किचलोमाथि मान्छे

डमर घिमिरे / अस्ट्रेलिया

खुल्ला आकाशमा कावा खाँदै फर्किएर
आत्मा सँगै मिल्न आउँछ मान्छे,
दुनियाँको दौडधुपमा
पराजयको तितो अनुभूति
निराशाको आँचल ओडेर
स्वाभिमानको लाज राख्छ मान्छे
पाइला-पाइला खिन्नताको श्वास लिँदै
आन्तरिक ज्वरभाटा सँगै
द्वन्द्व गर्दै छताछुल्ल पोखिन्छ मान्छे,
स्वछन्द, बिस्मृतिका छालहरुले
छाँद हालेपछि किमकर्तव्यबिमुड भई मूर्तितुल्य हुन्छ मान्छे।
कहाँ, कसलाई, कसले कहिलेजस्ता
सस्ता प्रश्नहरुको थुप्रो माथि
उभिएर आफ्नै परिचय खोज्छ मान्छे
मनको संघार काटेपछी
आत्मविश्वासको जंगार तर्न खोज्छ मान्छे।
जति गरे नि हात लागे शून्य भएपछि
गगन चुम्ने निराशाको ताँदो तानेर
ट्वालट्वाल्ती तारा हेर्न बाध्य छ मान्छे।
आँखा चिम्लिएर भ्रमको जालो तुन्दै
आफैं सँगै आफ्नो विचारमाथि बज्र परेझैं
तन्द्रा मुक्त भएको आभाष गर्छ मान्छे,
कोलाहलबीच ठक्कर खाँदै
मेटाउँदैछ रेखा आत्मविश्वासको
किचलो माथिको द्रिष्टान्त बनिँदो छ मान्छे।

One Reply to “किचलोमाथि मान्छे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *