कृति परिचय-३: गल्ली गल्लीका गीत (कवितासंग्रह)

कृति:     गल्ली गल्लीका गीत
विधा:     कविता
कृतिकार: तीलारुपा आचार्य
प्रकाशन मिति: २०१७
प्रकाश: साहित्य परिषद् भूटान
डिस्कोर्स पब्लिकेसन, नेपाल
आवरण:  राम राई

‘गल्ली गल्लीका गीत’ (सन् २०१७), तीलारुपा आचार्यको प्रथम प्रकाशित कवितासंग्रह हो । प्रथम प्रकाशित कवितासंग्रह भए पनि यी कविता परिपक्कता र परिष्कारका दृष्टिले उपल्लो दर्जाका छन् । उनका कवितामा जति सरलता र शालीनता छ त्यति नै वैचारिक गाम्भीर्यता पनि छ ।

‘गल्ली गल्लीका गीत’ मार्फत उनले गाएको कविताको गीत भूटानदेखि अमेरिकासम्मको भौतिक यात्रा हुँदै त्यस क्रममा विचरण गरिएको अनुभूतिको संसारसम्म पनि फैलिएको छ । उनको काव्य व्योम कतै प्रेम, कतै विद्रोह, कतै नारीवादी स्वर त कतै मानवतावादी चिन्तनले ढाकिएको छ । खास गरिकन उनी कवितामा नेपाली समाजमा नारीहरूको अवस्था र भोगाइको चित्रण गर्दछिन् । नारीहरूका सपना र आकाङ्क्षा खोज्ने क्रममा उनी हाम्रो परम्परागत सोच, विभेदपूर्ण सामाजिक व्यवस्था र पुरातन संस्कार दोषी रहेको ठहर गर्दछिन् । नारीहरूको साख, स्वाभिमान र आत्मनिर्भरता खोज्ने कवयित्री सामाजिक बन्धन, कुप्रथा र विभेदको आलोचना गर्दै सुधारको याचना गर्दछिन् ।

नारी केन्द्रीयता तीलारुपाका कविताको एक मूलभूत विशेषता हो । यसका अलावा उनका कवितामा समसामयिकता, मानवीय प्रेम, अतीतको सम्झना र जीवनका सुखदुःखका मार्मिक अनुभूति कविता पढ्न पाइन्छ । उनका केही कविता मानवीय प्रेमभन्दा अलिक पर देश र माटो प्रेममा समर्पित छन् ।
यसरी सिर्जनाको पृथक् संसार निर्माण गर्ने कवयित्री तीलारुपाको ‘गल्ली गल्लीको गीत’ एउटा पठनीय कृतिका रुपा हामी माझ आएको छ । शिल्प-शैलीका दृष्टिले पनि यी कविता ओजनीला छन् । डिस्कोर्स पब्लिकेसन र साहित्य परिषद्–भूटानले निकालेको प्रस्तुत कृति सन् २०१७ मा प्रकाशित भएको थियो । १५९ पृष्ठ रहेको यस कृतिमा जम्मा ४६ वटा कविता समाविष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *