काला बादलहरु

कवि
कवि

हरि पराजुली,
झापा, नेपाल

खुल्ला आकाशमाथि
सेता बादलहरु
छरिएका थिए
यत्रतत्र सर्बत्र …

स्वतन्त्र भएर उड़्थे चराहरुझैँ
ती सेता परेवा झैँ बादलहरु
कहिले कञ्चनजंघा त कहिले
सगरमाथा चुमेर
सूर्यका प्रभात किरणमा
फाटेर टुक्रा -टुक्रा
हिराका टुक्रा झैँ,

कति शान्ति थिए ती दिनहरु,
त्राश थिएन कतै
कैद थिएनन् बादलहरु,
न त थिए
खित्का छोडी रहेका
निर्जीव सैतानहरु
अनि,
कर्फ्यू र आतंकित संकटकालहरु…

समय बदलियो
बुद्ध युद्धमा परिमार्जित भयो
बिकृति आकासिएर
डङ्गुर झैँ
वर्तमान चेपिएर शक्तिहीन बन्दै
लुलो-कुँजो र अपांग बनेर
टोलाइरहेको थियो मौन अस्थी पञ्जर ।

समय पशु बनेर
चारखुट्टा टेकेपछि
बादलहरुबीच
खै,
कुन्नि कुन कुरामा हो ,
मनमुटाव भयो,
कुस्ताकुस्ती चल्यो
हानाहान चल्यो,
रिसका आवेगहरु
सम्हाल्न नसकेर
ढुर्मुरिँदा मुर्मुरिँदै,
अचानक !
बिलिन भए ति सेता बादलहरु
सौर्य मण्डलमा भूकम्प गयो,
आँधी आयो, ज्वालामुखी दन्क्यो,
र जन्म भयो,
काला बादलहरुको,
असाध्यै काला,
पूर्ण काला
निर्जीव अहंकारका अँगारहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *