केटी माग्न जाँदा
आइ.पी.अधिकारी
अष्ट्रेलिया
रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण । ऊ सधैं सुत्ने कोठा पनि हैन, पलङ पनि । बिरानो ठाउँमा छ । उसलाई कुनै रोग लागेको हैन, न पेय पदार्थको माद । जन्तर-मन्तर वा भुत-प्रेतमा विश्वास नगर्ने भएका कारण उसलाई त्यसप्रति शंका पनि छैन । राती अबेरसम्म बेनिद्रा छट्पटाइरह्यो । मनमा के के कुरा खेलिरहे । जिन्दगीकै विषयमा, जीवन जिउने विषयमा ।
अघिल्लो दिन बिहानदेखि नै उसको मन पोलेको हो । धेरै छट्पटाहट्, पीडा अनि आत्मग्लानी । गरेका काममा कति पनि सन्तुष्टि छैन । काममा ध्यान गएन । मनको पीडा अक्षरमा पोख्न खोज्छ तर, हातले कलम समाउँदैन, सही अक्षर बन्दैन, उपयुक्त शब्द निस्कँदैन । उसलाई एकलै बसेर रुन मन लाग्यो । बन-जंगल, हरिया रुख-पात र प्रकृतिलाई रोएर सुनाउन मन लाग्यो । मनको बह पोख्न मन लाग्यो । निर्जन ठाउँमा बस्ने रहर जागेको छ, दिनदिनैको कोलाहल र चहलपहलबाट धेरै टाढा । तर बाध्यता हो, चाहेर पनि उसले त्यस्तो ठाउँ पाउने अवस्था छैन । मनको बह दबाएर राख्नु छ उसलाई ।
अघिल्लो दिनभरि बसको यात्रामा मन पोलिरह्यो । यात्राभर अनेक थरी कुरा मनमा खेलायो । विगतका दिनहरु सम्झ्यो । ती कति रमाइला र खुशीका दिन थिए । मनमा उमंग थियो, जीउमा जाँगर थियो अनि सोचेका हरेक कुरा पुगेका थिए । आफन्त, नातेदार वा साथी-संगी कसैको सहायताबिना पनि उसले कैयन सफलताका पाइला सारेको थियो । कति धेरै गर्ने जाँगर थियो – २४सै घण्टा काम गर्नसक्ने खुबी थियो । थालेको काम फत्ते नगरी ऊ कहिल्यै पछि हट्नु परेको पनि थिएन ।
ती सफलताका दिनहरु इतिहास बनेजस्तो लाग्छ महेशलाई आज । फर्केर आउने आश थोरै छ, यद्यपि विश्वास छैन । मौका आउँछ पर्खदैन भने झैं उसलाई लागेको छ, उसले मौकामा गर्नुपर्ने काम गरेन । काम यति धेरै गर्यो, कुन छुटाएको छु भन्ने उसले सोच्न भ्याएको थिएन । १८ बर्ष हुँदा परिवारबाट अलग रहेर आफैं जिउन उसले सिक्यो । एउटा स्वावलम्बी र स्वतन्त्र जीवन अनि समाजको जिम्मेवार सदस्य ।
महेशले समाजमा एउटा आन्दोलन नै हाँकेको थियो । हरेक विषयमा समाजको आँखा खोल्ने उसको त्यो आन्दोलनले ठूलै परिवर्तन ल्याएको थियो । सतही रुपमा हेर्दा ठूलो हल्ला नै त भएको हैन तर, समाजका हरेक सदस्यलाई कुनै पनि विषयमा सचेत बनाउने अभिभारा जो स्वयं सम्हालेको थियो, त्यो भन्दा अघि कसैले पनि गर्ने आँट गरेको थएन । रात-दिन त्यसैमा लागिमात्र परेन ऊ कैयौ दिन भोकै पनि बस्यो तर, थालेको आन्दोलनबाट कति पनि पछि हटेन, यात्राबाट कतिपनि विचलित बनेन ।
समाजमा उसलाई नचिन्ने कमै थिए । हिजो एक आँखाले पनि नहेर्ने, गन्तिसम्म नगर्नेहरु उसका सफलताबाट अवाक भ’का छन् । हिजो नमस्कार नभन्दा गाली खाएकाबाटै महेश नमस्कार पाउन थालेको छ । इज्जत, नाम, दाम सब पा’को छ । भौतिकरुपमा अपुग उसका लागि केही छैन । आफैंले सृष्टि जोडेको हो, चाहेको खण्डमा अरु पनि जोड्न सक्छ । आँट छ, जाँगर छ, साहस छ । उसलाई लाग्छ, यो आँट, जाँगर र साहस जिन्दगीभर रहने छ अनि विश्वास छ, उसले त्यस्तो प्रणलाई जीवन्त राख्ने छ ।
ढोकामा कसैले ढकढक गर्यो । उ झल्याँस्स भयो । तन्द्रा छुटेको छैन । जीउ भारी भ’को छ । विगतका कल्पना सपनासरी छन् । बाहिरबाट उसलाई कसैले बोलायो । चिया-खाजा खाने बेला भएछ । कता-कता अप्ठेरो लाग्यो उसलाई, अर्काको घरमा बोलाउनु पर्ने बेलासम्म सुतेछ । यद्यपि उसमा उठ्ने जाँगर छैन । करले उठ्यो । ऊ घुम्न हिँडेको हो, चिया-खाजा खाएर साथीहरुका साथ नयाँ ठाउँको भ्रमणमा जानु छ । मनको पीडा लुकाउनु शिवाय अरु उपाय छैन । फूर्ती देखिनु छ, नत्र साथीहरुले नै अल्छी भन्लान भन्ने डर !
उकालोमा कार बेगले दौडँदैछ । घुमाउरो पहाडी बाटो, निकै रमाइलो छ । बायाँबाट तल उपत्यकामा बसेको रमणीय शहर झलमल्ल देखिएको छ । छेउछाउ गुराँस र अरु धेरै फूल फुलेका छन् । चराचुरुङ्गीको मीठो स्वर गुञ्जीदैछ । यी सबै दृश्यहरुले भने महेशको मन तान्न सकेको छैन । उ आफ्नै कल्पनामा डुबेको छ ।
दोस्रो पटक उसको प्रयास विफल भएको छ, त्यो पनि एउटै विषयमा – जीवन संगिनीको खोजीमा । पढ्दा ताका कैयौं केटी साथीहरु थिए तर, प्रेमिका बनाउने ध्याउन्नमा ऊ लागेन । प्रेम प्रगतिको बाधक हो भन्ने विचार उसमा कसैले रोपिदिएको थियो । कैयौं बर्षसम्म उसले यो विचार परिवर्तन गर्ने मौका पाएन । व्यस्तताका कारण यतातिर सोच्न पनि भ्याएन । त्यसको परिणति अहिले भोग्दैछु जस्तो लाग्छ उसलाई ।
उसलाई राम्रो थाहा छ, बिहेको बिषय गहन हो । महिलाले आफ्नो पुरै परिवार, आफन्त त्यागेर उसँग आउने छिन् । आफू त्यसो गर्नसक्ने कल्पनासम्म पनि गर्न गार्हो छ । महिलाले आफ्नो पतिका लागि गर्ने त्यो त्याग र बलिदान सामान्य ममता र दैनिक व्यवहारले मात्र पूर्ति हुन्न । महिलाले आफ्नो थर र गोत्र मास्दैछन् । दश महिना बोकेर, अनेक दु:ख सहेर छोरा-छोरी हुर्काए पनि समाजले तिनलाई बाबुका मात्र छोराछोरी जस्तो ठान्छ । उसले सुनेको छैन कुनै पनि छोरा-छोरीले आफ्नी आमाको थरलाई निरन्तरता दिएको । आफ्नो वंशलाई नै तिलाञ्जली दिनसक्ने आमाको त्यो त्यागप्रति ऊ अगाध आस्था राख्छ । कता-कता उसलाई आफू आमाको थरमा जान मनलाग्छ तर, सामाजिक संस्कारअनुसार त्यो सम्भव छैन, रातारात उसले त्यसलाई परिवर्तन गर्नसक्ने पनि हैन । के विश्वास पालेको छ भने, उसका सन्तानले सिर्फ उसको मात्र थर ग्रहण गर्ने छैनन् । उसलो सोचेको यो धेरैमध्ये एउटा सामाजिक आन्दोलन हो ।
हिजो दोस्रोचोटि उसको विवाह प्रस्ताव असफल भयो । भाग्य नै त्यस्तो भनौ वा ऊ असक्षम, छुट्याउन उसलाई गार्हो भएको छ । उसले सुनेको थियो केटीहरु आफ्नो पति छान्ने क्रममा निकै संवेदनशील हुन्छन् । उनीहरु धेरै प्रगति गरेका र सक्षम पति चाहन्छन् । त्यसो त केटाहरु पनि त्यही चाहन्छन् ।
पहिलो प्रयासमा उसले आफ्ना प्रगतिका कथाहरु सबै बताएको थियो । आफ्नो कामको बारे राम्रो जानकारी दिएको थियो । उत्तर अप्रत्यासित आयो – कस्तो फुर्के केटो रै’छ । आफ्नै बारे पुराण लाउने ! दोस्रो प्रयासमा उसले आफ्नो बारे केही बताएन तर, उत्तर फेरी अनौठो नै आयो – यतिका उमेरसम्म केही गर्न नसक्नेले कसरी श्रीमती पाल्छन् ?
भन्दा पनि नहुने, नभन्दा पनि नहुने कस्तो अनौठो परिस्थिति ।
महेशले यो बुझ्न सकेन कि केटीहरु प्रगति वा अधोगति हैन, आफ्नो हुनेवाला पतिप्रति विश्वस्त हुन चाहन्छन् । विश्वास नै दाम्पत्य जीवनको आधार हो, सुखी जीवनको मेरुदण्ड । विश्वास भनेर हुँदैन, देखाएर देखिँदैन, गरेर प्रमाणित हुनुपर्छ । व्यवहार विश्वासको आधार हो, पारिवारिक जीवनको पूर्वाभास ।
गाडी घच्याक्क रोकियो । महेश झसंग भयो ! निद्राबाट व्युँझे झैं भयो । गाडी त पहाडको चुचुरोमा पुगेछ । उपत्यकाको रमणीय दृश्य हेर्न साथीहरुसँगै ऊ पनि गाडीबाट बाहिर निस्क्यो । चिसो हावा बहिरहेको थियो । मन हलुका भयो, शितल भयो !
Adhikari blogs at ipajournal.wordpress.com
Ip ji,
I appreciate ur way of presentation of the story.Do write more.At the same time i m trying to bring anthology of bhutanese nepali stories in near future.hope u will not forget to send a few stories by 2 months.
nice piece,,good presentation,,