कृतिम आत्मीयता
डी० पी० दुलाल
आइओवा, अमेरिका
ढक्क .. ढक्क …
ए प्यारो साथी
आज यो अँधेरी रातमा
तिम्रो घरको ढोका ढकढकाएँ
पाहुना बनेर आएँ
अरू कसैलाई …
तिम्रो घरको ठेगाना मागेर आएँ
सायद सुत्ने बेला भएको थियो होला
मेरो लागि फेरि खाना बनाउनु पर्यो
ओछ्यान मिलाउन पर्यो ….
आउँछु नभनीकन आएँ
पुराना दिनहरू सम्झेर आएँ
तिमीलाई आफ्नो ठानेर आएँ
मरो कथा कहानी सुनाउन आएँ
बेलुका साँझसम्म
तिम्रो घरमा आउने हिसाबले
हिँडेको थिएँ
बाटामा आउँदा आउँदै
पानी पर्यो, हिउँ पर्यो
रात पर्यो अनि ढिलो भयो
अहो ! बिहान भएछ ..
राती फेरि पनि हिँऊ परेछ
अब उठ्नु पर्यो ..
ए प्यारो साथी …
धेरै माइल पर आज यो
अनजान सहर पनि
तिमी भएर आफ्नो भएको छ ..
आँगनमा नानीहरू, केटाकेटीहरू
खेल्दैछन् , कराउँदैछन्
घरभित्र बाहिर गर्दैछन्
यी नानीहरू जस्तै मलाई पनि
कराउन मन छ, रमाउन मन छ
खेल्न मन छ
नसोचीकन बोल्न मन छ
कुराहरू मनका खोल्न मन छ
नानीहरू सीमा रेखाहरू कोर्दैनन्
पहिचानको, अनि जातीको
हो मलाई यी नानीहरू जस्तै हुन मन छ
ए प्यारो साथी
यो मन आज फेरि देवकोटाको भएको छ
अनि म फेरि पागल भएको छु
उनीहरूको नजरमा