत जोडेर आफ्नो न्यायिक पहिचानको ऐतिहासिक पृष्ठभूमि पनि सजीव राख्नु पहिलेभन्दा झन् झन् जरूरी भएको छ । इतिहास हराएका मानिसहरु जरा काटिएको बिरुवाजस्तै हुन्छन् । त्यसकारण हाम्रो समुदायले आफ्नो ‘भूटान’ र ‘नेपाल’ सित जोडिने ऐतिहासिक सहायक पहिचानहरुलाई पनि कहिल्यै नछुट्ने गरी जतनले राख्नु अनिवार्य छ ।}  

 

सन् १९५३ को मई महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि न्यूजिल्याण्डका एडमण्ड हिलारीलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान गरियो भने तेञ्जिन नोर्गे शेर्पालाई कुटनीतिक जालसाजीमार्फत भारतले आफ्नो पासपोर्टमा बेलायतको भ्रमण गरायो । सगरमाथा आरोहणलाई ‘प्रकृतिमाथि मानवीय विजय’ को परिभाषा दिँदै बेलायले उच्च राजकीय सम्मान प्रदान गर्न लण्डन बोलाउँदा नेपालको सोलुखुम्बुका नाम्गेल वाङ्दी शेर्पा भारतीय नागरिक तेञ्जिन नोर्गे बनेर बेलायत पुगेका थिए । भारतका लागि तत्कालीन राजदूत विजय शमशेर राणाले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई सो विषयमा लेखेको पत्रमा यसबारे सम्पूर्ण विवरण समेटिएको छ ।

कुरो जे होस्, यहाँनेर भूटानबाट निर्वासित समुदायको बारेमा चर्चा उठाउन लागिएको हो । थाहा छैन, भूटानीहरुले कुन ‘सगरमाथा’ चढे; सन् २००८ मा शुरु भएको पुनर्वाश कार्यक्रम सम्पन्न भएपछि उनीहरुलाई जोकसैले ‘नजिकका आफन्त’ बनाउन बल गरिरहेका छन् ।

ती धेरैमध्ये केही नेपाली इष्ट-मित्रहरु यस दिशामा अलि बढी सक्रिय छन् । यो काम गर्न नेपालीहरु नै किन अघि सरे भनेर अचम्म मान्नुपर्दैन । किनकि भूटानीहरुका लागि यस ब्रह्माण्डमा उनीहरुजति निकट अरु कोही पनि छैन । रगतको साइनो जोडेर नश्लीय राजनीतिबाट अभिप्रेरित दृष्टिकोण संसारभरि व्याप्त भइरहेको वर्तमान समयमा नेपालीहरुलाई प्रयोग गरी भूटानीहरुको इतिहास धमिल्याउन खोज्नु असम्भव कुरो होइन ।

भूटानबाट निर्वासितहरु ९९ प्रतिशत नेपाली मूलका, नेपाली भाषा-साहित्य र संस्कृति मान्ने साधकहरु हुन् । यस अर्थमा उनीहरुलाई ‘नेपाली’ मान्न केही गाह्रो छैन । देशको नाम नेपाल र समुदायको नाम नेपाली अस्तित्वमा रहेसम्म भूटानका नेपालीभाषी पनि नेपाली भाषा-साहित्य र संस्कृतिकै साधना गरिरहने छन् । यद्यपि, हरेक इतिहासका अध्येताहरुले कुनै पनि देशको भूगोल र भाषाको नाम कालान्तरमा फेरिन पनि सक्छ । यस कुरालाई पनि मस्तिष्कको एक कुनामा राखिराख्नु पर्दछ । यो विवादको विषय हुँदै होइन । अहिले भ्रान्तिपूर्ण ढंगमा फिँजिएको कुरोचाहिं, भूटान पृष्ठभूमि लिएर पुनर्वाशपछि विभिन्न देशमा छरिएका उनीहरुको पहिचानको ऐतिहासिक पाटो मासेर ‘पूर्ण नेपाली’ (नेपाली नागरिकसरह) का रूपमा विलय गराउन केही शक्तिहरु लागिपरेका छन् । यो विषयले अहिले धेरैको ध्यान तानिरहेको छ ।

पहिचान, अधिकार वा न्यायका लागि महत्वपूर्ण पक्ष, इतिहासको रक्षा हुनु अनिवार्य छ । सार्वजनिक जीवनमा हामी एउटा रुखजस्तै हौं । देख्नेले जमीनमाथिको भाग हेरेर यो फलानो जातको रूख रहेछ भन्छ । तर, जमीन मुनि गाडिएको जरा कसैले देख्तैन । इतिहास मानवीय अस्तित्वको जरा हो । भूटानमा हुँदा यो समुदायले आफ्नो पुर्ख्यौली इतिहासको लेखाजोखा गर्नसकेन । केवल आदेशको पालना गर्ने बानी परेकाकारण यो समुदायले आफूभन्दा पछि तिब्बतबाट बसाइँ सरेको एउटा शासकीय वंशले ‘तिमी विदेशी हौ’ भन्दा चुपचाप देश छोड्यो । अहिले आएर नेपालबाहिर पूर्वभूटानीहरुलाई सुगाको ‘गोपी कृष्ण कह’ झैं ‘नेपाली’ रटाइँदैछ भने नेपालभित्र एउटा गिरोह नेपालकै नागरिकहरुलाई छद्म भूटानी बनाउन सक्रिय बनेको छ । यसरी नेपालभित्र ‘नागरिक बेचेर’ भूटानी बनाउने अनि नेपाल बाहिर ‘राष्ट्रियता बेचेर’ नेपाली बनाउने चटके खेल निक्कै व्यापक रूपमा चलिरहेको यो सन्दर्भ नेपालको हितचिन्तन गर्ने भित्र वा बाहिर सबैतिरका सचेत मानिसहरुको लागि चिन्ताको विषय हो । यो काण्ड केही व्यक्तिविशेषले गरे भनेर हल्का लिन सकिँदैन, किनकि यसभित्र सर्वोच्च पदका सरकारी कर्मचारी, मन्त्री र नेताहरु सामेल छन् । यसकारण ‘छद्म शरणार्थी काण्ड’लाई नेपालका शासकीय टोलीहरुले हाम्रो विगतको (झापामा रहनेहरुको सवालमा अहिले पनि) राष्ट्रविहीनताको पीडामाथि उपहास गरेको अर्थमा लिइनुपर्दछ ।

यसो भनिरहँदा तात्पर्यमा अमेरिका, केनाडा, अष्ट्रेलिया, यूरोपतिर रहेका पूर्वभूटानीहरुले नेपालमा थातथलो भएका आप्रवासी नेपालीहरुसित एकाकार हुनै हुँदैन भन्ने अर्थ नलगाइयोस् । ‘नेपाली’ शब्द यो विवादको विन्दु किन भइरहेको छ भने जाति, राष्ट्रियता र भाषाको नाम यो एउटै शब्ले बोकेको छ ।

[भूटानीहरुले न्यानो अनुभूत गर्ने, दुःख-पीडा साट्ने, सहकार्यमा हातेमालो गर्नसक्ने सबभन्दा निकट मानिस यदि विश्वमा कोही छन् भने ती नेपाली नै हुन् । किनभने नेपाली र भूटानीहरुबीच दाजु-भाइको अंशबण्डा लाग्ने साइनो-सन्बन्ध छ । तर, यसो भन्दैमा भूटानसितको नाता बिर्सिएर नश्लीयचेतमा वहकिँदै आफ्नो न्यायको संघर्ष-गाथामा आगो झोस्नु बुद्धिमत्ता होइन । पहिचानको सवालमा हामीसँग रोङथोङ क्युन्ले, रिञ्जिन वाङ्दी, तेञ्जिन जाङ्पो, केजाङ, देकी, ठिन्ले पेञ्जोरहरुको पनि अस्तित्व रहनुपर्दछ । र, ‘नेपाली’ मात्र पहिचान राखेर त्यसभित्र उनीहरुलाई अँटाउन सकिँदैन । निर्वासित समूहमा नेपालीभाषीको बहुमत छ भन्दैमा उनीहरुको अस्तित्व मासिदिनु हाम्रो धर्म होइन । मनबहादुर क्षेत्रीसँगै हामीले गोम्छेन कर्माको जीवन उत्सर्गलाई पनि बराबर बलिदान मान्नसक्नुपर्छ । त्यसैले ‘हामी भाषिक-सांस्कृतिक रूपमा नेपाली भएर पनि सग्ला नेपाली होइनौं’ भन्ने चेतना सधैं कायम राख्नु जरुरी छ ।]

पूर्व भूटानीहरुलाई वर्तमान परिप्रेक्ष्यले विभिन्न नवराष्ट्रियतामा समावेश गरिसकेको छ । यस सरोकारमा उनीहरूले आ-आफ्नो  प्राथमिक पहिचानको प्रधानता वर्तमान राष्ट्रियताकै आधारमा तय गर्नुपर्छ जो बहसको विषय होइन । सधैं ब्याकभ्यू मिरर हेरेर गन्तव्यको सडकमा गाडी कुदाउन सकिँदैन । जीवनको दैनिकीमा हामीलाई आफू हुनुको अनुभूति कसले प्रदान गऱ्यो-त्यसैको विधिविधान र परिचय चल्छ । त्यो अर्थमा जो जुन भुगोलबाट आए पनि हामी सबै बराबर   छौं । तर, वर्तमान विश्वपरिवेशले के देखाएको छ भने इतिहास मासिएका मानिसहरु धागो चुँडिएको गुड्डीजस्तै हुन्छन् । त्यसर्थ इतिहासलाई जतनले सुरक्षा गर्नुपर्छ । भूटानी वा नेपाली, सबैका लागि संस्कृति र पुर्ख्यौली विरासत जोडेर आफ्नो न्यायिक पहिचानको ऐतिहासिक पृष्ठभूमि पनि सजीव राख्नु पहिलेभन्दा झन् झन् जरूरी भएको छ । इतिहास हराएका मानिसहरु जरा काटिएको बिरुवाजस्तै हुन्छन् । त्यसकारण हाम्रो समुदायले आफ्नो ‘भूटान’ र ‘नेपाल’ सित जोडिने ऐतिहासिक सहायक पहिचानहरुलाई पनि कहिल्यै नछुट्ने गरी जतनले राख्नु अनिवार्य छ । यसको अर्थ वर्तमान र भविष्य नसोचेर इतिहासमा मात्रै अल्झिएर हराउनु भनेको होइन । भूटानको शासकवर्गले भौतिक रूपमा राज्यबाट विस्थापन गरेर चुप लागेको छैन । इतिहासबाटै हाम्रो समुदायलाई निर्मूलन गर्ने अभियानमा क्रियाशील छ । हाम्रो समुदायले हडबड नगरीकन हामीमाथिको अन्यायको इतिहासलाई जोगाइराख्नु पनि त्यो अन्यायका विरुद्धको चुनौती हो ।

अतः हाम्रो आगामी पुस्तालाई भूटान र भूटानी सम्झाइराख्न निर्वासित समुदायले एउटा यस्तो दिन तोक्नु आवश्यक छ जसले भूटान भित्र हुने हाम्रा परिवार र देशबाहिर रहेका सबैलाई समेट्न सकोस् । भित्र रहनेहरु परिबन्दमा परेर हाम्रा विरुद्ध बोले पनि उनीहरुको हित दीर्घकालसम्म टिक्ने उपाय सोच्नु हाम्रो दायित्व हो ।

नेपालमा पनि हामीले २० वर्ष जीवन बाँचेर आएका छौं, जसको सकेसम्म गुण गर्नु हाम्रो धर्म हो । यो सरोकारमा अमेरिकामा रहने नेपालीहरुले वार्षिक रूपमा ‘नेपाल डे’ मनाउन थालिसकेका छन् । नेपालमा परिआउने आपत-विपतका परिघटनाहरुमा सदाशयता दर्शाउँदै हरेक ‘नेपाल डे’ मा एकाकार भएर हामीले पनि सहयोगी भूमिका खेल्नसके त्यो पाटो पूरा हुनेछ । यही सिलसिलामा भूटानको पाटोमा निर्वासित भूटानीहरुले पनि भूटान सम्झने एउटा दिन तोकेर विश्वव्यापी बनाउनु  आवश्यक छ ।

यस सम्बन्धमा चार वर्षअघि ‘पुण्य फाउण्डेशन’ नाम गरेको संस्थाले ‘भूटान स्मृति दिवस’ मनाउने प्रस्तावना अघि सारेको थियो । फाउण्डेशनका अध्यक्ष डा. लक्ष्मी ढकालले यसबारेको छलफलसमेत आयोजना गरेका थिए । तर, विभिन्न कारणले दिवसको सन्दर्भ र अनुकूलता टुंगो लाउने चरणमा त्यो छलफल पुग्नसकेन । त्यो अन्योलको सिलसिलामा कोही भूटानको राजखलकले मनाउने गरेको ‘राष्ट्रिय दिवस’लाई सकार्दै ‘पाल्देन ड्रुक्पा गेलो’ भन्नथाले त कोही के के भनिरहे । यसर्थ अब यो भ्रान्तिको दलदलबाट बाहिर निस्किएर कसैलाई नदुख्ने, कसैले नबिझाउने एउटा साझा दिवस टुंगो लगाउनु अनिवार्य भएको छ । त्यसर्थमा चार वर्ष पहिले नै यो प्रस्ताव अघि सारेको पुण्य फाउण्डेशनलाई यसको पूर्ण श्रेय दिँदै अब हामी सबैले जुटेर सो दिवसको साझा दिन तोक्नै पर्दछ ।

यस सरोकारमा भूटानभित्र रहेको नेपालीभाषी समुदाय र निर्वासित सबैलाई एउटा मालामा गाँस्ने भनौं अथवा निरंकुश शासकले नागरिकहरुसित सम्बन्ध विच्छेद गर्ने प्रस्थान विन्दु सन् १९८८ को राष्ट्रिय जनगणना हो । सन् १९८५ मा बनेको भूटानको नागरिकता ऐनलाई हुकूमी शैलीमा प्रयोग गर्दै सञ्चालनमा ल्याइएको सो ‘१९८८-कालो कानून’ ले हजारौं निर्दोष भूटानीहरुलाई ‘गैर-नागरिक’, ‘अराष्ट्रियतत्व’ बनायो । यसै सरोकारमा सन् १९८८ मा भूटानका तत्कालीन राजा जिग्मेसिङ्गे वाङ्चुकलाई नेपालीभाषी नागरिकहरुमाथि एकपक्षीय रूपमा अन्याय नगर्न भनी थिम्पूमा हुने एकदर्जन कर्मचारीहरुले लेखेको अनुरोधपत्रलाई सो दिवसको आधार मान्न सकिन्छ । यहाँनेर त्यो पत्र कसले लेख्यो, राजासमक्ष कसले बुझायो भनेर व्यक्तिलाई महत्व दिने कुरा गरिएको होइन । कमसे कम भूटानका नेपालीभाषीहरुको नाममा एउटा मात्र भए पनि औपचारिक लिखित दस्तावेज रहेको आधारमा त्यो दिनलाई विवादरहित साझा दिवसको रूपमा तोक्न म यहाँनेर प्रस्ताव गरिरहेको छु ।

यसर्थः आजको यो गरिमामय भेलामा म सो अनुरोध पत्र राजा जिग्मेसिङ्गेलाई बुझाइएको दिन, १९८८ अप्रिल ९ लाई भूटान स्मृति दिवसको रूपमा प्रस्ताव गर्दछु । सो पत्रमा टेकनाथ रिजाल र विद्यापति भण्डारीले मात्र हस्ताक्षर गरेका भए पनि त्यो उनीहरु दुइजनाको मात्र अवधारणा थिएन । त्यसको पूर्वाधारमा भीम सुब्बा, मान्धोज तामाङ, हरि क्षेत्री, लोकबहादुर गुरुङ, रनबहादुर बस्नेतलगायत धेरै उच्च पदाधिकारीहरु थिए । राजाले स्वयं सल्लाहकार परिषदका सदस्य टेकनाथ रिजाललाई दक्षिण भूटानमा विद्यमान समस्याहरुको वृत्तान्त लेखेर बुझाउन आदेश गरेपछि सो पत्र तयार भएको थियो ।

त्यसर्थमा यो दिवस रिजाल र भण्डारीको सम्झना नभई, राजालाई देशको समस्याबारे अवगत गर्दै सम्पूर्ण समुदायको लागि न्यायिक याचना गरिएको अवसरका रूपमा लिइनुपर्दछ । दक्षिण भूटानलाई प्रतिनिधित्व गर्ने तत्कालीन सासंदहरु रिजाल र भण्डारीले राजालाई सो अनुरोध पत्र बुझाएपछिका घटना-परिघटनाहरु, सबैखाले राजनीतिक, भाषिक अन्यायका उपक्रमहरु, शहीदहरुको स्मरण आदि कुरालाई यसै दिनले जोडेर लैजान्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । त्यसकारण यसै दिनलाई भूटानको स्मरण गर्न उपयुक्त क्षणका रूपमा म पुनः प्रस्ताव गर्दछु ।

पहिचान र स्मृतिको सरोकारमा केही सन्दर्भ-सहायक दस्तावेजहरुः

  • Phalaicha Entertaintment: https://www.youtube.com/watch?v=VGLiBqtIQMM
  • टेकनाथ रिजाल र विद्यापति भण्ड़ारीको हस्ताक्षरमा राजा जिग्मेसिङ्गेलाई बुझाइएको अनुरोध पत्रः

https://www.satp.org/document/paper-acts-and-oridinances/petition-submitted-to-the-king-by-tek-nath-rizal-and-bp-bhandar

 

 

  • शनिवार, मई ११, २०२४ मा अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्ग महानगरमा त्रिवेणी साहित्य मञ्चद्वारा आयोजिक कार्यक्रम अन्तरगत सम्पन्न बहसमा प्रस्तुत अवधारणा/संकल्पना पत्रः

 

पहिचानबोधको प्रश्नः सग्ला नेपाली कि अर्धकट्टि ?

 

पहिचान के हो

—————–

 

पहिचान भनेको व्यक्तिले आफूलाई चिनाउने परिचायक स्तम्भ हो । जाति (?), धर्म, लिंग, विचारधारा, राष्ट्रियता, संस्कृति, भाषा, इतिहास, व्यवसाय, विश्वास तथा सम्बन्धित राज्यको नीति र कानूनका आधारमा व्यक्तिले आफू हुनुको अस्तित्वबोध गर्ने माध्यमलाई पहिचान मानिएको छ ।

 

पहिचानका मूलतः दुई तह छन् : निजी र साझा । यद्यपि, निजी पहिचानबिना केवल साझा पहिचानको छुट्टै कुनै अस्तित्व छैन । वास्तवमा पहिचान भनेकै एउटा अमूर्त अवधारणा हो, जसको कुनै ठोस रूपाकार हुँदैन । हरेक घटनाक्रम, स्थिति र सम्बन्धित व्यक्ति वा समुदायको विश्वासअनुरूप पहिचान रूपान्तरित हुँदै जान्छ । पहिचानलाई निजी र साझा-दुइ तहमा बाँडिनुको अर्थ के हो भने निजी पहिचान थोरै अस्थिर हुन्छ तर, साझा पहिचान अलि बेग्लै, दीर्घम्यादी वा हम्मेसी परिवर्तन नहुने खालको हुन्छ । निजी पहिचान अन्तरमुखी हुन्छ भने साझा पहिचान बहिरमुखी हुन्छ । व्यक्तिले चाहेमा निजी पहिचान झट्ट फेर्न सक्छ । तर, उसलाई हेर्ने र बुझ्ने सामाजिक दृष्टिकोण सहजै फेरिँदैन । हो यही कुरालाई निजी र साझा पहिचानको फरक विन्दु ठानिएको छ ।

 

सामान्यतः पहिचान व्यक्तिले स्वयं निर्माण गर्दछ तर, अपवादस्वरूप परोक्षरूपमा कहिलेकाहीं बाह्यपक्षले पनि पहिचान निर्धारण गरिदिन्छ । जस्तैः भूगर्भशास्त्री टोनी हेगन, पर्वतारोही एडमण्ड हिलारी, वन-पुतलीका खोजकर्ता कोलिन फिलिपस्मिथ र अर्का पर्वतारोही उमोङ गिललाई नागरिकता दिएर नेपाली बनाइयो । उनीहरु नेपाली बन्नुमा स्वयंको विश्वास र निजी मान्यताले काम नगरी नेपालको तत्कालीन राज्यव्यवस्था र कानूनले भूमिका खेलेको थियो । विश्वभरिका यस्ता अनेक उदाहरणहरु केलाउन सकिन्छ । तर, हाम्रो अहिलेको उद्देश्य त्यो होइन; त्यसर्थ मूल विषयवस्तुमा केन्द्रित बनौं ।

 

व्यक्तिको निजी जीवनमा पहिचान निर्माण गर्ने आधारहरु परिवार (नश्ल), भाषा, सामाजिक दृष्टिकोण, संस्कृति, परम्परागत मान्यता आदि हुन् भने शिक्षा, पेशा, व्यवसाय, राजनीतिक चिन्तन र मुख्यरूपमा सम्बन्धित राज्यको कानूनले पहिचान निर्माणमा पूर्वाधारको काम गर्दछन् । सरल रूपमा बुझ्नुपर्ने कुरा-व्यक्तिको निजी पहिचान तय भइसकेपछि उस्तैखाले धेरै व्यक्ति जुटेर बन्ने समूहमा बहुपक्षीय सरोकार मिल्यो भने उनीहरुको परिचय पनि साझा हुन्छ । यसरी साझा विषयवस्तुमा स्थापित परिचायक स्तम्भहरु एकात्मक नभएर बहुआयामिक हुन्छन् । तर, विडम्बना, आजभोलि संसारका विभिन्न ठाउँमा पहिचानका भ्रान्तिपूर्ण नाराहरु बनेका  छन् । ती नारा बनाउनेहरुले बहुसंख्यक मानिसहरुलाई आफ्नो नारा कोच्याएर आफ्नै विचार सर्वमान्य बनाउनका लागि अनेकखाले छिनाझपटी गर्दै त्यसलाई ‘पहिचानको संघर्ष’ भन्ने गरेका छन् । वास्तवमा पहिचानको बहुआयामिक मर्म नबुझेका मान्छेहरुले पहिचानको संघर्ष गर्नै सक्तैनन् । गरे पनि त्यो व्यर्थको परिश्रम हुन्छ; अनावश्यक बुद्धिविलास हुन्छ ।

 

अहिलेसम्म यति कुरा गरिसकेपछि व्यक्तिले स्वयं वा अरुद्वारा सोधिएका प्रश्नको उत्तर निर्माण गरेर बन्ने अवधारणालाई पहिचान भनिएको यहाँहरुले बुझिसक्नुभएको हुनुपर्दछ । संसारमा जन्म लिएका सबै व्यक्तिले कुनै न कुनै दिन आफ्नो पहिचानबारे प्रश्नको सामना गरेकै हुन्छन् ।

 

‘म के हुँ, को हुँ ?’ ‘मेरो अस्तित्व कहिले शुरु भयो?’,‘जीवन समाप्तिपछि मलाई के हुन्छ वा म कहाँ जान्छु?’ जस्ता प्रश्नबाट व्यक्तिले प्राचीनकालदेखि नै शुरु गरेको चिन्तनबाट निर्मित अवधारणाहरू दर्शनकै रूपमा स्थापित भएका छन् । केही दशकअघिको कुरा हो, केही पश्चिमी शास्त्रज्ञहरुले व्यक्तिको पहिचान तोक्ने क्रममा “कोही इसाई हुनसक्छ, कोही मुसलमान वा कोही हिन्दू र बौद्धमात्र हुनसक्छ” भनेर एकात्मक व्याख्या गर्नथालेपछि यस सवालमा विवाद उठ्यो ।

 

पश्चिमा दार्शनिक शास्त्रज्ञहरुको यस्तो तर्क र जिद्धि बढेपछि त्यस्तो दाबीको जवाफमा पूर्वेली समाजशास्त्री डा. अमर्त्य सेनले एउटा पुस्तक लेखेर गम्भीर वैचारिकी प्रस्तुत गरे । सन् २००८ मा उनको पुस्तक ‘पहिचान र हिंसाः नियतिको भ्रम’ (Identity and Voilence: The illusion of destiny) प्रकाशित भएपछि विश्वभरि मानिसको पहिचानबारे पुनः चर्चा र बहसहरु भए ।  कसैले पनि सेनको तर्क र दाबीमा ठोस विमति राख्न हिम्मत गरेनन् ।

 

डा. सेनको रायमा मानिसका पहिचानहरु बहुपक्षीय हुन्छन् । राज्य-राष्ट्रसित पनि परिवारमा झैं व्यक्तिको साइनो-सम्बन्ध हुन्छ ।  एउटा व्यक्ति एउटै घरभित्र कसैको बाबु, कसैको श्रीमान, कसैको छोरो-नाति, कसैको जेठाजु वा कोही छोरी, बुहारी, आमा, काकी, माइजु बनेजस्तै हो राज्य वा राष्ट्रसितको साइनो पनि । र, त्यही साइनो उसको पहिचान पनि हो । एउटा व्यक्ति कुनै नारा-जुलूसमा सामेल भए त्यो अमुक दल वा संगठनको समर्थक-सदस्यको रूपमा चिनिन्छ भने कुनै अनुष्ठान वा भजन-कीर्तनमा सहभागी भएमा ऊ अमुक धार्मिक सम्प्रदायको सदस्य वा अमुक देवी-देउताको ‘भक्त’ को रूपमा चिनिन्छ । अर्थात् वस्तुनिष्ठ उपस्थिति र अवस्थिति अनुरूप मानिसका पहिचानहरु फेरिन्छन् । जन्मिएर हुर्किँदै जाँदा आफ्नै शरीरका अङ्गहरु त फेरिन्छन् भने वैचारिकी नफेरिने कुरै भएन । जीवनवादी सकारात्मकताका लागि फेरिनु आवश्यक पनि छ । तर, केका लागि फेरिने भन्ने प्रश्नले फेरिनुको मूल्य निर्धारण गर्दछ ।

 

माथि नै भनियोः मानिसले आफ्नो वर्ग, लिङ्ग, सभ्यता, संस्कृति, भाषा, साहित्य र राजनीतिक वैचारिकीका आधारमा आफ्नो परिचय निर्धारण गर्दछन् । तर, उनीहरु सम्बन्धित राज्यको कानूनले व्याख्या गर्ने परिधि र आफ्नै समुदायको ऐतिहासिकता आदिबारेमा ध्यान दिँदैनन् । यस्तो उपेक्षा र उदासिनताका कारण पहिचानका अवधारणाहरू बीच थुप्रै अन्यौल, भ्रम सिर्जना हुन्छन् जसको परिणाम मानिसले आफ्नो ‘अद्वितीय’, ‘विशिष्ट’ अथवा अरुको भन्दा बेग्लैखाले अप्रतिम परिचय निर्धारण गर्ने हुटहुटीमा ठूल्ठूला भुल गर्दछ र त्यस्ता भुलहरुको परिणतिमा मानव समुदाय भीषण द्वन्द्व, हिंसा र उच्छेदन वा विस्थापनको चपेटामा पर्दछ । यस्तै व्यथाभरि वर्तमान हामीमध्ये धेरैले भोगिरहेकै छौं ।

 

अतः डा. सेनको रायमा हरेक मानिसले व्यक्तिको परिचय एकल नभएर बहुआयामिक हुन्छ भन्नेमात्र मान्नसके पनि संसारमा फैलिइरहेको द्वन्द्व र हिंसा न्यून भएर जान्छ । समुदायको पहिचान भनेको व्यक्ति व्यक्तिको परिचय जोडिएर बन्ने अमूर्त सामूहिक भावना भएकाले व्यक्ति (हरु) को वैचारिकीलाई सभ्यताको बाटोमा मोड्नसके समुदाय त स्वतःसिद्ध सही लक्ष्यमा मुखरित भइहाल्छ ।

 

आज, यो स्थानमा उभिएर पहिचानको कुरा उठाइरहँदा सबैले अनुमान गर्नुभएको हुनुपर्छ, त्यो एउटा निश्चित समुदायको सरोकारमा केन्द्रित विषय हो, जसलाई एउटा निश्चित भूगोलको परिसीमनमा जोडेर चिनिन्छ । अर्थात् त्यो हो भूटानको पृष्ठभूमि बोकेको नेपाली समुदाय ! गुत्थी अझ खोलौं- भूटानका नेपालीभाषीले आफैंलाई ‘नेपाली’ मात्र भनेर चिनाउने कि ‘नेपाली’ शब्दका पछि कुनै उपसर्ग, प्रत्यय जोडिनु आवश्यक छ-भन्ने सवाल नै यो बहसको मुख्य विषय हो । सरल शैलीमा भन्दा- नेपालसित प्रत्यक्ष साइनो जोडिएकाहरु ‘सग्ला नेपाली’ र त्यसइतरका अन्य सबै नेपालीभाषीहरु ‘अर्धकट्टि’ अर्थात् अपूर्ण नेपाली हुन् त? भन्ने मूल प्रश्नमा यहाँ चर्चा हुन गइरहेको छ ।

 

यस कुरामा बाह्यपक्ष, समाजइतरका इष्टमित्र, र हितैषीमात्र नभएर स्वयं भूटानी समुदायभित्रै पनि ठूलो असमञ्जस छ । माथि उल्लेख भइसक्यो, मानिसको पहिचान भाषिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा मुख्यरूपले कानूनी आधारमा फेरबदल भइरहन्छ । यस तात्पर्यमा प्रष्ट कुरा गर्दा भूटानको पृष्ठभूमि बोकेका नेपालीभाषीहरु भूटानमा हुँदा जति ‘नेपाली’ थिए आज पनि त्यति नै ‘नेपाली’ बन्न वा रहन सक्छन् । उनीहरुको पहिचानमा इतिहासले नेपाली शब्द जुन हदमा जोडिदिएको थियो आजको परिवेशमा पनि उनीहरुले त्यही सीमा तय गरेर ‘नेपालीत्व’ कायम गर्नसक्छन् । त्योभन्दा अधिक उनीहरु ‘सग्ला नेपाली’ बन्न सक्तैनन् ! आज अमेरिकी, अष्ट्रेलियाली, यूरोपेली देशका नागरिकता बोकेर, तत् तत् देशका कानून र संविधानले व्याख्या गरे अनुरूप सुविधा भोग गरेर जति ‘नेपाली’ बन्न सम्भव छ; भूटानमा हुँदाको वस्तुस्थिति पनि त्यही थियो भनेर बुझ्नुपर्दछ ।

 

एउटा सिंगै समुदायको सरोकारमा लक्षित यो विषय भएकाले विषयक बहसको थालनीभन्दा पहिले त्यो निश्चित समुदायको पृष्ठभूमिबारे केही आधारभूत बुझाइ हुनु अनिवार्य हुन्छ । अमेरिका, केनाडा, अष्ट्रेलियालगायत पाँचवटा युरोपेली मुलुकहरुमा पुगेका पूर्व भूटानी नागरिकहरुलाई ठेटरूपमा चिन्न उनीहरु त्यहाँ पुग्नभन्दा पहिलेको परिचायक आधारबारे पर्याप्त चर्चा हुनु आवश्यक छ । उनीहरु तत् तत् देशमा पुग्नुको मुख्य आधार उनीहरुको पूर्व ‘भूटानी शरणार्थी’ परिचय हो ।

 

शरणार्थी भन्नेबित्तिकै यसको व्याख्यामा अनेक तहका सन्दर्भ-प्रसंगहरु जोडिन सक्छन् । तर, यो बहसमा विषयकेन्द्रित हुनलाई शरणार्थी शब्दको अर्थ र व्याख्यातिर नलागी पूर्व शरणार्थीहरुको चिनारी के हो ? र, त्यसका आधारहरु के के हुन् ? भन्ने मूल प्रश्नमा लागौं ।

 

भूटानबाट निर्वासनको करिब चारदशकपछि अहिलेको नयाँ परिवेशमा केही व्यक्ति विशेष र गैर-आवासीय नेपाली संघ (एन.आर.एन.) मा संलग्न पदाधिकारीहरुबाट ‘भूटानीहरु पनि नेपाली नै हुन्, उनीहरुले पनि एनआरएनको सदस्यता लिनु सर्वग्राह्य हुनसक्छ-हामी एकै परिवारका सदस्य हौं” जस्ता भनाइहरु बेलाबखत सार्वजनिक हुने गरेका छन् ।   हुनसक्छ; यो निर्वासित भूटानीहरुप्रति उहाँहरुको उदारता, सद्भावना, माया, सहृदयी अभिव्यक्ति जे भने पनि भयो । नेपाली जनमानसले भूटानीहरुलाई माया गरेको आजमात्र होइन । पहिलो कुरो त सन् १९५१ को शरणार्थीसम्बन्धि संयुक्त राष्ट्रसंघीय करारपत्रमा हस्ताक्षर नगरेको, सन् १९६७ को प्रोटोकलमा पनि सहभागिता नभएको देश नेपालले ९० ताका निर्वासित भूटानीहरुलाई प्रवेश दिएर शरणार्थी मान्यता दिलाउने कार्य गरी ठूलो उदारता देखायो । त्यसपछि झापा र मोरङका स्थानीयवासीले २० वर्षसम्म माया गरेर हामीलाई नझेलेका भए भूटानीहरु संगठितरूपमा आजको परिवेशमा अवतरित हुन सम्भवै थिएन । उनीहरु भारतका विभिन्न प्रान्तमा विलय हुन्थे र आज उनीहरुको नामोनिशान कतै भेटिने थिएन ।

 

यद्यपि, माया-ममताले दीर्घकालसम्म मानिसको सामूहिक स्थायित्व कायम गर्न सक्तैन । माया भावनात्मक हुन्छ । तर, आजको विश्वपरिवेश कठोर यथार्थवादी छ । निश्चित संवैधानिक परिधि र व्याख्यामार्फत न्यायिक निकायहरु चलेका छन् । त्यसमाथि कुटनीतिक दाउपेचबाट शक्तिकेन्द्रहरु चलेका छन् । त्यसर्थमा कुनै निश्चित विधान र नीतिसंहितामा उल्लेख नगरी बनेका मान्यताहरु अस्पकालीन हुन्छन् ।

 

[यहाँहरुलाई अहिले लागिरहेको हुनसक्छ, यी भूटानीहरुलाई ‘नेपाली’ भन्दिँदा पनि ‘हामी नेपाली हैनौं’ भन्दै तातिन्छन्; ‘भोटाङे’ भन्दिँदा झन् खूब रिसाउँछन्-अब कसो गर्नेहोला ? तपाइँहरुमा मात्र होइन यो अन्योल, भूटानी समुदायभित्रै यस्ता अनेकौं प्रश्नहरु गुम्सिरहेका छन् । नेपालमा शरणार्थी बनेर रहँदा नेपाल देशले नेपाली नागरिकता दिएर ‘सग्ला नेपाली’ नबनाइदिएकोमा भित्र-बाहिर दुवैतिर अनेकौं गुनासोका पोकाहरु छन् ।]

 

भूटानीहरुमा भएको यो अन्यौल हतासा र दिग्दारीको परिणाम हो भने शिविरसित नातो नजोडिएका नेपालीहरुमा यो अन्योल नश्लीय निकटताको, पारिवारिक आकर्षणको ममता हो । हो, नश्लीय पहिचानको मात्र कुरा गरे नेपालका वासिन्दा र भूटानका नेपालीहरु एकै परिवारका सदस्य हुन् । तर, नश्लीय चेतनाको हिसाब आजको विश्वमा गौण भइसकेको छ । नश्लको वर्चस्वबाट बन्ने राष्ट्रियता र त्यसकै आधारमा बनेको पहिचानको कुरा गर्नथालियो भने सारा विश्वव्यवस्था उलट-पुलट हुन्छ । सेतो छाला हुनेजति सबै बेलायतमा, संसारका सारा यहुदीहरु इजरायलमा थुप्रो लाग्नुपर्ने जस्तो कुरा गरेर साध्य छैन; जुन काम व्यावहारिक रूपमा भूटानको तत्कालीन राज्यव्यवस्थाले गरेको छ । वर्तमान विश्वभरिको सामाजिक व्यवस्थामा उथल-पुथल हुने त्यस्तो चिन्तन कुनै सभ्यताको निशानी होइन । यो चिन्तनले हिटलरपरस्त तानाशाहीतन्त्रको स्थापना गर्दछ ।

 

आन्तरिक अनेकता र विद्रोहले थिल्थिलिएको तत्कालीन नेपालको नीतिले भूटानीहरुलाई ‘भूटानी’ भन्यो र शरणागत पाहुनाको रूपमा राख्यो; त्यो नै ठूलो कुरा  थियो । भूटानीहरु नेपालको सो उदारताप्रति सदैव ऋणि हुनुपर्दछ । कसैको हृदयमा त्यो कृतज्ञता छैन भने पनि आफूलाई त्यो स्थानमा उभ्याएर चिन्तन गर्नसके सो अनुभूति हुनेछ । तर, कसै गरे पनि भूटानका पूर्व नागरिक नेपालीभाषी-आजका अमेरिकी, केनाडेली, अष्ट्रेलियाली वा यूरोपेलीहरु पूर्णरूपमा ‘नेपाली’ बन्न सम्भव  छैन । यदि कसैले आफू वा आफ्नो समुदायलाई ‘सग्लो नेपाली’ भएको उद्धण्ड बखान गर्छ भने त्यो समूहिक इतिहासको मानकविरुद्ध हुन्छ, आफैंप्रतिको अपराध हुन्छ  ।

 

भूटानको वर्तमान राजसंस्था स्थापनाभन्दा चारसय वर्षअघिदेखि भूटानमा रासोबासो भएका, वर्तमान राजपरम्पराको स्थापनामा समेत महत्वपूर्ण योगदान गरेका, सन् १९८८ सम्म कानूनसम्मत भूटानी नागरिकहरुलाई त्यहाँको जहाँनिया शासकले मनमौजी देशनिकाला गरेपछि सिर्जना भएको समस्या नै भूटानी शरणार्थी मुद्दा हो । यदि नेपालका शरणार्थी शिविरबाट वैधानिक बाटो भएर अमेरिकालगायतका देश छिरेका मानिसहरु स्वयं वा अन्य कसैको लहै लहैमा आफूलाई ‘नेपाली’ मात्र भनेर चिनाउँदैछन् अथवा चिनाउन चाहन्छन् भने त्यो सरासर भूटानको राजखलकले गरेको अपराधलाई टेवा दिने दुराशय हुन  जान्छ । थिम्पूको दरवारले ‘तिमीहरु नेपाली हौ’, ‘जे जे चाहिन्छ गिरिजाप्रसादले दिन्छ, उसैलाई माग्नु’ भन्दै सिमाना कटाएका भूटानी नागरिकहरु आफ्नो मुद्दाले एउटा किनारा नपाई कसरी एकाएक त्यही दरवारपरस्त कुत्सित दृष्टिकोण अपनाउँदै आफैंलाई थुक्न सक्छन् ? आफ्ना दर्जनौं सहयात्रीहरुलाई भूटानका जेलहरुमा बिर्सिएर, झापाका शिविरहरुमा अनिश्चितता बोकेर जीवन घिस्याइरहेका आफ्ना परिवारका सदस्यहरुलाई ‘लात्तले हानेर’ कसरी उनीहरु ‘सग्ला नेपाली’ हुनसक्छन् ?

 

कुरो यतिमात्र होइन; पूर्व भूटानीहरुलाई पुनर्वाश योजनामा सामेल गराउँदा आइओएममार्फत अमेरिकी गृहविभागले सबैभन्दा पहिले १९५१ को शरणार्थीसम्बन्धि संयुक्तराष्ट्रसंघीय करारपत्र र त्यसैको प्रोटोकल-१९६७ अन्तर्गत शरणार्थीको परिभाषाभित्र अँटाउनेहरुलाई मात्र अमेरिका छिर्न पाउने पूर्वशर्तस्वरूप प्रतीज्ञा पत्रमा सबैलाई हस्ताक्षर गराएको छ । कस्तो कागजमा सही गरें भनेर जानकारी  नपाउने शरणार्थीलाई ज्ञान नहोला तर, सामान्य पढा-लिखाहरुलाई यति कुरो थाहा  हुनुपर्दछ । आज जुन हिसाबले नयाँ देशमा कानूनसम्मत हक-अधिकार र नागरिकता प्राप्त गरिएको छ, सोही हिसाबमा आफ्ना अग्रजहरुले भूटानमा पाएको हैसियतलाई अवमूल्यन गर्ने वृत्ति सिंगो समुदायका लागि घातक हुन्छ । यदि यो कुरो बुझेर पनि ढिप्पी गरिरहने, जीवनमा एकपटक भूटान र शरणार्थी शिविरसित साइनो जोडिएकाहरुमध्ये कोही छन् भने तिनीहरु पनि हालचालै नेपालमा चलेको ‘नेपाली नागरिकहरुलाई भूटानी शरणार्थी बनाएर अमेरिकातिर छिराउने’ भ्रष्टाचारी योजनाका मतियारको रूपमा दह्रिन सक्छन् ।

 

‘अस्ति नेपालमा जन्मेकाहरु चाहिं नेपाली हुनसक्छन्’ भनेर कसैले त्यस्तो ढिप्पीमा सहुलियत प्रदान गर्दछ भने त्यो पनि गलत नै हुन्छ । किनभने लामो यात्रा गर्दा बाटोमा रुखको फेदमुनि बास बसेपछि त्यो रूख बटुवाको   हुँदैन । भूटानीहरुका लागि नेपाल एउटा ‘ट्रान्सिज पोइन्ट’ मात्र थियो । त्यहाँको संविधान वा कुनै पनि कानुनी संहिताले ‘नेपालमा जन्मिएका शरणार्थीका सन्तान नेपाली बन्नसक्छन्’ भनेर लेखेको वा व्याख्या गरेको थिएन/छैन । आज अमेरिकी कानूनले जन्मको आधारमा नागरिकता दिएको बुझेपछि ‘नेपालमा जन्मिएकाहरु नेपाली हुन्’ भन्न कसरी सकिन्छ ? कामना छ, त्यस्तो नहोस् । तर, कथंकदाचित भोलि अमेरिकी संविधान- कानून फेरियो र जन्मकै आधारमा मात्र नागरिकता, राष्ट्रियता र समग्र पहिचान निर्धारण हुन्छ भन्ने तोकियो भने यहाँ नजन्मिएकाहरु कता जाने ?  अथवा भूटानमा जन्मिएका अनेकौं पुस्तासम्म त्यहाँका रैती, प्रजा वा जनता भएर बसे । दरवारमा सीमित भए पनि त्यहाँको पुस्तेनी कानूनले पूर्णमान्यता दिएर उनीहरु त्यहीँका नागरिक बने । तर, ९० को वरिपरि उनीहरुले जालसाजीपूर्ण ढंगमा थातथलो गुमाए !

 

यी सब अवस्थाहरु सम्बन्धित देशका तत्कालीन शासकीय विधि र कानूनद्वारा सिर्जित विषय हुन् । इतिहास अन्यायपूर्ण विजयको एकपाटे गाथामात्र होइन । न्यापूर्ण पराजयको पनि इतिहास हुन्छ । हुँदैन’थ्यो भने पनि अब बनाउनुपर्छ । यसर्थमा शरणार्थी शिविरमा जन्मिएर आएका हुन् वा पुनर्वाशपछि जन्मिएका हुन्, अग्रज पुस्ता भूटानी भएका नवसन्ततिहरुले बरु आफ्ना पुर्खालाई किन बेदखल गऱ्यौ –भनेर भूटानका शासकहरुलाई शालीन प्रश्न बारम्बार सोधिरहनुपर्छ ! अन्यहरुले पनि सहृदयतापूर्वक यही कुरालाई प्रोत्साहित गर्नु समग्ररूपमा विश्वभरिका नेपालीहरुको लागि हितकारी चिन्तन साबित हुनेछ ।

 

 

संस्कृति र पितृभूमि

———————-

 

भूटानीहरुको पहिचानमा ‘नेपाली’ शब्द जोडिनुको एउटा मात्र आधार उनीहरुले बोल्ने भाषा र संस्कृति हो । र, आजको नेपाल ‘नेपाल’ रहेसम्म त्यो फेरिने पनि छैन । यस सवालमा बिर्ता वा पैतृक थलोको कुरा पनि बेलाबखत जोडिन्छ । तर, पितृथलो खोज्नभन्दा पहिले कुनै पनि देशका सिमानाहरु इतिहासमा कतिपटक फेरिए होला भनेर पनि सोच्नुपर्ने हुन्छ । यसरी इतिहाससँगै पुस्ता दरपुस्ता पुर्खाको पैतृक थलो खोज्दै गयो भने बरु आदिमानवको उत्पति गाथातिर पुगिएला, खोजी टुंगो लाग्दैन । समाज विकासक्रमको इतिहास केलाएर अध्ययन गरे आधुनिक समयको बुझाइ र नयाँ युगको संवैधानिक विधि, कानुनी व्याख्या अनुसारको राज्यव्यवस्था उहिले थिएन भन्ने सबैलाई ज्ञान हुनुपर्दछ !

 

विषयलाई सामाजिक मनोविज्ञानको कडीमा घोलेर हेर्दा वर्तमान नेपालका पूर्वी पहाडहरुबाट अहिलेका भूटानीका पुर्खाहरु उतिबेला भूटान नामको अमुक देश गएका थिएनन्, उनीहरु त एउटा मुखियाको गाउँबाट अर्को मुखियाको गाउँ गएका थिए । एउटा पहाडबाट अर्को पहाड गएका थिए । जतिबेला आधुनिक नेपाल ‘नेपाल’ बनेकै थिएन; त्यही समयदेखि  केही ज्यानको चुनौती भोगेका र राजनीतिक दमनको शिकार बनेकाहरु सञ्चले गरीखाने ठाउँ खोज्न आफ्नो इलाका छोडेर पूर्वदिशा भासिँदै जाँदा भूटान पुगेका थिए । तत्कालीन परिवेशमा भूटानलाई नचाहिएको भए उनीहरु त्यहाँ पनि रहने थिएनन् । अन्तै कतै पुगेर विलिन् हुने थिए । गृहयुद्धले थिल्थिलो भएको भूटानलाई त्योबेला कर्मवीर मानिसहरु चाहिएको थियो-अपनायो । उनीहरू ‘निष्कलंक राजभक्ति’-मा आह्लादित हुँदै त्यही भूमिलाई कर्मथलो बनाएर बसे ।

 

वास्तवमा आठौं शताब्दिमा (सन्  ८१० मा) नालन्दा विश्वविद्यालयका बौद्धगुरु पद्मसम्भव वर्तमान नेपालको बाटो भएर भूटान जाँदै गर्दा साथमा गएकाहरुको बसोबासदेखि शुरु हुन्छ यो प्रसंग । सन् ८२२ मा फेरि गुरु पद्मसम्भवले तिब्बत पुगेर एकहुल बौद्धभिक्षुहरु भूटान ल्याएको प्रसंग पनि चाख लाग्दो छ । गुरुले तिब्बतबाट साथमा ल्याएका भिक्षु खाण्डु हिसे छोगेल र उनका अनुयायीहरु भूटानबाट गुरुको विदाइपछि पनि त्यहीँ बसेका थिए ।-१

 

त्यसपछि आधुनिक भूटानका संस्थापक शाब्ड्रूङ नावाङ नाम्गेल सन् १६१६ मा तिब्बतबाट आएर भूटान राज्यको स्थापना गर्ने सिलसिलामा आफू आएको आठवर्ष पछि यानिकि सन् १६२४ मा गोर्खाका राजा रामशाहसित सम्झौता गरी बिसन थापा मगरको नेतृत्वमा ५० परिवार गोर्खालीहरु भूटान पुऱ्याइएको प्रसंगबाट शुरु हुन्छ भूटानमा नेपाली भाषा बोल्ने मानिसहरुको औपचारिक वृत्तिको कथा ।

 

अझ पछिका अनेकौं प्रत्यक्ष-परोक्ष गृहयुद्ध, महासमरहरुमा जोडिँदै नेपालीहरु भूटान प्रवेश गरेको अन्तिम समय राणाविरोधी आन्दोलनको समापन र विसं २००७ साल (सन् १९५१) मा प्रजातन्त्र स्थापनाको प्रसंगमा पुगेर टुंगिन्छ । तर, तिब्बतीहरुको भूटान प्रवेश विभिन्न बहानामा सन् १९६६ सम्म नै चलिरहन्छ ।-२

 

अथवा भन्न खोजिएको के भने सन् १६१६ देखि १९६६ सम्म तिब्बतबाट औपचारिक रूपमा लगातार भूटान प्रवेश गरेको समुदायचाहिं सर्वोच्च दर्जाको भूटानी नागरिक र शाब्ड्रूङ तिब्बतबाट आएको आठवर्षपछि (सन् १६२४) सम्झौताको माध्यमबाट शुरु भएर सन् १९५१ मा अन्तिमपटक त्यहाँ पुगेका नेपाली (गोर्खाली) हरुचाहिं  तल्लो दर्जाको भूटानी नागरिक हुनुपर्ने के त्यस्तो बाध्यता छ ?

 

भूटान राज्यस्थापनादेखि आजसम्म भोटियाहरूबीच अनेकौं गृहयुद्धहरु भए । यद्यपि, गोर्खाली/नेपाली नामबाट चिनिएको समुदायले कहिल्यै पनि राजा र दरवारको साथ छोडेन । तर, पछिल्लो समयमा आएर त्यही दरवारले भन्यो ‘तिम्रो राजभक्ति अपर्याप्त भयो, अविश्वसनीय भयो ?’ राजभक्तिको परीक्षण गर्दागर्दै पन्ध्रवर्ष पहिले (सन् १९५१ मा) अन्तिमपटक ‘नेपाल’बाट भूटान प्रवेश गरेको एउटा समुदायलाई पन्ध्र वर्षपछि (सन् १९६६ मा) अन्तिमपटक तिब्बतबाट भूटान पसेको अर्को समुदायले “तँ मभन्दा कमसल नागरिक होस्, अराष्ट्रियतत्व होस्” भन्यो । हिंसात्मक अभियानमार्फत भूमिबाट बेदखल गऱ्यो । अनि हामी प्रत्यक्ष-परोक्ष उसैको चिन्तन प्रणालीलाई सिफारिश गर्नथाल्यौं । यसरी त्यहाँका शासकहरुले देशलाई हिंसाको गर्तमा डुबाउँदै नागरिकहरुलाई दासताको जञ्जीरले बाँधेर ‘राष्ट्रिय खुशीयाली’को विश्वव्यापी प्रचार गरिरहँदा त्यसैलाई अप्रत्यक्ष टेवा पुग्ने गरी अनुमोदन गर्ने खालका अवधारणाहरु भूटानको नेपाली समुदायका लागि सहायक नभएर अझ घातक हुन्छन् ।

 

अब नेपाली ‘जाति’ र भाषाको अलिकति कुरा गरौं । वास्तवमा, इतिहासको गम्भीर खोज गर्दा नेपाली जाति र संस्कृतिको एकनिष्ठ समूल केन्द्रविन्दु कतै फेला पर्दैन । भाषाको इतिहासका पनि थुप्रै चरणहरु छन् ! सिञ्जा उपत्यकामा सीमित भएसम्म यो ‘सिञ्जाली भाषा’ थियो भने खसान प्रदेशमा प्रवेश गरेपछि यो ‘खस-कुरा’ बन्यो । खसान राज्यबाट विस्तारित हुँदै पर्बत पार गरेपछि ‘पर्बते’ बन्यो अनि गोर्खाराज्यको स्थापनापछि यो भाषा पनि ‘गोर्खाभाषा’ बन्यो । गोर्खाराज्य विस्तार अभियानअन्तर्गत पृथ्वीनारायण शाहले काठमाडौंमा आधिपत्य कायम गरेपछिको करिब शताब्दिसम्म गोर्खा पहिचान प्रचलित रह्यो । धेरैपछि मात्र क्रमिक रूपमा भाषा र सामाजिक संरचनाहरु ‘नेपाली’ नाममा रूपान्तरित हुँदै गए । सन् १९३३ मा नाट्य सम्राट बालकृष्ण समले नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित नगर्दासम्म आजको साझा प्रकाशनको नाम नै ‘गोर्खा भाषा प्रकाशिनी समिति’ थियो !

 

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयमा उपलब्ध बी.पाण्डे नामक एक विद्यार्थीको शोधपत्रमा उल्लेख भए अनुसार पटना विश्वविद्यालयले नेपाली भाषालाई मान्यता दिने उद्देश्यमा ‘नेपालीमै लेखिएको एउटा पनि महाकाव्य नभेटिएको गुनासो गरेपछि’ ‘महाकाव्य भन्नलायक’ एउटा कृति लेख्न नेपाली भाषानुवाद परिषदले लक्ष्मीप्रसाद देवकोटालाई जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी पूरा गर्न देवकोटाले कालिदासको ‘अभिज्ञान शाकुन्तलम’लाई आधार बनाई तीन महिना लगाएर विसं २००२ (सन् १९४५) मा शाकुन्तल महाकाव्य लेखी प्रकाशित गराएका हुन् ।

 

अर्थात् निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली जाति र संस्कृतिको पूर्णकद निर्माण भएको धेरै लामो समय बितेको छैन । अनि यसमा कुनै एक भाषा र संस्कृति नभएर विभिन्न क्षेत्रगत परिधिका थुप्रै जात-वर्ग, लोकसंस्कृति र भाषिकाहरुको परिसीमन तथा समायोजन भएको छ ।

 

यद्यपि, यो इतिहास हो । इतिहास कुनै समस्या होइन । इतिहासप्रतिको अवधारणा हेरफेर गर्दै वर्तमान धमिल्याउने चिन्तनचाहिं समस्या हो । आजको विश्वपरिवेशले कसको पुर्खा कहाँबाट आयो वा कता गयो भन्ने कुराको इतिश्री वृत्तान्त माग्दैन । तर, जो जहाँ छ त्यहाँको विधिले तोकेको नियम मान्ने, कर तिर्ने, शान्ति र अमन-चैनले रहने कुराको माग गर्दछ । वर्तमान परिवेशमा जो जुन जुन भूगोलमा रहे पनि समाजले आपसमा सद्भावनापूर्ण हितैषी व्यवहार गर्ने र राष्ट्रले नीतिगतरूपमा त्यो सामाजिक सद्भावनालाई प्रवर्द्धनसहित रक्षा गर्ने भएमात्र सर्वकल्याणको बाटो खुल्दछ र एउटा सिंगो राष्ट्रिय अस्तित्व कायम रहन्छ ।

 

यहाँनेर भन्न खोजिएको चुँडान्त कुरो के हो भने भूगोल कुनै पनि होस्, मानिसको विशेष रूपरंग, भाषा र धर्म-संस्कृतिको आधारमा देश बन्न उहिले सम्भव थियो तर, आजको परिवेशमा त्यतिमात्र पूर्वशर्तहरु पर्याप्त छैनन् । भाषा र संस्कृतिमा आधारित राष्ट्रियताले बनाउने पहिचान र नागरिकतासहितको राष्ट्रिय चिनारीले बनाउने पहिचान अलग अलग हुन्छन्; त्यो सामान्य ज्ञान भएका मानिसले सहजै बुझ्ने कुरा हो । तर, आजको विश्वपरिवेशमा नागरिकताबिनाको राष्ट्रियता फिका हुन्छ वा त्यस्तो राष्ट्रियताको मेरुदण्ड हुँदैन भन्ने कुरा पनि उतिकै मूल्यवान छ ।

 

यति भनिरहँदा यो पंक्तिकारलाई नेपाली शब्ददेखि नै औडाहा भएको हो कि भन्ने भान पर्ला ! कुरो त्यस्तो होइन । कतिमात्रै हो भने माया र सद्भावनाबाट नेपाली बन्नका लागि भूटानीहरुले कुनै निकायको सिफारिश वा संगठनको सदस्यता लिइरहनु पर्दैन । हामीले बोल्ने भाषा, लेख्ने अक्षर र मानेको संस्कृति ‘नेपाली’ नामबाट चिनिएसम्म हामी यसकै साथमा अजम्बरी रहने छौं । कालक्रममा कुनै परिबन्दले नामै फेरियो भने पनि लिपि र भाषा त नफेरिएला ! हामीले जीवनको जगदेखि सिकेर, जानेर, पढेर-बुझेर आएको यो भाषा हामी रहेसम्म रहनेछ । नयाँ पुस्ताका एकाध केही उर्जाशील अध्येयताबाहेक जीवनको २/३ अंश बिताइसकेका हामी र हाम्रा दौंतरीहरुले अब नयाँ भाषा पढेर, सिकेर साहित्यसम्म उतार्लान भन्ने ठूलो आशा गर्न सकिँदैन । त्यसो हुनाले नेपाली भाषा र साहित्य हाम्रो जीवनको सर्वस्व सम्पत्ति हो । विगतमा कसैले हाम्रो भाषालाई ‘ह्लोत्साम्खा’ भने । कसैले ‘गोर्खा भाषा’ भने । तर, हामीले हाम्रो भाषा नेपाली हो भनिरह्यौं ।

 

यति भन्दै गर्दा यहाँनेर जटिल प्रश्न उब्जिन सक्छ-भूटानीहरु ‘नेपाली’ बन्न वा भनिन नमान्ने तर, नेपाली भाषा र संस्कृतिको कुरा पनि गरिरहने-यो दोगलापन (दोहोरो मापदण्ड) भएन र ? यद्यपि, अर्को त्यस्तै प्रतिप्रश्नले त्यो पहिलो प्रश्नको उत्तर दिन्छ–हामीले ‘सग्लो नेपाली’ नभई नेपाली भाषा र संस्कृतिको उपभोग गर्दा कुनै कर तिर्नु त पर्दैन होला निः ? कि त्यस्तो नियमन गर्ने कुनै निकाय छ भने कृपया हामी पनि सुसूचित हुन पाउँ !

 

यी माथिका तमाम विमर्शहरु नेपाली भाषालाई अर्कै नाम दिनुपर्ने तर्कमा पेश गरिएका होइनन् । यस सवालमा यहाँहरु सबै अवगत रहनुभएको अनुमान गर्दै थप एउटा कुरो प्रष्ट गराउँ- भूटानीहरुलाई यही भाषा र संस्कृतिको बहानामा तिब्बतबाट झरेको, भिक्षु आदर्शको एउटा मगन्ते वंशले दर्जनौं शताब्दिपछि आफ्नो थातबासबाट कसरी बेदखल गऱ्यो-यसमा नेपाल भन्ने देशका अभिलेखालय, पूरातत्व विभागहरु, न्यायिक तथा कुटनीतिक निकायहरु किन चुप भए? भन्ने सवाल ठूलो कुरो हो । नेपाल सरकार किन उदासीन भयो-राजनीतिक नेताहरु किन यही मुद्दा भँजाएर सातपुस्ता पाल्ने भ्रष्टाचारमा मुछिए भन्ने सरोकारको प्रश्न विषयको मूल केन्द्रविन्दु हो ।

 

भूटानी शरणार्थीको मुद्दालाई गिजोलेर ऐतिहासिक त्रुटी गरिरहने कार्यले नेपाल र नेपालीको गौरवगाथा बढाउँदैछ कि घटाउँदैछ-भन्ने मूल प्रश्न हो ? अनि आफ्ना सारा इमान-जमान कवाडीको भाउमा बेचेर हामीले ‘सग्ला नेपाली’ हुनुमा गर्वबोध गर्ने केही आधार छ ? झिना-मसिना खुत्रुके विषयहरु आउँछन्-जान्छन् तर, नेपाली हुनुको शाख बँचाउने-सर्वव्यापी विश्वसनीयतालाई स्थिर राख्ने सवाल यस्ता बहसहरुको मूल विषय बन्नुपर्दछ ।

 

यदि यो निश्चित समुदायको विद्यमान मुद्दालाई किनारा लगाएर नेपालीहरु पनि विश्वदृष्टिकोण निर्माणका लागि योग्य भएको नमूना पेश गर्ने ल्याकत नेपालका विद्वानवर्गमा छ भने सबै जुटेर त्यही बाटोमा लागौं र नीतिगत तहमै नेपाल-भित्र-बाहिरका सारा नेपालीभाषीले नेपालको औपचारिक सम्बोधनमा समाहित हुन पाउन् । अनि त्यस्तो विधि शताब्दिऔंसम्म कायम रहोस् । हैन भने भाषा र सांस्कृतिक एकरूपताको हवाला दिएर, अनुहार हेर्दा देखिने आवरणको बयान गरेर यस विषयको चर्चा टुंगोमा पुग्दैन, पुग्न सम्भवै छैन ।

 

 

भाषा र राज्य-राष्ट्र

——————–

 

कसैले भन्नसक्छ भाषा र संस्कृतिको आधारमा भारत-पाकिस्तान छुट्टिए । अझ पाकिस्तान र बंगलादेश पनि छुट्टिए । अझ पछि मिजोरमको पृथकतावादी विद्रोह भयो । मिजो भाषाको आधारमा सन् १९५४ मा वृहत् आसामबाट यो क्षेत्र जिल्लाको रूपमा छुट्टियो । त्यसपछि सन् १९७२ केन्द्रशासित प्रदेश हुँदै सन् १९८७ मा छुट्टै राज्यको रूपमा स्थापित भयो । उता कश्मीरविवाद पनि त्यही उर्दू भाषा र इस्लामिक संस्कृतिको आधारमा कायम रहेको छ । तर, यहाँनेर गम्भीर भएर विचार पुऱ्याउन आवश्यक अर्को कुरो के छ भने एउटै लवाइ, खुवाइ र धार्मिक विश्वास भएका पाकिस्तान र बंगलादेश कसरी छुट्टिए? तिब्बतसित एउटै जगमा उभिएको प्राचीन इतिहास, उस्तै किसिमका सांस्कृतिक पूर्वाधार भएको सिक्किम तिब्बत छोडेर के आधारमा भारतसित जोडियो ? धार्मिक परम्परा, भाषा र राजनीतिक-सामाजिक समन्वयसमेत कायम रहेको तिब्बत र भूटान कसरी अलग राष्ट्र   भए ? राष्ट्र वा देशको पारिभाषिक निर्क्यौल गर्न यस्ता अनेकौं प्रश्नहरुमा पनि घोत्लिनु जरुरी छ ।

 

आज भाषा, धर्म-संस्कृति र हेर्दा देखिने नश्लीय आवरणको आधारमा तपाइँहरु ‘भूटानका नेपाली’ हरुलाई ‘सग्ला नेपाली’ बनेका देख्न चाहनुहुन्छ ! अघि माथि नै भनियो-त्यो तपाइँहरुको माया र सद्भाव-करुणाको भाषा हो । तर, सम्बन्धित देशको संविधान र कानूनमार्फत सम्बोधन गरी त्यसको व्याख्याले पुष्टि नगरेसम्म माया र सद्भावका कुरा तपसीलका गौण विषय हुन् । आज हामीलाई बेलायत, अमेरिका, केनाडा, अष्ट्रेलियाले उनीहरुका रैथानेजस्तै देखिने, भाषा र संस्कृति मिल्ने भएर नागरिकता दिएका होइनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ ?

 

नजरले देख्ने नश्लीय आवरणको प्रसंग पनि सहज छैन-पहिले नै नेपालीपन र मन बनाएर हेर्नेहरुले मात्र हामीलाई ‘नेपाली’ देख्ने हुन् । नेपालीपन नभएका मनहरुले हेरेर हामीलाई ‘मेक्सिकन’, ‘इराकी’, ‘सिरियन’, ‘स्पेनिस’, ‘जर्मन’, ‘कुर्द’ आदि जे पनि देख्नसक्छन् । भाषा-संस्कृतिमा आधारित सद्भाव र मायाकै भरमा तपाइँहरु हामीलाई ‘नेपाली’ मात्र भएका हेर्न चाहनुहुन्छ भने तपाइँहरुको दृष्टिकोणले नेपाल बाहिर विभिन्न देशमा रहेका दुइ करोड बढी नेपालीभाषीलाई पनि स्वागत गर्नुपर्ने हुन्छ ।

 

त्योभन्दा अधिक मनाङ-मुस्ताङतिर तिब्बती मूलका लामदोर्जी, निमा छिरिङ र ग्यामदोर्जीहरु, मीथिला साम्राज्यका रामबरण यादव, उपेन्द्र यादव, राजेन्द्र महतोदेखि महेन्द्रनारायण निधि, प्रभू शाह, …कुसवाहा सबैलाई ‘अनेपाली’ साबित गर्नुपर्ने हुनसक्छ ! के त्यो सम्भव छ ? भारतमा हुने नेपालीहरुलाई तपाइँहरु ‘भारतीय नेपाली’ भन्नुहुन्छ, बर्मामा हुनेलाई ‘बर्मेली’ ! उसै गरी भूटान (भोटाङ पनि भनिन्छ-यसको छुट्टै ऐतिहासिक प्रसंग छ) मा हुनेलाई ‘भूटानी’ वा ‘भोटाङे नेपाली’ भन्न तपाइँहरुलाई के अप्ठ्यारो छ ? कि तपाइँहरु अमेरिका, अष्ट्रेलियातिर हुनेहरुलाई मात्र हेरेर ‘नेपाली’ बनाउने कुरा गर्दैहुनुहुन्छ ? यसो गरिएमा पछि गएर यो विषय पनि एउटा नयाँ ठगी धन्दाको रूपमा सार्वजनिक हुन सक्छ !

 

कुनै पनि विषयमा प्रश्न उठिसकेपछि सहज निकास दिन माया र मैत्रित्वको निकटताले, पारिवारिक सद्भावनाले पुग्दैन; त्यस विषयमा लक्षित नीति र कानून अनिवार्य हुन्छ भन्ने कुरो त अहिलेसम्मको चर्चामा बारम्बार उठिसक्यो । यसैलाई थप पुष्टि गर्न अलिकति पुरानो कुराको स्मरण गरौं ।

 

केही वर्ष अमेरिका बसेर नेपाल फिर्ता गएका रवि लामिछाने भन्ने एकजना व्यक्ति नेपालका लागि कुनै परचक्री थिएनन् । नागरिकता र राष्ट्रियताको सवालमा उनीमाथि के के भए- यहाँहरुले देख्नु-सुन्नु भएको छ । शायद यहाँहरुलाई यो पनि स्मरण छः नागरिकताले नेपाली हुने सवालमा लामिछाने ट्रेडमार्क बन्नभन्दा केहीवर्ष पहिले नै लालबाबू पण्डित नामका एकजना मन्त्रीले विदेशी पीआर लिएका कर्मचारी र नेताहरुको उछित्तो काडेका थिए । त्यस्तो किन भएको हो भने नेपालमा सो सम्भावित विषयउपर स्थापित कानून र न्यायिक संहिताहरु थिएनन् ।

 

निश्चित विधि र कानूनको पूर्वाधार नबनेसम्म भविष्यमा जति शासकहरु फेरिँदै जान्छन्, यस्ता विषयउपरका नजीरहरु पनि फेरिँदैन जानेछन् । कोही वर्षेनी काठमाडौं पुगेर प्रचण्ड दाहाल, पौडेललगायका नेपाली राजनीतिक नेताहरुलाई बगलमा उभ्याई ट्यास्स फोटो खिचाउँदा यदि नेपालीपन बढी झल्किने भए, नेपाललाई धेरै माया गरेको अर्थ लाग्ने भए, यदि उनीहरुले त्यतिकै भरमा कसैलाई विश्वनेपाली सद्भावना दूत नियुक्त गरिदिने भए त्यो काम त जोकसैले सहजै गर्न सक्छ । तर, त्यतिले विस्थापित समुदायको इतिहासमाथि न्यायिक सम्बोधन हुँदैन, उनीहरुको पहिचानमाथिको प्रश्नले सधैं औंला ठड्याइरहन्छ ! त्यसकारण महँगो होटलमा भोज खाएर, ठूलो क्यामेराले तस्वीर खिचाएर यस्ता दीर्घम्यादी मुद्दाहरुको सम्बोधन हुँदैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । यी तमाम काम गर्नलाई जगबाट, आधारभूत तहबाट परामर्श, छलफल र बहसहरु हुन जरुरी छ; जुन काम आज यो बहसमार्फत शुरु गरिएको छ-यसलाई त्यस दिशाको थालनी मान्न सकिन्छ ।

 

अतः अब उसो सबैले खुम्चिएको मुटुलाई फराकिलो गराई विशाल हृदय बनाइदिउँ । मात्र ‘नेपाली’ र ‘भूटानी नेपाली’ भएर साझा हितका कुनै पनि योजनाहरु, नीतिसंकायका विषयमा यदि भइपरि आएका वाधा छन् भने ती सबै फुकाइदिउँ । बुझ्नुपर्ने कुरा कतिमात्र हो भने तपाइँहरुले आफ्नो आञ्चलिकता वा सामिप्यता अनुभूत गर्नलाई पोखरेली र स्याङ्जाली भनेजस्तो, धराने र धनकुटे भनेजस्तो, भोजपुरे र पाँचथरे अथवा झापाली र इलामेली भनेजस्तै हामीलाई पनि नेपाली शब्दका अगाडि सधैं ‘भूटानी’ उपसर्ग लगाइरहन छोड्दिनुहोस् । हाम्रो सामाजिक चलनमा दाजु र भाइ अंशबण्डा गरेपछि दाजु डाँडाघरे, भाइ गैह्राघरे भएको कुरा सबैले बुझ्दछन् । हाम्रो सांस्कृतिक पहिचानलाई पनि त्यस्तै अल्प-आञ्चलिकताको रूपमा लिइए कुनै असमञ्जस रहने छैन । हामीबीच अझ बढी सौहार्द्रता, सामिप्यता विकसित हुनसक्छ ।

 

तपाइँहरुलाई नेपाली भइरहन जति सजिलो छ हामीलाई एकै साथ भूटानी र नेपाली बनिरहन त्यति सहज छैन-धेरै गाह्रो छ । तर, जति गाह्रो छ त्यो सम्बोधन त्यतिकै प्यारो पनि छ । हामीलाई इतिहास सुरक्षित राख्नका लागि ‘भूटान’ शब्द जोडिएको यो पहिचान चाहिएको हो । यसले हाम्रा सम्भावित वृहत् सहकार्यहरुमा कुनै पनि वाधा-अडचन सृजना गर्नेवाला छैन । खाँचो कति भने-केवल विवेकको उपयुक्त प्रयोग हुनुपऱ्यो । विवेक र समझ्दारीपूर्ण समन्वय नभएको खण्डमा जतिसुकै मिलेर एउटै भवनमा, एउटै कोठामा बस्नेहरु बीच पनि ठूल्ठूला मतभेदहरु हुन्छन्, वैमनस्यता र कलह भइरहन्छन् ।

 

नयाँ देश (हरु) मा नागरिकता र कानुनी सुरक्षाका प्रावधानहरुले हामीलाई एक बनाउँदै लगेकै छन् । साझा पहिचान क्रमिक रूपमा विकसित हुँदैछ । अब बाँकी भनेको आ-आफ्ना इतिहास सुरक्षित गर्दै पुरानो नागरिकताले तय गरेको पहिचान र कानूनी सुरक्षाको अमूर्त घेराभन्दा हल्का बाहिर निस्किएर भावनात्मक एकरूपता गर्नुपर्ने काम मात्र हो । हामीबीचमा यसै पनि साझेदारी भइरहेकै छन् । विभिन्न आयामबाट साहित्यिक गतिविधिमा सहकार्य गरिरहेकै छौं । यसमा अलि बढी रफ्तार दिन आवश्यक देखिन्छ ।

 

अमेरिकाबाट नेपाल पुगेर युवा-युवतीले विवाह बन्धन कायम गर्ने सिलसिला चलिरहेकै छ । हरेक भूकम्प, बाढीदेखि धुर्मुस-सुन्तोली फाउण्डेशन, इन्द्रेणी फाउण्डेशनसम्म हाम्रो समुदायको निकटता छँदैछ । अझै कतै काहीँ रहल संकीर्ण चिन्तन, अवसरहरुमा खोसाखोस वा इर्ष्या-डाह बाँकी छ भने तिनलाई पनि जरैबाट उखेलेर फाल्नु जरुरी छ । फरक पहिचान र विभिन्न वैचारिकीमा एकता कायम गराउन नसकिने होइन । तर, त्यसो गर्न सबैलाई मुछेर एक जाति, एक परम्परा, एकात्मक परिचय नै बनाउनुपर्छ भन्ने ढिप्पी गर्दै त्यसैको आडमा सामाजिक पहिचान स्थापना गर्न खोजियो भनेचाहिं हाम्रो चिन्तनमा पनि भूटानको राजशाहीले हामीलाई लखेट्न प्रयोग गर्दाको ‘एक राष्ट्र-एक प्रजा’ नीतिभन्दा फरकपन रहने छैन ।

 

म यसै मञ्चबाट आह्वान गर्दछु, आउनुसः तपाइँ कोशी, कर्णाली र सगरमाथा जोडिएको सग्लो नेपाली बनेर आउनुस्, हामी सुनकोश, मानस र ज्होमोह्लारी जोडिएको अर्धनेपाली भएर आउने छौं । तर हाम्रो संगमचाहिं आ-आफ्नो इतिहास जोडिएको भुगोलबाट टाढा कतै विरानो मुलुकमा एउटा सिंगो भाषा र सग्लो संस्कृतिमा, साझा सामाजिक परम्परा र हितकारी चालचलनमा पुगेर स्थापित हुनेछ । विभिन्नताभित्रको एकतामार्फत यति गर्न सकियो भने यो व्यवहार विश्वलाई शान्ति र सभ्यता सिकाउने एउटा नमूना पनि साबित हुनेछ ।

 

 

एनआरएनको भूमिका

————————

 

एनआरएन-जस्ता संस्थाहरुले माथि उल्लेख भएका गम्भीर विषयका मुद्दाहरुको स्थायी किनारा लगाउनु जरुरी छ । यो संस्थाको अहिलेसम्मको विधानले दक्षिण एशियाली सार्कसंगठनभित्र समाहित सात मुलुकमा रहेका नेपालीहरुलाई समावेश गरेको छैन । अझ त्यसमाथि संस्थाको सदस्य बन्नका लागि बाजे-नाति तीनपुस्ते नागरिकता मागिरहेको छ । संस्थाको नाम नै ‘गैर आवासीय…” छ जसको तात्पर्य नेपालमा आवास नभएको अथवा आवास अन्तै भएको नेपाली नागरिक भन्ने अर्थ लाग्दछ । जुन परिभाषामा भूटानीहरु अँट्तैनन् ।

 

अहिलेसम्मको अवस्थामा एनआरएन भनेको नेपाल सरकारको विदेशविभागीय प्रमुख पदेन नेतृत्व रहनेगरी सञ्चालित औपचारिक सरकारी संस्था हो । तर, लज्जाजनक कुरोः यो संस्था आफैंमा एकनिष्ठ नेतृत्वमा सञ्चालित छैन । दीर्घकालीन योजनाहरु बनाएर तिनलाई कार्यगत रूप दिनुपर्ने समयमा विवाद र असमझ्दारी बोकेर हरेक चुनावमा २/३ जना अध्यक्ष्य बन्ने अनि बाझो-जुझो गर्दै भएका योजनाहरु पनि तुहिरहेको स्थिति छ । यता तपाइँहरु त्यही संस्थाअन्तर्गत भूटानीहरुलाई ‘नेपाली’ बनाउने कुरा गर्दैहुनुहुन्छ उता तपाइँहरुका आदर्श राजनीतिक मसिहाहरु ‘नेपाली’ लाई भूटानी बनाएर जहाज चढाउने ध्याउन्नमा छन् ।

 

निष्कर्ष

——–

 

माथिका यी तमाम चर्चाबाट तपाइँहरुमा भूटानको पृष्ठभूमिबाट आएका नेपालीभाषीहरुप्रति यथेष्ट बुझाइ स्थापित भयो भन्ने आशा गर्दछु । उनीहरुले ‘नेपाली’ शब्दप्रति नै घृणा गर्दारहेछन् भन्ने अर्थ नलगाइदिनुहोला ! ‘नेपाली’ शब्ददेखि नेपालीपन, नेपालीमनप्रति असाध्य ठूलो प्रेमभाव, लगाव बोकेको समुदाय हो भूटानको नेपाली   समुदाय । गाँठी कुरो के भने ‘नेपाली’ सम्बोधनको उदगार कसैको नाफा-नोक्सानको हिसाबमा हुने लोलोपोतो नभएर मर्मशील हृदयको उदगार बनोस् भन्ने चाहना  हो । भविष्यमा नेपालको कुनै निकायमार्फत विश्वासयोग्य पहलमा विश्वभरिका गैर-नागरिक नेपालीहरुलाई सम्बोधन गर्ने कुनै ठोस नीति बनेछ भने त्यो दिन विस्तारमा छलफल गरौंला ।

 

अहिलेको स्थितिमा एनआरएनको सदस्यता र संलग्नताको चर्चा गर्नु व्यर्थ छ । यसको सट्टा तपाइँहरु नेपालबाहिर अन्य देशमा रहने नेपालीहरूप्रति कुन दृष्टिकोण राखेर, , कस्तो नीति लिएर उनीहरुले नेपाली भाषा-साहित्यलाई विश्वस्तरमा फैलाउन पुऱ्याएको योगदान, कायम राखेको नेपालीपनको शाख, नेपाली गाथा र कीर्तिको सम्मान गर्न सकिन्छ भनेर नेपालको सरकारलाई घच्घचाउनुहोस् । नेपाल बाहिर रहेका नेपालीभाषीहरुलाई जहाँ जहाँ छन् तत् तत् देशमै स्थापित हुने नीतिनिर्माणका लागि ताकेता गर्नुहोस् । ठोस कुटनीतिक चातुर्य र उन्नतशील रणनीतिका दीर्घकालीन योजना तर्जुमा गराउनुहोस् । बरु नेपाल र नेपालबाहिर रहने सबै नेपालीभाषीले आफूलाई परेको पीरमर्का पोखाउने विश्वस्तरीय एउटा निकाय होस्, भरोसायोग्य नेतृत्वको संस्था बनोस् ।

 

यदि त्यस्तो सम्भावनातर्फ आधारभूत तहको छलफलबाटै शुरुवात गरिएछ भने उचित योगदानका लागि तत्पर धेरै विद्वानहरु फेला पर्ने नै छन् । तर, पद र नेतागिरीको रहरमा संगठन बनाउने, यार्सागुम्बा खोजेझैं समर्थक खोजेर चुनाव जित्ने मनोवृत्तिहरुबाट समाजलाई जोगाउनु पनि हामी सबैको दायित्व हो । समाजलाई व्यापारिक नाफाको उद्देश्यमा परिलक्षित नभएर सामूहिक भविष्यमुखी सच्चा दूरदर्शितामा अघि बढ्ने रणनीति र नेतृत्वनिर्माणतर्फ लाग्नु आजको आवश्यकता हो । यसो भन्दै गर्दा संस्थामा आबद्ध भएकाहरुले आर्थिक सरोकारमा सोच्नै हुँदैन भन्ने कदापि होइन । तर, संस्थाकै विभागीय स्वरूपमा विभिन्न आर्थिक संकायहरु सञ्चालन गर्ने नीति बन्नु श्रेयस्कर हुन्छ ताकि एउटा कार्यक्रम आयोजना गर्नेबेला हरेकचोटि संस्थाका सदस्यहरु कटौरा थापेर सडकमा हिँड्न नपरोस् । यस्ता अस्थायी चिन्तनका योजनाले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने सपना मृगमरीचिका सरह हुन्छ ।

 

नेपालभित्र बाहिर सबैतिरका विद्वतवर्गले व्यक्तिगत, गुटगत नाफा-नोक्सान छोडेर ठोस कुटनीतिक योजनामार्फत राष्ट्रिय- अन्तरार्ष्ट्रिय साझा हितमा काम गर्ने दिशा तय गर्नु जरुरी छ । हदैसम्मको लचकता अपनाएर त्यस दिशाको सहकार्यमा हामी हातेमालो गर्नेछौं भन्ने प्रतिबद्धता साथ यो वक्तव्यलाई समापन गर्दछु ।

 

सन्दर्भसहायक स्रोतहरु

  • Kuensel -Guru Rinpoche’s time in Bhutan, June 16th, 2016
  • Rahul, Ram- Modern Bhutan-P 102

Leave a Reply

Your email address will not be published. Required fields are marked *