कुखुराहरुको पाँचसुत्रीय माग
प्रतिमान सिवा
ओहायो, अमेरिका
आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् ।
युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby shark) खोज्दै थियो, हठात् कल आयो । एलेक्सको सातो गयो । मज्जाले तर्सियो, झसङ्ग भएर । सधैँ झैँ उसले हतनपत्त कल उठायो । त्यसै त कम्ता ह्यान्ड्सम छैन, त्यही माथि मुस्काउँदा अनुहारै धपक्क बल्यो । – – – – एलेक्सको मुस्कानै ज्यानमारा !!!
सानो हातले ठुलो ढ्याब्रे फोन कानमा टाँस्दै भन्यो,
“हे….लु……………….,” उसलाई हिजो जस्तै ममीले कल गर्नु भएछ भन्ने लागेको थियो तर होइन रहेछ । दिउँसो लन्च ब्रेकमा ममीले कल गरेर के गर्दैछस नानी भनेर सोधिदिँदा साह्रै खुसी र उत्साहित हुन्छ ।
उताबाट के भन्यो कोनि, निधार खुम्च्यायो अनि फेरि सोध्यो, “को हो ?”
“खोइ नानी, यता ले त, कसले कल गरेछ हेरौँ,” बाबाले फोन तान्न खोजे तर “नो…, नो…., नो…..” भन्दै चोर औँला हल्लाउँदै फोन बोकेर एलेक्स खुरुरुरु…… कुदेर भाग्यो र किचनको क्लोजेटभित्र पस्यो । उसलाई लाग्यो ‘आज बुढाले मार्ने भए । हिजो पनि रेस्टरुममा पानी खेलायो भनेर साफ्फी गाली गरिरथे ।’
एलेक्सले सोच्यो यो पाली ऊ आफै कुरा गर्ने छ फोनमा ।
“मेरो कुरा सुन फुच्चे,” उताबाट कडा स्वर आयो । “तेरो परिवारप्रति हामी दुईको कम्प्लेन छ, सिकायत छ भनेर सुनाई दे तेरो बाबालाई ।”
“पहिला तपाईँ को बोल्नु भा’को ? त्यो चैँ भन्नुस् न । अनि कसरी एकास्सी फुच्चे भन्न सक्नु भयो ? म एलेक्स नै बोलेको हो भनी कसरी जान्नु भयो ? ” एलेक्स पनि किन डराउँथ्यो र ।
“म लालमती हुँ; यानि रातो पोथी । म यस घरका कुखुराहरूको प्रतिनिधित्व गर्दैछु । त्यति पनि थाहा छैन तँलाई ? संसार भरिमा केटाकेटीले पो धेर फोन हेर्छन् त, अनि यो घरको फुच्चे तैँ त होस नि । ” उताबाट आवाज आयो ।
“ए! अनि यो त अचम्म भयो नि त । कुखुराले पनि कतै फोन गरेर धम्काउँछन् त ?” एलेक्स तीन छक्क पर्यो तर बोल्न भने छोडेन ।
“तेरो परिवारले मलाई र सेतीमायालाई ठुलो अन्याय गरेको छ । आज यी सबै कुरालाई म पाँच सूत्रीय माग बनाएर पेस गर्दैछु । यदि यो पुरा भएन भने म तुरुन्तै ९११ (911) कल गर्नेछु र ज्यानको मुद्दा दाएर गराउनेछु सुनिस् । यो कुराको चेतना भया तेरा बालाई ।” रातो पोथीले थर्कायो ।
“एक छिन पर्खी । म बाबासँग कुरा गरेर तँलाई कल ब्याक गर्छु ।” कुरो निकै जटिल लाग्यो एलेक्सलाई र उसले बाबासँग परामर्श लिने निधो गर्यो र कल काट्यो ।
बाबासँग कुरापनि गर्न नपाइ फेरि कल आयो ।
“एई फुच्चे ! कहाँ उम्किन खोज्दैछस् । पहिला मेरो पाँच बुँदे माग सुन् ।” लालमती रिसाएर गर्जिरहेकी थिई र साथैमा सेतीमायाले पनि ‘कक्कक कक््’ गरेर सहमति जनाइरहेकी थिई ।
“ल, ल सुनाओ न त तिमीहरूको माग । म बाबासँग कुरो राखिदिन्छु ।” आश्वासहन दिलाउँदै कौतुहुलता पनि जनायो ।
“ल सुन् । आज मौखिक सुनाउँदै छु आखिर घरेलु मामिला हो भनेर । आवश्यक परेमा लिखित नै पेश गर्ने छौं ।
एक नम्बरमा; तेरा बाबाले हामीबाट लुटेका हाम्रा सारा अण्डाहरू जस्ताको तस्तै जरिवाना सहित फिर्ता गर्नु पर्नेछ । यदि चाहिएमा राम्रोसँग मागेर हिसाबकिताब सहित लानु पर्थ्यो ।
दोस्रोमा; हामीले सही समयमा हाम्रो खाना पाएनौं । यहाँ कति सिला साङ्लो गरेर खानु ? खाना दिने क्रम ठिक समय समयमा लागु होस ।
तेस्रोमा; हाम्रो घर किन गराजबाट बाहिर निकालियो यस्तो जाडोको बेला ? बर्खा नलागुन्जेल हामी गराजभित्रै बस्न चाहन्छौँ ।
चौथोमा; तँ गुइँठेले किन हामीलाई खेदेको खेदै गरेर वाक्क लगाउँछस् ? अबदेखि हामीलाई खेदेर टेन्सन दिन पाईदैन । र
अन्तमा; तैँले मलाई उचाल्दै पछार्दै गरेकाले मेरो पेट सारै दुख्न थालेको छ । चाँडो भन्दा चाँडो अस्पताल लगेर उपचार गराइदे । यदि भित्र मेरो पेटमा अण्डा फुटेको रहेछ भने तँलाई ज्यानको मुद्दा लगाउँछु । यी हुन् हाम्रा पाँच बुँदे माग । लगेर तेरा बालाई सुनाइदे ।”
एलेक्स त के भन्नु भन्नु भयो । उसले सोच्दै नसोचेको कुरा । आफ्नो मनोरञ्जनको इच्छा पूर्तिमा कति दु:ख दिएको रहेछ कुखुराका पोथीहरूलाई भन्ने कुराको भेउ अहिले मात्र हुँदैछ उसलाई । एक किसिमले उनीहरूप्रति दयापनि लाग्यो । अर्को मनले सोच्यो, कुखुरा न हुन् । उसले के नै पो अत्याचार गरेको छ र ?
“हेई ! तिमीहरू कुखुरा हौ र कुखुराको औकातमा बस । नत्र भने एकै छाक हौला नि । होस गर ।” एलेक्सले पनि चेताउनी दियो ।
“तिमीहरूले बोल्ने ढङ्ग मलाई मन परेन । मलाई ‘तँ’ र ‘गुइँठे’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेकोमा मलाई पनि आपत्ति छ ।”
“धेर कुरा नगर । हाम्रो माग चाँडो पुरा हुनुपर्यो । होइन भने आजकै मितिदेखि अण्डा पार्न हामी हडताल गर्नेछौँ । हल्ला गरेर तेरा छिमेकीहरूलाई तनाव दिनेछौँ र तेरा सिकुवा बरन्डामा छेरेर हेरी नसक्नु पारिदिन्छौँ । अहिले अलिक भिन्न स्वर सुनिएको थियो तर कुखुरीकै हो भन्ने चैँ स्पष्ट थियो । सायद सेतीमाया बोलेकी हुनुपर्छ ।
कसै गर्दा नडराएको एलेक्स, सिकुवा र बरन्डामा छेरिदिन्छौँ भनेपछि लच्कियो । नरम र शान्त हुँदै बोल्यो ।
“ल, ठिक छ । अन्तिमका दुई बुँदा मसँग सम्बन्धित छन् र ती दुई बुँदा पालना गर्न म तयार छु । तिमीहरूलाई म कहिलेपनि खेद्ने छुइँन र बोकेर फ्याँक्ने पनि छुईँन तर तिमीहरुले एउटा सर्त मान्नु पर्ने हुन्छ ।”
“के को सर्त । किन मान्नु पर्ने हामीले ?” कुखुरीहरू फेरि चर्किए ।
“मेरो सर्त के भने, तिमीहरूले यो फोन कहाँ पायौ ? कसले दियो ? बताउनु पर्यो । यहाँ मलाई त फोन चलाउन दिएका छैनन् अहिलेसम्म तिमेरु कुखुरीहरूलाई मस्ती, चैन ?” ।
“संसारमा झारपातले फोन चलाउन थालिसके, कुरा गर्छ । दियो नि हामीलाई पनि कसैले ।” दुवै पोथीहरू एकै स्वरमा बोले । एलेक्स पटक्कै सन्तुष्ट थिएन तरपनि फोन बाबालाई दिने र अरू माग बारे छलफल गर्ने बताउँदै फोन काट्यो ।
“बाबा, बाबा फोन,” बाबालाई फोन दिन क्लोजेट भित्रैबाट हात लम्काउँदै थियो फेरि कल आयो । यो पाली कल उसले उठाएन ।
बाबाले फोन यसो हेरे । एलेक्सकी ममीको कल रहेछ । उठाए । तीन छक्क परे । स्वर त अर्कै छ । कुखुरा जस्तै कराउँदै छन् । यो के हो भने झैँ आँखाले इसारा गरेर एलेक्सलाई हेरे । एलेक्स पहिला त डरायो तर के गर्ने, परिस्थितिको सामना त गर्नै पर्यो । एलेक्सले वृत्तान्त सुनायो । अनि चकित हुँदै शङ्कष्पद भावमा बाबा बोले फोनमा ।
“ए, ए, माफ पाउँ लालमती र सेतीमाया । यो जति पनि गल्तीहरू भएका छन् ती सबै मेरै हेल्चक्याईको कारण हो । अबदेखि म यसो गर्ने छैन । तिमीहरूको सबै माग पुरा गर्नेछु तर सब भन्दा पहिले तिमीहरूले त्यो फोन मलाई दिनुपर्छ ।” बाबाले बुद्धिमानीपूर्वक बोले तर मनमनै सोच्दै थिए, ‘यी कुखुराहरूले अति गर्न थाले।’ त्यसै त सुली सोर्दा सोर्दा हैरान भएका एलेक्सका बाबालाई यस्तो धम्की सुनेर भाउन्न छुट्यो ।
उता स्वरबाटै एलेक्सको बाबा बोलेको भन्ने कुरो थाहा पाइहाले पोथीहरूले र होसियारी पूर्वक आफ्नो मागहरूमा जोड दिन थाले । “त्यतिकै ए! ए!, हुन्छ! हुन्छ! भनेर टार्न पाइँदैन । हामी पनि अमेरिकी नागरिक हौँ र संविधानले दिएको हाम्रो अधिकार के के हुन् भन्ने कुरा हामीलाई राम्ररी थाहा छ र आफ्नो अधिकार कसरी लिनुपर्छ भन्ने कुरा पनि हामी जान्दछौँ ।” सन्सारमा निर्धो सधैँ हेपिन्छ भन्ने बुझेर होला साहस बटुलेर सबै कुरा भनिदे कुखुराहरूले एकैचोटी ।
माग पुरा हुने वा नहुने बारेमा धेरै बहस र तर्कातर्की भयो । एलेक्सको बाबा फोनमा बोल्दै बेलाबेला ढोकाको सिसाबाट बाहिर चियाउँछन् तर पोथीहरूलाई पटक्कै देख्दैनन् ।
यो क्रम धेरै बेर चलेपछि बल्ल सहमति भयो । कुखुरीहरूले आफ्नो कार्य जारी राख्ने र त्यही राती उनीहरूसँग भएको सेलफोन ढोकामा राखिदिने । उनीहरूले पनि कुखुरीहरूलाई माया गर्ने, नसताउने, खाना टाइममा दिने, कुखुराको खोर पुन: गराजमै राख्ने, कुखुरीहरूको अनुमति विना एउटा पनि अण्डा छुन नपाउने, इत्यादि ।
यति भइसक्दा एलेक्सकी ममीपनि कामबाट टुप्लुक्क आइपुग्छिन् तर घरमा के चक्कर चली रहेको छ भन्ने उनलाई अलिकतिपानि ज्ञान हुँदैन ।
“हिजो बेलुकी मैले मेरो फोन कुखुराको खोरमाथि राखी रथेँ, त्यही छोडिएछ ।” यसो भन्दै बाहिर जान तरखर गरिन् ।
“किन छोडेको फोन ? आफ्नो सामान छोडिएको थाहा हुँदैन ? हामीलाई त खुब कराउनु हुन्थ्यो त ? ” बाबाको आड लाग्दै एलेक्स ममीलाई हपार्छ । एलेक्सको यो चुरिफुरि देखेर तज्जुब लाग्छ उनलाई । हिजोसम्म “ममी, ममी” भन्दै लाम्टा चुस्न झुन्डिने मान्छे आज हप्काउने औकातको भइसक्यो । भोलि गएर नकार्न बेर छैन । आखिर समय न हो । देश, काल र परिवेश फरक भएपछि कसको के लाग्छ र । धेरै कुरा भन्न मन लागेतापनि केटो कलिलो नै छ भन्ने सोचेर नम्रताका साथ भनिन्
“खोर्सानीको दल राख्दै थिएँ, त्यही बिर्सेछु ।”
बाबा र एलेक्स मुखामुख गरेर हाँस्न थाले र कुखुराका पोथीहरूको माग बारे सुनाए । उनलाई त पत्यारै लागेन । सोचिन्, यी बाउ-छोरा भएर उनलाई उल्लु बनाउँदैछन् ।
फोनमा कल हिस्ट्री देखाएर फेरि सम्झाएपछि बल्ल होला झैँ मानिन् र रातीमात्र आफ्नो फोन पाउने कुरामा नमिठो मानिन् किनकी सामाजिक सञ्जालमा परिभ्रमण गर्ने लत जो संसारलाई परेको छ ।
भोलि बिहान ममीको हातमा फोन त देख्यो एलेक्सले तर त्यो दिनदेखि उता पोथीहरू कहिल्यै देखेन । बाबालाई घरी घरी सोध्ने गर्थ्यो, “बाबा! पोथीहरू खोइ ?”
प्रत्येक चोटि बाबाको उत्तर बेग्ला बेग्लै हुन्थ्यो । एलेक्सले सोच्यो, “ठुला मान्छेले पनि ढाँट्दा रहेछन् ।” हिजोसम्म हिरो देखेको बाबा आज उसलाई अलिकति दुर्बल र कुरुप झैँ लाग्यो ।