कृति परिचय १७: वासदेखि पुनर्वाससम्म

कृति:        वासदेखि पुनर्वाससम्म
कृतिकार: डा० लक्ष्मीनारायण ढकाल
प्रकाशक: साहित्य परिषद् भूटान
विधा:      आत्मसंस्मरण
मूल्य:      $२०/- र नेपाली रुपैयाँ ३००/-

डा० ढकालले भूटनमा जन्मिएर हुर्किँदै पढ्दै बिताएका मनोरम क्षणहरूदेखि लिएर देश बहिर्गमन, शरणार्थी कालका कठोर दिनहरू अनि तेस्रो मुलुकमा पुनर्स्थापनासम्मको तिता-मीठा पलहरूलाई फ्लासब्याक शैलीमा यो पुस्तकको रूप दिन सफल भएका छन् । यो एउटा संस्मरणमात्र नभएर भूटानको सरकारले अहिलेसम्म आफ्नो स्वार्थपुर्तिकालागि देखाउँदै आएको एक तर्फिय र झुटो इतिहासलाई लल्कार्ने बुलन्द हुङ्कार पनि हो । यो भूटानमा बसोबास गर्ने नेपाली भाषी भूटानीहरुको जीवन वृत्तान्त, लेखकको आत्मसंस्मरण, भूटानमा नेपाली भाषीहरूको प्रवेश, उनीहरूको रहन सहन, नेपाली भाषा साहित्यको विकासक्रम, राजनीतिक कठोरता र राज सत्ताले गरेको सौतेलो व्यवहारको प्रत्यक्ष मन्थन बनेको छ ‘वासदेखि पुनर्वाससम्म’ ।
एउटा सिङ्गो समाजको पटक पटकको बसाई सराइ र बिस्तारै बिस्तारै चोइटिँदै गएको सामाजिक तथा सांस्कृतिक मान्यताहरूको मूल्याङ्कन पनि हो ।
भूटानी नेपाली साहित्य क्षेत्रका समीक्षक तथा विश्लेषकहरुले यसरी हेरेका छन् यस कृतिलाई:-

भक्त घिमिरे लेख्छन् :- “भूटानको सामान्य परिचय, भूटानको नामकरण, आप्रवासीहरूको देश भूटान, भूटानका संस्थापक आदिजस्ता शीर्षकहरू राख्दै लेखकले आफ्नो कृतिलाई यसै पनि ऐतिहासिक दस्ताबेजका रूपमा अघि सारेका छन् । भूटान देशको नामकरण सन्दर्भमा कृतिकारले देशनिर्माता नेपालीभाषीहरुलाई इतिहासमा बेस्सरी अन्याय लादिएको कुरा उठाएका छन् ।”(१)

त्यसरी नै शिवलाल दाहाल लेख्छन्:- “वासदेखि पुनर्वाससम्म, पुनर्वासपछि लेखिएको यस रीतको पहिलो कृति हो जसले लेखकको मात्रै होइन हजारौँ भूटानीहरुको कथालाई प्रतिनिधित्व गर्दछ । एउटा देशको राजनीतिक व्यवस्थाले जन्माएको मानवीय समस्या, देशबाट निष्कासित मानिसहरूले भोग्नु परेको दर्दनाक पीडा, अस्थिरता र निकासहीनता अनि दुई दशकपछिको पाश्चात्य मुलुकतिरको यात्रा र त्यसमा ठेगान लाग्न, जीविकोपार्जन गर्न, नागरिक अधिकार प्राप्त गर्न, गर्नु परेको कठिन सङ्घर्ष, भोगाइ र समस्याहरूको अभिलेख छ –यस कृतिमा ।”(२)

आचार्य घनश्याम रेग्मी लेख्छन्:-  “पूर्वार्द्धमा भूटान भित्रको भाषिक, शैक्षिक र देश निर्माणमा नेपाली भाषी भूटानीहरूको योगदान र नेपालमा भएको २००७ सालको क्रान्तिको बाछिट्टाले भेटेको प्रभावले भूटानी नेपालीहरू देश-निकाला भएर शरणार्थी बन्न पुगेको तथ्य छ भने उत्तरार्द्धमा शरणार्थी भएर गरिएको फितलो राजनीति, संस्कारजन्य विषय, मानसिक तनाव, भूटानी नेपालीहरू आफ्ना पुरखाको देश भूटानबाट र पछि नेपाली भएर पनि नेपाल राष्ट्रबाट पनि डाँडो कटाउनू र मानवीय मूल्य र मान्यता न बुझेका भूटान र नेपालका राष्ट्राध्यक्षहरुले कालान्तर-कालान्तरसम्म भूटानी-नेपालीहरुसमक्ष ठाडोशिर गर्न न सक्नेगरी गरिएको अन्यायका पक्षधर र पुनर्वास गराउने मनकारी राष्ट्रहरू सबैलाई हार्दिक बधाई दिन पनि लेखकले यो किताबमा भुलेका छैनन् ।”(३)

जम्मा २३२ पृष्ठको यो कृतिमा प्रकाशकीय, डा० घनश्याम नेपालको मन्तव्य, साहित्यकार कृष्ण धरावासीको भूमिका र लेखकको भनाइ पश्चात् पृष्ठ न० २१ बाट सुरु हुन्छ भने अन्तिम पृष्ठमा सन्दर्भसुची राखिएको छ । हरियो आवरणभित्र नियाल्दा भूटानको चित्र र शरणार्थी शिविरका छाप्राहरू देखिन्छन् । भूटानभित्र नेपाली भाषीहरूको अवस्था, इतिहास र गलहत्त्याइएकाहरूको कारुणिक कथावस्तुलाई सरल भाषा शैलीमा सबै प्रकारका पाठकहरूले बुझ्ने गरी लेखिएको यो कृति ‘वासदेखि पुनर्वाससम्म’ पठनीय छ । गैर आख्यानमा न्यूजल्याण्ड निवासी गोपाल पौडेलको संस्मरण ‘कथाभित्रको कथा’ पछि आएको ‘वासदेखि पुनर्वाससम्म’ विश्वभरि छरिएका भुटानी नेपालीहरूले पाएको यो दोस्रो संस्मरणात्मक कृति हो । यो कृति नेपालका केही पसलहरूमा र अनलाइनमा अमाजन डटकममा उपलब्ध छ ।

(१) घिमिरे, भक्त; ऐतिहासिक दृष्टिमा ‘वासदेखि पुनर्वाससम्म’ भूट्निज लिट्रेचर डटकम  http://bhutaneseliterature.com/archives/25777
(२) दाहाल, शिवलाल; ‘बासदेखि पुनर्वाससम्ममाथि केही परिचर्चा’; भूट्निज लिट्रेचर डटकम   http://bhutaneseliterature.com/archives/25746
(३) रेग्मी, आचार्य घन श्याम; ‘कृतिचर्चा: वासदेखि पुनर्वाससम्म’; भूट्निज लिट्रेचर डटकम  http://bhutaneseliterature.com/archives/25940

 

यो कृति खरिद गर्न चाहानेलाई अमाजन डटकमको लिङ्क    https://www.amazon.com/gp/product/1732190631/ref=ox_sc_mini_detail?ie=UTF8&psc=1&smid=A1F697CTW5J1ZQ&fbclid=IwAR1DAPkq_Vxs7a-9YPj2n69rAqCYw0v6hhFmbNEw10L6l79M96xyyliE6GQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *