कृति परिचय ६: जूनकीरी (सवाल-जवाफ गजल सङ्ग्रह)

स्रष्टा माया भट्टराईको दोस्रो एकल कृतिको रुपामा यही २०१९ को जुन महिनामा प्रकाशित ‘जूनकीरी‘ एक पृथक पहिचानको गजल सङ्ग्रह हो । यस सवाल-जवाफ गजल सङ्ग्रहमा जम्मा १०६ वटा गजलहरू सङ्ग्रहित भएका छन् जसमा ५६ वटा गजलहरू स्रष्टा माया भट्टराईले रचना गर्नु भएको छ भने अरू ५६ वटा गजलहरू विश्वका विभिन्न राष्ट्रहरूमा रहेका गजलकारहरुले सिर्जिनु भएको छ । कसैले सवाल अनि अरू कसैले जवाफ गजलका शेरहरूमै मीठो र रोचकिलो तरिकाले लेखिएको यस सवाल-जवाफ गजल सङ्ग्रहमा माया भट्टराईले कतै सवाल गर्नु भएको छ भने कतै अरू गजलकारहरुले गरेको सवालको जवाफ लेख्नु भएको छ। आफ्ना चिनजान र सामाजिक सञ्जालमा सम्पर्कमा रहेका धेरैजसो गजलकारहरुलाई समेट्नु भएको छ ।

यसै सङ्ग्रहको भूमिकामा साहित्यकार खेम रिजाल लेख्नुहुन्छ, “आधारभूत प्रसङ्ग उठाउँदा, अधिकाङ्श गजलहरू मुसलसल वर्गमा केन्द्रित छन् भने आंशिक मात्रै गैर-मुसलसलमा पाइन्छन् । गजलहरू पढ्दै जाँदा केहीमा मायाप्रीति र अनुभूतिका पक्षमा कृष्ण भागवानलाई नायक बनाएर आफ्नो निजी प्रेम भावलाई प्रस्तुत गरिएको छ ।”

रदिफ र काफियालाई राम्रो ध्यान लगाएर मिलाइए पनि कतै पूर्ण काफिया त कतै एकाक्षरी काफिया प्रयोग गरिएको छ । कति सवाल भनिएका गजलहरू सवाल जस्ता नलागेता पनि जवाफ प्रसङ्ग मिलाएर लेखिएका छन् भने कति साँच्ची कै सवालहरू छन्, जुवारी जस्तै लाग्ने । गजल त्यसै पनि नियम भित्र बाँधिएर लेखिनु पर्ने विधा, त्यसमाथि सोधिएको प्रश्नको प्रसङ्ग मिलाएर उत्तर दिनु पर्ने हुँदा गजल लेखन अझ बाँधिएको छ; परिष्कृत बनेको छ । समसामयिक विषयवस्तुका उतार-चढावहरुलाई, दैनिकी जीवन यापनमा आइपर्ने दु:ख, कष्ट, खुसी, प्रेम मिलाप/वियोग जस्ता देखि लिएर नेपालमा बेरोजगारीको समस्याले गर्दा बिदेसिनु पर्ने बाध्यता र त्यसले निम्त्याउने वियोग, विलाप र चाडबाडमा हुने पारिवारिक विचलनहरू जस्ता विषयलाई शेरहरूमा कुँदिएका छन् । यो एउटा नवीन शैली लिएर पृथक् कृति जन्मिएको छ गजल क्षेत्रमा । यसै गजलभित्रको एउटा रोचक प्रश्न र जवाफलाई उदाहरणका रूपमा हेर्दा गजल नपढ्ने व्यक्तिले पनि यस कृतिलाई आनन्द विभोर हुँदै पढ्नेछन् पाठकहरूले भन्दा अत्युक्ति नहोला ।

माया भट्टराई प्रश्न गर्नु हुन्छ:-

घरमा बुढी होलिन् भन्दा, छैन भन्या हैन अस्ति
तर, अहिले दोधार कुरा गर्दै किन टार्छौ तिमी ?

यसमा अर्का गजलकार मदन दुलाल जवाफ लेख्नु हुन्छ :-

बुढी-आमा भनेको हुँ, पत्नी-बुढी भन्या होइन
उल्टो सुन्यौ सायद तिमीले, टारेको छैन सानु ।

भूमिका, शुभकामना, प्रकाशकीय र गजलकारको मन्तव्य सहित गरी जम्मा ११६ पृष्ठको यो कृतिमा सुन्दर आवरण भएता पनि आवरण कसको हो भन्ने खुलेको छैन । मातृभाषा संरक्षण समूहको प्रकाशन रहेको यस कृतिको मूल्य अमेरिकी डलर दस रहेको छ भने नेपाली रुपयाँ रु १०१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *