कृति परिचय १४ :- मातृवियोग खण्डकाव्य
कृति: मातृवियोग खण्डकाव्य
कृतिकार: मणिराम धिमाल (दीपित)
सस्ंकरण: प्रथम, २०७६
प्राकशक: ए० डी० बी० पब्लिकेशन प्रा लि र मातृभाषा संरक्षण समूह
सानै उमेर देखिनै कविता लेखनमा साधनारत कवि मणिराम धिमाल (दीपित) कविताका गद्य र पद्य दुवै विधामा उत्तिकै धाराप्रवाह बग्न सक्ने क्षमता राख्दछन् । पुस्तककारका रूपमा सन् २००९ (बि०स० २०६६) मै ‘अविरल आँसु‘ नामक गद्य कविता सङ्ग्रह पाठक माझ पस्किसके पनि पछिल्लो समय भने उनी पद्य कविता (छन्द कविता) को साधनामा तल्लीन देखिएका छन् ।
यो खण्डकाव्य, विभिन्न अनलाइन पत्र-पत्रिकामा प्रकाशित फुटकर कविताहरू र सामाजिक सञ्जाल तथा युट्युबमा वाचन गरिएका कविताहरूले कवि धिमाललाई आउँदो समयका एक चम्किला छन्द कविका रूपमा उभ्याइसकेको छ । पहिलो कृति प्रकाशित भएको ठिक एक दशकपछि कवि धिमालले अर्को एक गहन कृति, ‘मातृवियोग’ नामक खण्डकाव्य पाठक माझ पस्किएका छन् ।
सन्सारको सबै भन्दा प्यारो चिज आफ्नी ममतामयी आमालाई रोगले गाँजेर थल्लिइरहेको अवस्थामा आफू लगायत सबै छोराछोरीहरूलाई टुहुरो बनाई मृत्युले टपक्क टिपी लाँदा उत्पन्न भएका विरह, घात र विषमतालाई विषयवस्तु बनाएर रचिएको यो ‘मातृवियोग’ खण्डकाव्य ‘त’ गणबाट सुरुवात गरेर उपजाति छन्दमा उठान गरिएको छ । चार चार पाउका जम्मा ३७५ श्लोक रहेको यस खण्डकाव्यलाई एघार सर्गमा विभाजन गरिएको छ । उपजाति, शार्दूलविक्रीडित, मालिनी, ईन्द्रवज्रा, अनुष्टुप, शिखरिणी, वसन्ततिलका, सुमुखी, संयुक्ता, मत्ता, भुजङ्गप्रयात र भद्रिका गरी जम्मा १२ वटा छन्दहरूको प्रयोग गरिएको भएता पनि अधिकांश श्लोकहरू शार्दूलविक्रीडित छन्दमा रचिएका छन्।
११२ पृष्ठको यो खण्डकाव्यमा निम्न पात्रविधान रहेको पाइन्छ भने नायकका रूपमा आमा पात्रलाई उभ्याएर रोगले ग्रस्त हुँदा मूल पात्रले भोग्नु परेको पीडाको कथनबाट खण्डकाव्यको कथानक अघि बढाइएको देखिन्छ र यही नै यो खण्डकाव्यको आख्यान बन्न पुगेको छ । खण्डकाव्यमा सर्गहरू आठ भन्दा कम हुनुपर्छ भनिएता पनि यस खण्डकाव्यले यो बन्धनलाई तोडेर ११ सर्ग बाइएको पाइन्छ । रस, अलङ्कार, बिम्ब र लय विधानमा निक्कै खारिएको छ कृति। वियोगको कथनले करुणा रसको स्थायी भाव पैदा गरेको छ त्यसैले शोककाव्य झैँ बन्न पुगेको छ। चरित्र र घटना दुवै पक्ष सबल भएको प्रस्तुत काव्यमा खण्डकाव्यको प्रबन्धात्मक व्यवस्थापन पनि सशक्त नै देखिन्छ ।
आचार्य घनश्याम रेग्मीले भूमिकामा मातृवियोग खण्डकाव्यलाई यसरी लेखेका छन्, ‘यस काव्यले मातृवात्सल्यको गहिरो अर्थ र आफ्ना सन्तानहरूले गर्नुपर्ने मातापिताप्रतिको कर्तव्यलाई सहज रूपमा सरल शब्द वा वाक्यांश जोडेर पाठक वर्गलाई छन्दमा मीठो स्वाद कविले दिएका छन् । यो कविको काव्यशिल्प कला हो ।’
यसै गरी गङ्गा लामिटारे लेख्छन्, ‘उनका कविताहरू छन्दोबद्ध र कारुणिक छन् । हाँसोभन्दा पनि आँसु र पीडामा रुमलिएका छन् । अभाव, बिछोड र वियोगका त्रिवेणी हो यो मातृवियोग खण्डकाव्य । जीवनमा आमाको महत्त्व, महिमा र आवश्यकताको सेरोफेरोमा रहेर सिर्जिएका प्रस्तुत कविताहरू वास्तवमा एउटा सशक्त खण्डकाव्य हो भन्दा फरक पर्दैन ।’
राज्यसत्ताका ज्यादतीका कारण कविले बाल्य अवस्था मै आफ्नो मातृभूमि, आफ्नो जन्मथलोलाई चटक्क छोडेर छातीभरि सम्झना र माया बोकेर बिछोडिनु परेको कुण्ठालाई पनि यस खण्डकाव्यसँग जोड्न सकिने देखिन्छ । आफ्नो बाल्य अवस्था र भूटानका भौगोलिक चित्रण पनि प्रशस्तै भेटिन्छ यस खण्डकाव्यमा । पृष्ठ नम्बर १४ का चार श्लोकहरू शार्दूलविक्रीडित भए पनि अनुष्टुप् छन्द भनी लेखिएको र पृष्ठ नम्बर ४७ मा भएका अनुष्टुप् छन्दका तीन श्लोकहरू दुई दुई पाउको नभएर चार चार पाउको श्लोक हुनु सायद मुद्रण-त्रुटि हुन सक्छ भन्ने भान हुन्छ ।
भूटानी नेपाली साहित्य जगतका नयाँ पिडीमा शास्त्रीय छन्दमा रमाउने कवि धिमालको यो खण्डकाव्य सबै वर्गका पाठकहरूले पढ्न योग्य छ र समीक्षकहरूले पनि यसको अद्ध्यान, विश्लेषण र विवेचना गरी खण्डकाव्य सिद्धान्तका आधारमा मातृवियोग खण्डकाव्य कहाँ उभिन्छ भन्ने निर्क्योल गर्न अति आवश्यक देखिन्छ ।