केन्द्रिकृत पाठ्यक्रम र भाषाशिक्षा आयोगको अपरिहार्यता
डा. लक्ष्मीनारायण ढकाल केन्टकी,अमेरिका
हामी नेपाल बाहिर बसोबास गर्दै आएका सम्पूर्ण नेपाली भाषीहरूका निम्ति भाषाको समस्या एक प्रमुख समस्या भएको छ I हुनता हामी अन्य विविध समस्याहरू पनि झेल्दै नआएका होइनौं ,तर भाषाको समस्या अरू समस्याहरू भन्दा जटील समस्या हो,किनकि यो समस्या हाम्रो जातीय अस्तित्वसँग जोडिएको छ I हिँजोआज धेरै परिवारमा हाम्रा नानीहरू र हाम्रा बाबा आमाका बीचमा संवाद हुन छोडेको छ ,किनकि उनीहरू एक अर्काका कुरा बुझ्दैनन् I यो जति संवेदनशील कुरो केनैपो हुन सक्छ र !
भाषा घरबाटै जन्मिने कुरा हो I भाषालाई बोलेर जन्माउनु पर्छ र पढेर अनि लेखेर बचाउनु पर्छ I यदि हामी अभिभावकहरूले मातृभाषानै बोलेनौं भने हाम्रा नानीहरूले कहाँबाट सिक्छन् ? किनकि भाषा आमा बाबा र परिवारजनले बोलेको सुनेर नानीहरूले सिक्ने हुन् I हामीबीच ६० प्रतिशत परिवार अंग्रेजी भाषा बोल्नुमानै गौरव ठान्दछन् ,नानीहरूका अंग्रेजी नाम राख्नुमानै आफुलाई अत्याधुनिक भएको मान्दछन् I यिनीहरूलाई मातृभाषाको मूल्याबोध छैन I अर्को ३० प्रतिशत परिवारका नानीहरू केही मात्रमा मातृभाषा बोल्छन् ,तर उनीहरूलाई भाषा शिक्षणको व्यवस्था छैन I शेष १० प्रतिशत परिवार जागरुक हुनाले उनीहरूका नानीहरू शुद्ध रूपमा मातृभाषाको प्रयोग गर्दछन् र प्रगति पनि गरिरहेका छन् ,किनकि यी नानीहरू आफ्ना नगरमा संचालित भाषा कक्षाहरूमा जान्छन् र घरमा पनि भाषाको वातावरण छ I तरपनि संचालित भाषा कक्षाहरूमा समुचित पाठ्यक्रम र पाठ्यपुस्तक आदिको अभावनै छ I यही अभावलाई परिपूर्ति गर्न साहित्य परिषद ,भूटानको शिक्षा विभागले भर्खरै पहिलो तहको पाठ्यक्रम तयार गरेको अवस्था छ I यो पक्कै पनि सकारात्मक पहल र महत्वपूर्ण उपलब्धि पनि हो I
यी माथिका समस्याहरूसँग जोडिएका अन्य केही समस्याहरू पनि छन् I ती समस्याहरू हुन् -१. केन्द्रिकृत पाठ्यक्रमको निर्माण गरिनुपर्ने २. शिक्षा बोर्डको गठन गरिनुपर्ने र ३ स्थानीय शिक्षा विभागमा दोस्रो भाषाका रूपमा नेपाली भाषालाई मान्यता दिलाउनु पर्ने I
जबसम्म हामी बसोवास गर्दैगरेका देशहरूमा स्थानीय शिक्षा विभागमा आफ्नो भाषालाई दर्जा गराउन सक्दैनौं, तबसम्म हाम्रो उपस्थितिको परिपुष्टि र भाषाको संरक्षणको आधार बन्न सक्दैन I जबसम्म शिक्षा व्यवस्थामा भाषाको स्थान सुरक्षित र संरक्षित हुँदैन हाम्रा नानीहरूले पढ्ने सम्भावना पनि कम हुन्छ ,किनकि उनीहरूले पढिने कोर्समा भाषाका लागि क्रेडिट मिल्दैन र अर्को कुरो नेपाली भाषामा रोजगारको एउटा स्थायी र दर्बिलो सम्भावना रहँदैन I अर्को महत्वपूर्ण कुरो जाति र संस्कृतिको पहिचानको आधारनै भाषा भएकाले यस समाजको शैक्षिक रूपमा नागरिक हकको पुष्टि हुनसक्दैन I त्यसैले नेपालीभाषी समाजले आफ्नो मातृभाषालाई क्रेडिट दिलाउनै पर्छ I भाषाले क्रेडिट पाउनेवित्तिकै सम्बन्धित भाषामा रोजगारीको सम्भावना त बढ्नेनै छ , बहुभाषिक योग्यता र प्रमाण पत्रले प्रत्येक रोजगारमा थप योग्यता र प्राथमिकता पनि मिल्नेछ I
भाषाको मान्यता दिलाउनालाई समाजले लगभग जनसंख्याको ५० प्रतिशत भन्दा माथिको संख्यामा भाषा अध्ययनप्रतिको इच्छा र लगनशीलताको प्रदर्शन गर्न आवश्यक छ I यो इच्छा र लगनशीलतालाई भावनात्मक र मौखिक रूपमा गरिएको व्यक्तिगत उपलब्धि र प्रयासले मात्र पुग्दैन I यसका लागि विभिन्न तहमा पहल र प्रदर्शन गर्दै दस्तावेजीकरण गरिन पनि अनिवार्य छ I भाषाप्रति गरिएको मया र पहल सामुदायिक स्तरमा उपलब्धिमूलक हुँदै बहुमतको उत्कट इच्छा र प्रदर्शनमा भर पर्नेछ I त्यसैले भाषा विकासका निम्ति गरिने प्रत्येक कार्यहरूको ठूलो संख्यामा पहल चाहिन्छ I लिखित दस्तावेज चाहिन्छ I समूहको एकमुष्ट आवाज र शक्ति प्रदर्शन चाहिन्छ ,किनकि त्यो मान्यता दिलाउने संयन्त्र राजनीतिक व्यवस्थामा आधारित शिक्षा विभागनै हो I
हामी जुन जुन देशमा र नगर हरूमा बस्दैछौं ,केही क्षेत्रहरूमा भाषा कक्षा चलाउदैछौँ ,तर यी कक्षाहरू जनसंख्याका आधारमा पर्याप्त छैनन् I नियमित छैनन् र व्यवस्थित पनि छैनन् I यी कक्षाहरूका संख्यामा गुणात्मक वृद्धि गर्न आवश्यक छ I यसका लागि प्रत्येक अभिभावकले जागरुक हुन र लगानी गर्नसमेत अघि आउँनु पर्दछ I
यो सिंगो अभियानमा चाहिने आधारभूत कुराहरूमा निकै कुराको अभाव छ ,कमी छ र कमजोरीहरू पनि छन् I यी अभाव र कमीकमजोरीहरूलाई हामिले समयमै बुझेर सतर्कता अपनाउन नसके हामीले भविष्यमा ठूलो नोक्सानी भोग्नुपर्ने हुन्छ I त्यसैले ती सम्पूर्ण आवश्यकताहरूका परिपूर्तिका लागि अब हामिले ढिला गर्नु हुँदैन I अब भोलीलाई पर्खिने समय छैन ,त्यसैपनि भोली कदापि आउँदैन र भोलिलाई थाँतीमा राख्ने मानिस सधैँ घाटामा जान्छ I त्यसैले अब हामीले मातृभाषालाई संरक्षित र संवर्धित गर्न निम्न योजनाहरूमा जागरुकताका साथ पहल गर्नैपर्छ I
(क) प्रत्येक अभिभावकलाई जागरुक बनाउने योजना !
(ख) भाषा कक्षाहरूको संख्या बढाउने योजना !
(ग) आफ्ना नानीहरूलाई भाषा कक्षमा पठाउने योजना !
(घ) केन्द्रीकृत पाठ्यक्रमको निर्माण गर्ने योजना ! ( यो आरम्भ भैसकेको छ )
(ङ्) सबै पाठ्य पुस्तकहरू उक्त पाठ्यक्रमका आधारमानै तयार गर्ने योजना !
(च) शिक्षक प्रशिक्षणको व्यवस्था गर्ने योजना !
(छ) भाषा शिक्षा आयोगको गठन गर्ने योजना !
(ज) आयोगका दिशानिर्देशनमा सबै योजनाहरू संचालित गर्ने योजना !
(झा) भाषालाई मान्यता दिलाउन एउटैमा छातामुनि रहेर काम गर्ने योजना !
अब प्रश्न उठ्छ यी योजनाहरूलाई कसले निर्माण गर्ने ? कसले पहल गर्ने ? उत्तर हो – यो दायित्व तपाइँ हामी सबैको हो ! भाषा र साहित्यका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको हो ! शिक्षाविद् र भाषाविदहरूको हो ! अनि सबै अभिभावकहरूको हो !
केन्द्रीकृत पाठ्यक्रम निर्माणको पहल साहित्य परिषद भूटानले आरम्भ गरिसकेको छ र पहिलो तहको पाठ्यक्रम पनि सार्वजनिक भैसकेको छ I अब यो कर्ममा आगाडीका तहहरूका लागि निरन्तरता हुन आवश्यक छ I त्यस्तै नै केन्द्रीय तहको भाषा शिक्षा आयोगको समावेशी गठन गर्ने र माथिका योजनाहरूलाई कार्यान्वयन गर्ने दायित्व पनि समयले साहित्य परिषद भूटानलाईनै पर्खिरहेको छ ,अब सबैले हातेमालो गरेर निश्वार्थ र पूर्वाग्रह रहित भएर यस महायज्ञमा सहभागी बन्न हामी सबैले तैयार हुन अत्यावश्यक देखिन्छ !