कृति परिचय ९: दर्पण (कविता सङ्ग्रह)
कृति: दर्पण (कविता सङ्ग्रह)
कृतिकार (कवि): दधिराम लामिटारे अधिकारी
प्रकाशक: साहित्य परिषद् भुटान
संस्करण: प्रथम (२०७२)
आवरण सज्जा: जयराम कुइँकेल्
मूल्य: नेपाली रू २००/- अमेरिकी $ ५/-
४० वटा कविताहरूलाई समेटिएको कृति दर्पण कविता सङ्ग्रहलाई प्रकाशनमा ल्याउनु भन्दा अघि नै कवि दधिराम लामिटारे अधिकारीको वर्णाश्रम खण्डकाव्य (२००८) र जन्मभूमि महाकाव्य (२०१५) प्रकाशित भइसकेका छन् ।
खण्डकाव्य र महाकाव्य जस्ता गहन कृतिहरू पछि जन्मेको यो कविता सङ्ग्रहमा जीवन यापनका विविध पक्षहरूलाई केलाएर सामान्य जीवन दर्शनका कुरादेखि लिएर प्रेम, प्रकृति, मानवता, लोभ, भोक, तृष्णा, आदर्शका कुरा, भाषा-संस्कृति, जन्मभूमि प्रतिको प्रेम, दुःख कष्ट, ईश्वरीय स्तुति गान र राजनैतिक प्रसङ्गहरूलाई विषयवस्तु बनाएर आफ्नो सृजनालाई अघि बढाएका छन् ।
कविले जातीय विभेद, छुवाछुत प्रथा र वर्गीय असमानताका कुरालाई पनि विषयवस्तु बनाएका छन् दर्पणभित्रका कविताहरूमा । समग्रमा सामाजिक सुधारका विषयहरूलाई बलियो गरेर समातिएको।
झट्ट हेर्दा सबै कविताहरू छन्दोबद्ध झैँ लागे तापनि केही मात्र शास्त्रीय छन्दमा रचिएका छन् । जस्तै:- नववर्ष, वर्षा , रोगी जीवन, म दलित हुँ, भीषण आगलागी आदि शीर्षकका कविताहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ, साहित्य भूषण शीर्षकको कवितामा शिखरिणी छन्दको प्रयोग छ, विद्ध्य र अक्कल शीर्षकका कवितामा उपजाति छन्द प्रयोग गरिएको छ तर केही ठाउँमा अन्तिम अक्षर दीर्घ हुनुपर्नेमा ह्रस्व भएका छन् भने अरू केही कविताहरू छन्दमुक्त छन् तर पूर्ण रूपले चलनचल्तीका गद्य कविता भन्दा केही फरक शैलीका लाग्छन् । छन्दोबद्ध र छन्दमुक्त दुवै थरीका कविताहरूमा अन्त्यानुप्रासको सहयोगले लयात्मकयतामा केही थप ऊर्जा थपेको छ। लेखकको परिचय जस्ता एकाध कविता बाहेक प्राय सबै कविताहरू छोटा आकारका छन् ।
यसै कृतिको मन्तव्यमा डा० यादवप्रकाश लामिछानेले सबै शीर्षकका कविताहरूमाथि छोटा-छरिता व्याख्या गरेका छन् । उनी लेख्छन् “कवितात्मक अभिव्यक्तिका क्रममा भाषा, संस्कृति, नीति सन्देश, राष्ट्र प्रेम आदि पक्ष प्रकटित छन् । कविभित्रको कवि छटपटिएको छ, आन्दोलित छ तर व्यवस्थित छ । उनीभित्रको कवित्व चेत प्रबल छ ।”
साहित्य परिषद् भुटानका तत्कालीन अध्यक्ष भक्त घिमिरेले “अधिकांश कविताहरूमा पद्य शैलीको छन्दोबद्ध प्रारूप दिन खोजिएकाले भाषा संयोजन र व्याकरणमय सिद्धान्तहरू तोडिएका छन् ” भनी लेखेका छन् । त्यसरी नै शिवलाल दाहाल लेख्छन् , “यी कविता सामान्य लाग्छन् । केही कविता छन्दबद्ध छन् केही छन्दविहीन । छन्दबद्ध कवितामा हुनु पर्ने भावनात्मक संवेग, रस, गुण, अलङ्कार, लालित्य आदी खास भेट्दिनँ । तर यस किसिमका साहित्यिक तत्त्वहरूका कसीमा राखेर यी कविताहरू पढिरहनु पर्दैन कि भन्ने लाग्छ ।”
१४६ पृष्ठको यस कृतिमा पहिलो ३० पृष्ठ मन्तव्य र भूमिकाले ओगटेको छ । दर्पणलाई नियालेर पढ्दा एउटा लामो इतिहासलाई खोतलेको अनुभव हुन्छ ।