कृति परिचय ५: भूटानी नव सन्देश (पत्रिका)

कृति: भूटानी नव सन्देश्
विधा: पत्रिका
प्रकाशन मिति: सन् १९९२
स्थान: बनारस, भारत्
प्रकाशक: भूटान स्टुडेन्ट वेल्फेयर कमिटी

भूटानी नव सन्देश कुनै एकल कृति होइन, यो एउटा साहित्यिक पत्रिका थियो I यो पत्रिका भूटानबाट नेपाली तथा संस्कृतमा उच्च शिक्षा हासिल गर्न गएका विद्यार्थीहरूद्वारा भारतको बनारसबाट प्रकाशन गरिन्थ्यो I यस पत्रिकाका जम्माजम्मी ९ वटा अङ्क वार्षिक रूपमा प्रकाशित भएको पाइन्छ I सन् १९९२ मा बनारसमा ‘भूटान स्टूड़ेन्ट वेलफेयर कमिटी’को गठनका साथै पत्रिका प्रकाशनको कार्य पनि आरम्भ भएको थियो । ‘भूटानी नव सन्देश’ को पहिलो अङ्क पनि त्यही साल जन्मियो I सन् १९९५ मा उक्त संस्थाको नाम परिवर्तन गरेर “भूटान राष्ट्रिय छात्र सङ्गठन” बनाइयो, तर पत्रिका सोही नाममा प्रकाशन भइरह्यो I यस पत्रिकामा अनेक विद्वानहरू र विद्यार्थीहरूको योगदान रहेको पाइन्छ I छ जना प्रमुख सम्पादकहरूको सम्पादकत्वमा जम्मा नौ अङ्क प्रकाशित भएको देखिन्छ I

“साहित्य परिषद्,भूटान” को सन् २०१८ मा अमेरिकाको ओहायो राज्यको सिन्सिनार्टीमा भएको ऐतिहासिक सम्मेलनमा डा. लक्ष्मीनारायण ढकालद्वारा प्रस्तुत गरिएको “भूटानको नेपाली भाषा र साहित्यिक आन्दोलनमा बनारसको योगदान” विषयक कार्यपत्रमा प्रस्तुत गरिए अनुसार – “ सन् १९९२ मा भूटानी शरणार्थी समस्याको समाधान गरी पुनः स्वदेश फिर्ने अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूलाई एकीकरण गर्दै जनजागरण गर्न उक्त संस्थाले ‘भूटानी नव सन्देश’ नामक वार्षिक पत्रिकाको प्रकाशन आरम्भ गर्‍यो। सन् १९९२ देखि २००२ सम्म नौ अङ्क प्रकाशित भएको उक्त पत्रिका भागवत निरौला (अङ्क १), दामोदर भण्डारी (अङ्क २), रामकृष्ण ढकाल (अङ्क ३,४) केशव प्याकुरेल (अङ्क ५), यदुराम भण्डारी (अङ्क ६,७) र लक्ष्मीनारायण ढकाल (अङ्क ८,९) का सम्पादनमा निस्किएको पाइन्छ । यी पत्रिकाहरूमा समसामयिक राजनैतिक विषय सम्बन्धित लेखहरू,खोजमूलक र ऐतिहासिक आलेखहरूका साथै कविता, एकाङ्की, नाटक, निबन्ध, कथा आदि प्रकाशनमा आएका छन् I”

भारत भूमिबाट अध्ययन गर्न गएका भूटानी विद्यार्थीहरूको सत्प्रयासमा साहित्यिक क्षेत्रमा प्रकाशित सबै भन्दा प्रमुख र लामो समयसम्म प्रकाशित भएको यही एकमात्र पत्रिका पाइन्छ I यस पत्रिकाले समसामयिक राजनीतिलाई भन्दा पनि भाषा साहित्यलाई संरक्षण र संवर्धन गर्ने दिशामा अधिक काम गरेको देखिन्छ I यसमा प्रकाशित रचनाहरू निकै स्तरीय र साहित्यिक मूलधारमा लेखिएका पाइन्छन् I पुनर्वासको प्रक्रिया आरम्भ भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूको कमी र शरणार्थी शिविरबाट बनारस जाने क्रम पनि अवरुद्ध भएकाले यस पत्रिकाको ९ अङ्क भन्दा उताको यात्रा पनि टुङ्गिएको देखिन्छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *