काव्य
मनोज बोगटी
दार्जीलिङ्ग, भारत
मकैको बीऊ फुटेको जस्तो
फुट्छ कविता
निधारमा पसिना उम्रेपछि
माटोमा रगत दौड़िन्छ।
अङ्कुर जस्तो जीवनले टेक्छ
ज्ञानको भुँइ।
संसार
हरियो र हावाले एकसाथ छोएर
जब त्यो जीवनलाई व्यूँझाउँछ
अनुभूति जस्तो व्यक्त हुन्छ सिर्जना।
विस्तारै सिक्छ त्यसले हुरीसित लड्नु
झरीसित जुझ्नु
आफ्नो पाइलाले आफ्नो भुँईमा उभिनु।
यो निरन्तर सङ्घर्ष
कति ठूलो काव्य हुन्छ
पढ़ियो भने।