किन ‘इशाई’ बने मलयाली ‘हिन्दू’हरु  

भक्त घिमिरे
पेन्सिलभेनिया, अमेरिका

‘हिन्दू’ शब्द आउने बित्तिकै विश्वभरिका मान्छेहरुले आफ्नो दिमागमा पहिले वर्तमान भारतको भूगोललाई चित्रित गर्दछन् ।  त्यही हिन्दू भारतमा आजभन्दा करीब दुइसय वर्ष अघिको हिन्दू समाज कस्तो थियो भनेर जान्नु शायद सबैका लागि श्रेयस्कर नै हुनेछ । वर्तमान भारतका जम्मा २९ वटा राज्यमध्ये दक्षिणको एउटा राज्य, केरला जहाँ अन्य सबै राज्यको तुलनामा अधिकतम इशाई नागरिकहरु छन् । त्यस्तो किन भयो होला ? यस तथ्यका पछाडि एउटा तीतो घटनाशृंखला छ ।

यदि दक्षिण भारतमा कसैले पढ्ने अवसर पाउनुभएको छ भने नंगेलीको नाम सुन्नुभएको होला । केरलाकी एउटी हिम्मतवाली हिन्दू नारी जसले ‘स्तन कर’ को विरुद्धमा आफ्नै स्तन काटेर केराको पातमाथि राखी सरकारी अधिकारीलाई बुझाएकी थिइन् । दक्षिण भारतमा नारीहरुलाई स्तनको कर तिराउने यो क्रूर-प्रथाविरुद्ध आवाज उठाउने नंगेलीमात्र थिइनन् । सयौं कथित तल्लो जातिका भनिने हिन्दू नारीहरुले यस प्रथाको विरुद्धमा लडेका थिए । आफ्नो शरीरलाई कपडाले ढाक्न पाउने अधिकारको लागि लड्दा लड्दै कैयौंले आफ्नो ज्यानसमेत गुमाए । उनीहरुको यो सामूहिक संघर्षको नाम थियो-‘चन्नार क्रान्ति’ अथवा ‘मरु मक्कल समारम’ !

उन्नाइसौं शताब्दिको शुरुतिरकै कुरा हो यो । त्यसताका भारत आर्थिक तथा राजनीतिक रूपमा ब्रिटिशद्वारा शासित भए पनि सांस्कृतिक/धार्मिक रूपमा हिन्दू र इस्लामिक नियमहरुबाट चलेको थियो । इस्लामिकहरु शरीयत कानून चलाउँथे अनि हिन्दूहरुचाहिं विभिन्न राजाले बनाएका नियमबाट चल्थे । त्यसबेलाका राजाको हुकूम अनुसार  दक्षिण भारतको त्रावणकोर राज्य जसलाई आज केरला भनिन्छ-मा ‘अछूत जाति’ का नारीहरुलाई आफ्नो स्तन ढाक्ने अधिकार थिएन । नांगो छातीलाई दासीहरुद्वारा मालिकहरुलाई दिइने ‘सेवास्वागत’को विम्बका रूपमा लिइन्थ्यो । त्यहाँ कथित ‘अछूत’ पुरुषहरुलाई पनि कपडा पहिरन मनाही थियो भने नारीहरुलाई शरीरको माथिल्लो भाग कपडाले छोप्न दिइन्न’थ्यो ! यतिसम्म कि उच्च-जातिका भनिने नारीहरुलाई पनि अन्यत्र जाँदा कपडा लगाउने छूट थियो तर, लोग्नेका सामु त्यस्तो छूट थिएन । यद्यपि, उच्च-जातिकाहरुले स्तनको कर तिर्नु पर्दैन’थ्यो । तल्लो जातिका भनिने हिन्दू नारीहरुले चाहिं किशोरीको स्तन फक्रिन थालेदेखि नै तिनका परिवार (अभिभावक)-ले आफ्नो वार्षिक आयको ठूलो हिस्सा ‘स्तन कर’ रुपमा दरबारलाई बुझाउनु पर्दथ्यो ।

सन् १८१३ मा स्तन कर प्रणालीको विरोध शुरु भयो । त्रावणकोरमा रहने कथित अछूत वर्गमा त्यसबेला मुख्य दुइवटा जाति थिए जसमा अहिलेका ‘एरावा’ र ‘पन्नयेरी नाडर’हरु पर्दछन् ! यिनीहरुलाई आज पनि उत्तर-भारततिर राबा र उराउँ भनेर चिनिन्छ । यी दुवै जातिका नारीहरु आफूलाई ‘कुप्पायम’ पहिरिन पाउनुपर्ने नारा लिएर सडकमा ओर्लिए । कुप्पायम भनेको एउटा बनियान (पानी गञ्जी) जस्तो पातलो भुवादार लबेदा हुन्थ्यो जो त्यसबेला इशाई र मुसलमान नारीहरुले मात्र लगाउन पाउँथे । त्यसपछि कुप्पायममात्र नभएर क्रमशः उच्च जातका हिन्दू नारीहरुले लगाउने सबै कपडा अछूतहरुले पनि लाउन पाउनुपर्ने माग उठ्न थाल्यो ।

यस्तो माग राखेर संघर्ष गर्दागर्दै पाँचवर्ष बिते । सन् १८१९ मा त्रोवणकोरका महाराजा, तिरुनल रामबर्माले एउटा फरमान जारी गर्दै भने,“दलित आइमाईहरुलाई कुनै हालतमा कपडा पहिरिने अधिकार दिइने छैन ! राज्यमा घोर अनिष्ट ल्याउन हामी चाहँदैनौं ।”  महाराजाको यो आदेशपछि समाजमा धेरै निराशा छायो । तर, संघर्षशील नारीहरुले हिम्मत हारेनन् । विरोध जारी राखे । त्यही संघर्षको नतिजास्वरूप सन् १८२० मा, त्रावणकोर दरबारमा कार्यरत ब्रिटिश देवान (राजकीय अधिकारी), कर्णेल जोहन मुनरोले ती सबै ‘अछूत’ नारीहरुलाई कपडा पहिरिने आदेश दिए । उनको यो आदेशपछि जोहन मुनरोप्रति कृतार्थ बनेर ती विद्रोही नारीहरुले इशाई मत अपनाएको विवरण आधुनिक केरला राज्यस्थापनाको इतिहासमा समेटिएको छ ।

कर्णेल जोहनको त्यो आदेशले तत्कालीन त्रावणकोरी राजसभामा खलबली मच्चाइदियो । उच्च जातिका सभासदहरुले कर्णेल जोहनको निन्दा गर्दै भने,“दलित नारीहरुले कपडा लगाउन थाले भने उच्च-जातिसित कुनै भिन्नता नै रहेन; यो समाजका लागि हानिकारक निर्णय हो !” सभासदहरुको कडा विरोधपछि कर्णेल जोहनको आदेश राजसभाबाट खारेज गराइयो अनि विरोधमा लागेका नारीहरुको निर्मम शारीरिक, आर्थिक, मानसिक शोषण गर्ने प्रक्रिया हिन्दू सामाजिक अभियानकै रूपमा चलाइयो । बरु सतीप्रथा यो अभियानभन्दा केही हदसम्म नरम रहेको तत्कालीन इतिहासका कैयौं नारी वक्ताहरुको कथन छ ।

यसरी कथित रूपमा उच्च र निच भनिने हिन्दूहरुबीच आपसी द्वन्द र हिंसा बढ्न थालेपछि कर्णेल जोहनले सन् १८२२ मा फेरि दलित नारीहरुले कपडा लगाउन पाउने आदेश पुनः जारी गरिदिए । यसपटक भने कथित उच्चहरुले विरोधका वाब्जुद पनि यो आदेश खारेज गराउन सकेनन् । हजारौं हिन्दू नारीहरु कपडा लगाउने अधिकारकै लागि रातारात इशाई बन्नथाले । इशाई बनेर उनीहरुले उच्च-जातिसरह नभए पनि ‘कुप्पायम’को नाममा थोरै कपडा त लाउन पाए तर,  उच्च-जातिका पुरुषबाट हुने शारीरिक तथा मानसिक यातनाको क्रम भने जारी नै रह्यो ।

यसरी नै सन् १८२९ तिर आइपुग्दा पहिले इशाई बनेका नारीहरुका साथमा लाखौं हिन्दू दलित नारीहरुले पनि विरोध अभियान चलाउन थाले । दलित हिन्दू नारीहरु कपडाले आफ्नो स्तन ढाकेर मन्दिर जानथाले अनि कथित उच्चजातिबाट हुने शारीरिक आक्रमणको मुड्के जवाफ पनि दिनथाले । सवर्ण उच्च जातिकाहरुले यो विरोध र विप्लवी संघर्षका लागि इशाई मिशनरीलाई दोषी ठहऱ्याउन थाले । सवर्णहरु भन्थे,“यो हिन्दूमा इशाईकरण गरी हिन्दू समाजलाई बर्बाद गराउने मिशनरी षड्यन्त्र हो ।” कठोर विरोधका वाब्जुद सवर्णहरुले विद्रोहलाई दबाउने अभियान जारी राखे भने विरोधको अभियान पनि थामिएन । बरु जति दमन बढ्यो उति नै विरोध पनि बढ्दै गयो ।

यो क्रमले सन् १८५८ मा आएर हद् पार गऱ्यो । उच्च जातिका पुरुषहरुले हातमा भाला लिएर बीच सडकमा नारीहरुको पहिरन ‘कुप्पायाम’ च्यात्तै फुकाल्दिन थाले । एकजना सरकारी कर्मचारीले दुइजना नारीका कपडा आफ्नै हातले त्यातेर फालिदिए अनि ती दुवै नारीलाई रुखमा लगेर झुण्डाइदिए । यस काण्डले दलितहरुको धैर्य पनि डग्मगायो र सोही अनुरुपको जवाफ उनीहरुले पनि दिए । उच्च जातिकाहरुमाथि सडकमा हमला शुरु भयो । गाउँ गाउँ आग्जनी हुन थाल्यो । तत्कालीन राजकीय सरकार देखेको नदेखेझैं गरिरहन्थ्यो । जतासुकै मारामार हुनथालेपछि मद्राशस्थित कम्पनी सरकारका राज्यपालले त्रावणकोरका राजालाई पत्र लेखेर तत्कालन हिंसा रोक्न आदेश जारी गरे ।

सर्वत्रको दवाबमा परेपछि त्रावणकोरका राजाले सबै हिन्दू अछूत नारीहरुलाई आफ्नो स्तन ढाक्न पाउने अधिकार बहाल भएको घोषणा गरिदिए । यसरी २६ अप्रिल १८५९ मा भएको राजाज्ञापछि मात्र सबै हिन्दू नारीहरुले कपडाले आफ्नो स्तन ढाक्ने पूर्ण अधिकार पाएका हुन् । तथापि, यो नारीको सम्पूर्ण शरीर ढाक्ने कपडा थिएन । उनीहरुलाई उच्च जातिका नारीसरह कपडा लगाउने हक त प्रथम विश्वयुद्धमा नारीहरुको पारंगत युद्धकला देखेपछि सन् १९१६ मा मात्र प्रदान गरिएको हो ।

आफ्नै शरीरलाई कपडाले ढाक्ने अधिकार लिन हिन्दू नारीहरुलाई सयवर्षभन्दा बढी संघर्ष गर्नुपऱ्यो भने इतिहासमा उनीहरुको यो संघर्षले जुन मान्यता पाउनुपर्ने हो; त्यो अझै पनि पाउन सकेन । धेरै हिन्दूहरुले आफ्ना पूर्वजद्वारा गरिएका यस्ता अन्यायपूर्ण काण्डबारे जान्ने अवसर पनि पाएका छैनन् । स्कूली पाठ्यक्रममा समावेश यो इतिहासका केही घटनाहरुलाई पनि भारतको राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदले सन् २०१६ मा आएर पूर्णरुपले खारेज गरिदिएको छ ! मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकारको सवालमा खान र वास बस्नमात्र भएर पुग्दैन । सर्वपक्षीय न्याय बहाल हुनु जरुरी छ । सम्मानित इतिहासको पनि अपेक्षा रहन्छ ।

चन्नार क्रान्ति जस्तो ऐतिहासिक घटनालाई ओझेलमा राखिनु हुँदैन । कसैले पनि भुल्नु हुँदैन कि हाम्रो अग्रज पुस्ताले दलित, अल्पसंख्यक र नारीप्रति कति धेरै अत्याचार गरेको थियो ! कस्ता कस्ता विद्रोहको दवाबपछि मात्र समाजमा आवश्यक परिवर्तनहरु देखिएका थिए ! चन्नार क्रांति सबै हिन्दूलाई, विशेषरूपमा धर्मभिरु हिन्दू नारीहरुलाई कठोर दासताको चंगुलबाट बाहिर निकालेर सामाजिक समानताको पाठ पढाउने एउटा बलियो कडी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *