केन्समा भानु जयन्ती, कोलम्बसमा कृति विमोचन

केन्स भूटानी समुदायिक संगठनका अध्यक्ष तेजमान रायका केही ढिलो गरी प्राप्त समाचार अनुसार अष्ट्रेलीयाको केन्स नगरीका नेपालीभाषी भूटानीहरूले जुलाई १८ तारिख शनिबार सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाए । आदिकवि जस्ता विभूतिको जन्मजयन्ती पढेलेखेका वा सम्भ्रान्त वर्गले मात्र नभएर सिङ्गो समाजले व्यापक रूपमा मनाउनुपर्ने तर्क गर्दै पर्वको रूपमा भानुजयन्ती समारोह आयोजना गरिएको त्यहाँका आयोजकहरूले बताएका छन् ।

पण्डित नन्दुराम दाहालले स्वस्ती वाचन र क्विस्लैण्ड राज्य सरकारको  समाज, महिला तथा युवा र बालसुरक्षा तथा वहुल सांस्कृतिक सरोकार मन्त्री माननीय श्यानन फेन्टीमेन (Hon. Shannon Fentiman MP.) का विशेष प्रतिनिधि एवं केन्सका स्थानीय सांसद रब पायनले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । “यो राज्यको वहुलसंस्कृतिमा भूटानीहरूलाई पुनर्स्थापित गराएसँगै नौलो तर, सुन्दर संस्कृतिलाई भित्र्याउन पाएकोमा यो क्विन्स्लैण्ड राज्य गर्व गर्दछ”,कार्यक्रममा सम्बोधन गर्दै पायनले भने,“तपाईँहरूले ल्याउनु भएको संस्कृतिले यो राज्यलाई अझ सुन्दर पारेकोछ ।” उनले भूटानीहरूले केन्सको अर्थतन्त्रलाई टेवा पुर्याएको भनेर पनि आभार प्रकट गरे।

अष्ट्रेलीयाको क्विन्सलैण्ड राज्य सरकारको आर्थिक सहयोगमा आयोजना गरिएको  उक्त समारोह निक्कै लामो तयारी पछि आयोजना गरिको थियो । कार्यक्रममा भानुभक्तकृत रामायणमा आधारित नाटक मञ्चन गरिएको थियो । चर्चित नाट्य कलाकार अङ्गमान राईद्वारा निर्मित सो नाटकको मञ्चनपछि दर्शकहरूले निक्कै प्रशंसा गरेका थिए। “म त त्यो नाटक हेर्नलाई नै भनेर आएकी थिएँ तर,साङ्गोपाङ्गो कार्यक्रम नै अति राम्रो लाग्यो”,कार्यक्रमको समापन पछि एकजना महिला दर्शकले निशूल्क वितरण गरिएको सेलरोटीको स्वाद लिँदै भनिन्। साथै सँगीनी, मारूनी र लोक तथा आधुनिक नृत्य अनि स्थानीय एवं अन्य देशमा रहेका भूटानी सर्जकहरूले पठाएका रचनाहरू प्रस्तुत गरिएको थियो । यसरी नैरामायण वाचन प्रतियोगिता पनि प्रबन्ध गरिएको थियो । सम्युक्त राज्य अमेरिकाका घनश्याम रेग्मी, क्यानाडाबाट रुपेश ढुङ्गाना र अष्ट्रेलीयाको सिड्नीबाट निमेष भण्डारी, अल्बेरीबाट दुर्गा रिमाल र एडिलेडबाट ईन्द्र अधिकारी र प्रकाश धमालाले आफ्ना रचना सम्प्रेषण गरेका थिए भने ती रचना स्थानीय साहित्यकार जगन पोख्रेल र जीवन कोईरालाले वाचन गरेका थिए । रामायण वाचनतर्फ हर्कधन मंगर, हेमलाल भण्डारी र चन्द्रा मिश्र क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

केन्स भुटनीज कम्युनिटी आयोजक संस्था रहेको सो कार्यक्रमको खाका बनाउनमा सहयोग गरेकोमा साहित्य परिषद: भूटानप्रति आभार व्यक्त गरिएको छभने रचना पठाउने सर्जकहरूप्रति पनि आभार व्यक्त गरिएको छ । आयोजकहरू विभिन्न देशमा रहेका स्रष्टाहरूद्वारा सम्प्रेषित रचनाहरू एउटै मञ्चबाट वाचन/प्रस्तुत गर्नाले भूटानी नेपाली साहित्यको हकमा नयाँ परम्पराको थालनी भएको दावी समेत गरिएको छ ।

यही सिलसिलामा अमेरिकाको कोलम्बसमा पनि भानुजयन्तीकै अवसर पारेर मातृभाषा संरक्षण समूहद्वारा प्रकाशित “समुद्रपारिका कलमहरु” नामक गजलसंग्रह साथै स्रष्टा प्रकाशनको संयोजकत्वमा प्रकाशित याम थुलुङका गजलकृति ‘गजलयाम’ तथा गजल एल्बम ‘आज’-को विमोचन गरियो ।

width="150"
कोलम्बस भानुजयन्ती तथा कृति विमोचन

कोलम्बस साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष अर्जुन रसाइलीको सभापतित्वमा सम्पन्न सो भानुजयन्ती तथा विमोचन कार्यक्रम जीबीएलओ उपाध्यक्ष लिला निशा र साहित्य परिषद-भूटानका अध्यक्ष भक्त घिमिरे, साहित्य परिषदकै संस्थापक तथा आजीवन सदस्य गंगा लामिटारेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले यसरी कृतिहरु प्रकाशन हुनुले भाषा-साहित्यको संरक्षण साथै सामाजिक अस्तित्व पहिचानमा टेवा पुग्ने बताए । आफ्नो विचार राख्ने सिलसिलामा साहित्य परिषदका सदस्य काशी लामिटारेले विभूती भानुभक्तको योगदान र भाषाको महत्वबारे प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा अष्ट्रेलियाबाट अमेरिका भ्रमणमा आएका अतिथि प्रल्हाद दाहाल र कोलम्बस निवासी ९० वर्षका गोविन्द प्याकुरेल आकर्षणको केन्द्र बनेका थिए । दाहालले अष्ट्रेलिया र अमेरिकामा पुनर्वाशपछिको भूटानी जनजीवनको तुलना गर्दै आफ्नो विचार प्रस्तुत गरेका थिए भने वृद्ध प्याकुरेलले भानुभक्त आचार्यकै सन्दर्भमा कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *