कृति परिचय-४: प्रलयाग्निको सङ्घारबाट (कवितासंग्रह)

कृति: प्रलयाग्निको सङ्घारबाट
विधा: कविता
कृतिकार: पुरानाघरे

प्रलयाग्निको सङ्घारबाटको आवरण

प्रकाशन मिति: २०६६
प्रकाश: स्व. गोपाल खड्काका तर्फबाट
आवरण: धनबहादुर सारू

प्रलयाग्निको सङ्घारबाट कवि पुरानाघरेको पहिलो प्रकाशित कविता सङ्ग्रह हो। यस सङ्ग्रहमा जम्मा ३३ वटा कविताहरू सङ्ग्रहित छन्। शीर्ष कविता प्रलयाग्निको सङ्घारबाट यिनै मध्येको एउटा कविता हो। यो कविता सङ्ग्रह कविको पहिलो प्रकाशित कृति भए पनि उनको लामो साहित्य साधनापछि जन्मिएको यस कृतिलाई समीक्षकहरूले एउटा स्तरीय सङ्ग्रह भनेका छन्।

यस सङ्ग्रहमा सङ्ग्रहित पुरानाघरेका कविताहरूमा सबै प्रकारका भावनाहरू मुखरित भएको पाइन्छ। विशेष गरी सामाजिक सन्दर्भलाई आधार बनाएर लेखिएका उनका कविताहरूमा भावको सघनता पाइन्छ। यस सङ्ग्रहमा नारी जन्य पीडा, सामाजिक कुसंस्कार, देश छोड्नुको पीडा, निरंकुशता विरुद्धको स्वर एक साथ मुखरित भएका छन् ।

यस सङ्ग्रहका कविताहरूलाई मूल्याङ्कन गर्दै कृतिको भूमिकामा समीक्षक शिव रेग्मी प्रणतले कवि “देश पुनर्निर्माणलाई आक्रोशित छन्” भनेका छन् । प्रणतले पुरानाघरेको यस कृतिको मेरुदण्ड नै देश भएको उल्लेख गरेका छन्। यी कविताहरू पढ्दा “कतै जोशले शरीरका रौँहरू ठाडा-ठाडा हुन्छन्, कतै पीडाले मन क्षतविक्षत हुन्छ, कतै समवेदनाले मन तरल हुन्छ र कतै आक्रोशले अङ्ग प्रत्यङ्ग सञ्चालित बन्छन्,” उनले लेखेका छन् । साहित्यकार मिश्र वैजयन्तीले यी कवितहरूलाई “माटो कविता” भनेकी छिन् ।

साधारण पाठकलाई यदाकदा यस सङ्ग्रहमा समावेश गरिएका केही कविताहरू क्लिष्ट पनि सक्छन् तर समग्रमा प्रलयाग्निको सङ्घारबाट एउटा स्तरीय र संग्रहणीय कृति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *