कृति परिचय १३: ‘तुर्सा’ कविता सङ्ग्रह

कृति: तुर्सा (कविता सङ्ग्रह)
विधा: कविता
कृतिकार: शिवलाल दाहाल
संस्करण: पहिलो, वि०स० २०६९ ( सन् २०१२)

आकाशगङ्गामा तरङ्गिएको पानीजहाज, अलबिदा बेलडाँगी, सम्झनाका खण्डित आकृतिहरूमूल्यबोध जस्ता गहन कृतिहरू पाठकमाझ पस्किसकेका लेखक/कवि शिवलाल दाहालको यो अर्को कृति ‘तुर्सा’ कविता सङ्ग्रह जम्मा ४४ वटा कविताहरूको सँगालो बनाएर सन् २०१२ मै पाठकमाझ सुम्पिसकेका थिए । शिवलाल दाहाल कवि/लेखक मात्रै नभएर भूटानी नेपाली साहित्यिक परिप्रेक्ष्यमा परिचित अन्वेषक, अनुसन्धाता र समीक्षकका रूपमा स्थापित भइसक्नु भएका कुशल साहित्यिक साधक पनि हुन । उनका खोजमूलक लेख-रचना र कार्यपत्रहरू समेत अनलाइन पत्रीका भूट्निज् लिटरेचर डटकममा प्रकाशित भइसकेका छन् ।

भूटानी सरकारले दक्षिण भूटानमा रहेका भूटानी मूलका नेपालीहरू प्रति लादिएको दमन र त्यसले उत्पन्न गराएका परिणामहरूको सेरोफेरोमा रहेर सृजना गरिएका यी ४४ वटा कविताहरू कविता मात्रै नभएर इतिहास बनेका छन् ।

मातृभूमिप्रतिको प्रेम, आफू जन्मे-हुर्केको ठाउँ र त्यहाँ बसोबास गर्ने सोझा र मेहनती गाउँले इष्ट-मित्रहरूले भोगेका दु:ख-कष्ट र सतावटहरुको बयान यी कविताहरूको माध्यमबाट सरल र सुमधुर भाषा शैलीमा मीठा बिम्बहरूको प्रयोग गर्दै सचित्र उतारेका छन् कवि दाहालले । त्यस्तै गरी यस सङ्ग्रहको शीर्ष कविता ‘तुर्सा’ले आफ्नो घर परिवार र ज्यानसम्म त्यागेर राष्ट्र निर्माणमा तल्लीन हर्कबहादुर, नरबहादुर, शिवशङ्कर, प्रतिमान, गुमानसिंह र वीरमानहरू जस्ता कैयौँ जनताहरूको बलिदानको इतिहास उजागर गरेको छ । उनीहरूले भोगेका परिणामहरूको विस्तार लगाएको छ अनि उनीहरूका सन्ततीहरुलाई सताइएको बरबर्ता बोलेको छ ।

रमेश गौतमले भूमिकामा लेखेका छन् ‘कविले यस सङ्ग्रहभित्र मूलतः देश प्रेमको भावना, निरंकुशताप्रतिको शालीन विद्रोह, जीवनदर्शन र यसप्रतिको मोह अनि माया प्रेमका अनगिन्ती सजीव बिम्बहरू सम्मिश्रण तयार पारेका छन्’ । फेरि लेख्छन् ‘सरल भाषामै बिम्बहरू निर्माण गर्छन् अनि कलात्मक शब्द छनोट र मिठासपूर्ण भाषा प्रयोगसँगै भावमा सघनता घोल्छन् । यी कवि स्वच्छन्द छन्, कुनै वादको सङ्कीर्ण घेराभित्र बन्दी बन्दैनन् ।’ त्यसै गरी डा० गोविन्दराज भट्टराई लेख्छन् ‘उनी भूटानी नेपाली साहित्यका एक शक्तिशाली कविका रूपमा सम्झिइने छन् ।’

साहित्य लेखनमा स्तरीयता र विधागत सैद्धान्तिक स्पष्टतालाई मध्य नजर गरेर लेखिनु पर्छ तब मात्र हामीले लेखिने साहित्यले मूलधारमा प्रवेश पाउन सक्छ भन्ने बिचार राख्ने दाहाल आफ्ना लेखनमा सधैँ प्रचुरता देखाउँछन् ।

सरल शब्दहरूलाई कलात्मक शैलीमा उनेर गाँस्दै मीठा बिम्बहरूको माध्यमद्वारा कवितालाई चित्रात्मक र दृश्यात्मक मिठास दिनु नै उनको कुशलता हो । कविताका शीर्षकहरुनै प्राय: जादुमय लाग्छन् ।सबै कविताहरू अति मनोरम छन्, त्यसै पढौँ पढौँ र एक पटक मात्र पढेर चित्तै नबुझ्ने खालका छन् ।सञ्जय खत्री र केदार खनालको आवरण डिजाइन र स्रष्टा छापाखानाको मुद्रण रहेको यो कविता सङ्ग्रह ‘तुर्सा’को प्रकाशक भने पुरानाघरे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *