कृति परिचय ८: अलबिदा बेलडाँगी

कृति: अलबिदा बेलडाँगी
विधा: निबन्धात्मक/समीक्षात्मक आलेख सङ्ग्रह
लेखक: शिवलाल दाहाल
प्रकाशक: डिस्कोर्स पब्लिकेसन्
संस्करण: पहिलो-मङ्सिर २०७०
मूल्य:अमेरिकी डलर १५/-    नेपाली रुपैयाँ २००/-

शिवलाल दाहाल कृत अलबिदा बेलडाँगी निबन्ध र समीक्षाहरूको बेजोड सँगालो हो । यसमा १४ वटा संस्मरणात्मक निबन्धहरू छन्, ७ वटा समीक्षाहरू छन् र ३ वटा खोजमूलक लेखहरू छन् । यस अलावा दाहालका आकाशगङ्गामा तरङ्गिएको पानीजहाज कविता सङ्ग्रह (२००४) र तुर्सा कविता सङ्ग्रह (२०१२) प्रकाशित छन्।  त्यस्तै दाहालले सम्झनाका खण्डित आकृतिहरू (भूटानी कविहरूका प्रतिनिधि कविताहरू) २०१० र साहित्यिक पत्रिका मूल्यबोधको सम्पादन गरी प्रकाशन गरेका छन् । भूट्निज लिटरेचर डटकममा दाहालका झन्डै पाँच दर्जन लेख रचनाहरू प्रकाशित भइसकेछन् ।

भूटानी नेपाली साहित्यमा दाहाल मुलत: कवि हुन् र साथसाथै पहिलो दर्जाका समीक्षक, समालोचक, अध्येता र चिन्तक पनि हुन् । अलबिदा बेलडाँगीमा सङ्कलित निबन्धहरूमा उनले आफ्नो मातृभूमि प्रतिको अगाध प्रेमलाई भावनाको अति गहिरो तरङ्गमा डुबेर हृदय छुने अभिव्यक्ति सरल तर मीठो भाषामा पोखेका छन् । जब एउटा समाज भत्कन्छ तब रीति-थिति, भाषा-साहित्य र रहन सहन (अस्तित्व) सबै बिलाएर जाने अति प्रबल सम्भावना रहन्छ । पुनर्वासको क्रमले निम्त्याएको कोलाहल र सामाजिक मान्यताहरूको क्रमभङ्गताले बेलडाँगीको विलयसँगै भाषा-संस्कृतिको पनि विलय हुन लागेको देखेर दाहाल यसरी विरह पोख्छन्: “हाम्रो उभिने धरातल विभाजित भइसक्यो । हाम्रो ओतिने आकाश, हाम्रो अस्तित्व खण्डखण्ड भइसक्यो । अहँ, लेख्न सक्तिनँ यो वियोगान्त कथा । आफ्नै विलयनको कथा । बेलडाँगीको विलयको कथा ।”

‘धनेहरु निरन्तर हिँडिरहे’, ‘बिदाइको वेला’, ‘आश्ना’, ‘साक्षी’, ‘सपनाको समाधि’, ‘भग्न पर्खालको सयपत्री’ जस्ता गहन कृतिहरू माथि गहन अध्ययन गरी कृतिका सबै पक्षहरूलाई केलाएर, विधागत हिसाबले कृतिहरूमा हुनुपर्ने तत्त्वहरूको आकलन गरी विस्तृत समीक्षा गरिएको छ र यही पक्ष नै यो कृतिको मूर्धन्य अङ्ग पनि बनेको छ । यसै कृतिको भूमिकामा प्रसिद्ध साहित्यकार प्राध्यापक डा० अभि सुबेदी लेख्छन्: “यो किताबको विषयमा परिचयको दृष्टिले धेरै लेखिरहनुको अर्थ छैन । यस सङ्कलनका प्रत्येक आलेखहरू वाचाल छन् । तिनका संरचना विविध छन् । ती संस्मरणात्मक छन् । समीक्षात्मक छन् । इतिहास बोधमा समर्पित शब्द विम्बहरूले सुसज्जित छन् । सबै आलेख लेखकको जीवन र उसको गुमेको राष्ट्रसँग सम्बन्धित छन् ।”  त्यसरी नै दाहालको समीक्षा लेखन कलालाई डा० सुबेदीले यसरी पुष्टि गरेका छन्: “दाहालको साहित्यिक समीक्षा लेख्ने पद्धति र उनको साहित्यिक दृष्टिको सूक्षमता हेर्दा उनी एक कुशल स्रष्टा र समीक्षक हुन् भन्ने देखिन्छ ।”

यस कृतिका सम्पादक डा० तारालाल श्रेष्ठले भनेका छन्: “शिवलाल दाहालको आजसम्मको शरणार्थी-जीवन सङ्घर्ष, सिर्जना र समीक्षा लेखनी आशावादी देखिन्छ । थप सशक्तताका साथ उनी ‘धनेहरु निरन्तर हिँडिरहे झैं आधुनिक धनेको विम्ब बनेर अघि बढुन् । अमेरिका उड्नुअघि निकै जोखिम उठाई आफ्नो जन्मभूमिबाट सुटुक्क बोकी ल्याएको उही एक मुठ्ठी माटोलाई साक्षी राखेर साहित्यिक अनुष्ठानमा निरन्तर अघि बढिरहुन् ।”

यी आलेखहरू/निबन्धहरूमा पोखिएका मनोभावनाहरू लेखक दाहालको मात्र नभई सिङ्गो भूटानी समाज जसले दुई दशकभन्दा लामो समय आफ्नो मातृभूमि फर्केर जाने सपना देख्दै विश्वभरि विलयको बाटो रोज्न बाध्य हुने सबैको मनोदशा हो । सबैको चीत्कार हो । तर बेलडाँगीबाट विलय हुनु नै अन्त्य होइन, पुनर्वासपछि फेरि जुटेर उठ्नुको सुरुवात पनि हो भन्ने ज्ञात गराउँदछ । निबन्ध लेखनमा जसरी भावुकता र गहनताको पाटोलाई समेटेर मीठो र संस्मरणात्मक शैली अपनाउनु भएको छ त्यसरी नै समीक्षा लेख्ने शैलीलाई एउटा मानक रूप दिन सफल बन्नु भएको छ ।

समग्रमा अलबिदा बेलडाँगी पहिलो दर्जाको पठनीय कृति बन्न पुगेको छ र भूटानी साहित्यलाई नियाल्ने एउटा आँखीझ्याल पनि बन्न पुगेको छ । ‘भूटानी नेपाली लोक-साहित्यको एक चित्र’ र ‘भूटानी नेपाली साहित्यको विगत र वर्तमान’ लेखहरूका माध्यमबाट भूटानी नेपाली साहित्यको प्रवृत्ति र बहावलाई विश्लेषणात्मक रूपमा केलाएका छन् लेखक दाहालले ।

२१३ पृष्ठको अलबिदा बेलडाँगीमा डा० तारालालको सम्पादकत्व रहेको छ भने लक्ष्मण भुजेल र पवन खड्गीको आवरण सज्जा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *