कृति परिचय १०: सम्झनामा देश (कविता र गजलहरुको) सङ्ग्रह
कृति: सम्झनामा देश (कविता र गजल)
कृतिकार: खगेन्द्र भण्डारी ‘जन्तरे’
प्रकाशक: साहित्य परिषद भूटान
संस्करण: वि०स० २०७५ जेठ, पहिलो
सम्झनामा देश’ कृति युवा कवि खगेन्द्र भण्डारी ‘जन्तरे’को पहिलो कृति हो जो सन् २०१८ मा सम्पन्न साहित्य परिषद् भूटानको सम्मेलनमा विमोचित भएको थियो । कविता र गजलको सम्मिश्रणले बनेको यो कृतिमा २१ वटा कविता र २१ वटा गजलहरू समावेश छन् ।
कविताको हकमा छन्दोबद्ध र छन्दमुक्त दुवै शैलीमा उत्तिकै धाराप्रवाह बग्न सक्ने कवि जन्तरेको काव्यसन्धान प्रगाढ रहेको देखिन्छ। अब सम्झनामा मात्र सीमित रहेको मातृभूमिका स्मृतिहरूबाट फुरेको गजलबाट कृतिलाई ‘सम्झनामा देश’ नामकरण गरिएता पनि ‘भूटान प्यारो छ नि’, ‘गर्जमान जिन्दाबाद’, ‘जय बिर्खे जय डम्बरे’, ‘साँचो हराएको छ’ जस्ता कविताहरूमा मातृभूमिप्रतिको स्नेह, स्मृति र स्वतन्त्रताको उद्घोष प्रशस्त देखिन्छ। प्रेम प्रसङ्गका अलाप, सामाजिक अराजकता र प्राकृतिक पक्षहरूबाट रोचक शीर्षकमा आफ्नो कवित्वको मूल फुटाएका छन् कविले। जीवनका विभिन्न परिवेशहरूबाट सामान्य तर गम्भीर पाटोलाई सर्लक्क उठाएर जीवन्त शैलीमा प्रस्तुत गर्न खप्पिस देखिन्छन् कवि। आफ्ना सृजनाका शीर्षक चयनमा अति सामान्य र जनजिब्रोका शब्दहरूको प्रयोग गर्ने उनको चातुर्य बडो मिठासपूर्ण लाग्दछ । जस्तै डन्डिफोर, धुसाको जिन्दगी, भातै मीठो, काले जानेछ मावल, डेलिभरी भाको, खैरेले त, इत्यादि । भाषिक शैली सरल, शुद्ध र मिठासपूर्ण छ । छन्द कविता र गीति कविताहरू लययुक्त र गेय छन् भने गणहरूको प्रयोगमा कतै सामान्य विचलन देखिएका छन् ।
गजलहरू सबै सरल तर चोटिला देखिन्छन् । एकाध बाहेक सबै गजलहरू पाँच शेरका छन् र प्राय सबै गजलहरूमा शेरहरू स्वतन्त्र भए पनि एउटै मूल प्रसङ्ग (विषयवस्तु) मा बाँधिएका छन् । रुक्न र बहरहरूलाई नपच्छ्याइए तापनि काफियामा ध्यान राम्रो पुर्याइएको देखिन्छ । कविता र गजल दुवै क्षेत्रमा विषयवस्तुको विविधता फराकिलो देखिन्छ । बिम्ब विधान सरल तर गहिरो देखिन्छ । रचना सृजना गर्ने क्रममा भाव पक्ष र वैचारिक पक्ष दुवै समानान्तर रूपमा बगेको देखिन्छ । दुःख कष्ट र पीडाहरूलाई मात्र आफ्नो सृजनाको जड मानेका भने पटक्कै होइनन् । जीवनका रमाइला, प्रेमिल र स्वप्निल पाटोमा पनि आफ्ना सृजनाका कोपिलाहरू प्रशस्तै भेटेका छन् लेखक/कवि जन्तरेले ।
१३६ पृष्ठको यो कृतिमा भूमिका, समीक्षा र शुभकामनाले गर्दा पृष्ठ न० ४७ बाट मात्र रचना सुरु हुन्छ । डा० नवराज लम्सालले भूमिका लेख्ने क्रममा, ‘…….. केही साधना भयो भने उनी पद्यमा राम्रै जम्न सक्ने सामर्थ्य भएका कवि हुन् । उनलाई केही सङ्गत, केही अध्ययन र केही साधनाको जरुरत छ’, भनेर लेखेका छन्। उनी थप लेख्छन्, ‘यो पुस्तक केवल पुस्तक पनि होइन । सांस्कृतिक आन्दोलन हो, राजनैतिक, सामाजिक चेतना हो, केही विद्रोह हो र भाषिक आन्दोलनको एक इँटा पनि हो ।’
गङ्गाराम लामिटारेले यसै प्रसङ्गमा भूटानी परिप्रेक्ष्यमा कविताको सुरुवात देखि हालसम्मको स्थितिलाई केलाउन भ्याएका छन् भने राष्ट्रकवि माधवप्रसाद घिमिरे र भक्त घिमिरेले आफ्नो विचार र शुभकामना व्यक्त गरेका छन् ।मित्थु थारुको सुन्दर आवरण सज्जा रहेको यो कृतिको मूल्य तोकेको देखिएन । कृति लेखकका माता पिताप्रति समर्पित रहेको छ ।