केयर गिभर

नबिन शर्मा भट्टराई
पेन्सिल्भिनिया, अमेरिका

“बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ।

माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम नतिरुन्जेल पनि पुर्णेले कतै ‘होस् बा यसपालि चाहिँदैन’ भन्छ की भन्ने आसामा त्यो भन्दा कम मूल्यका धेरै खेलौनाहरू देखाउँदै भकुण्डो फर्काउने आग्रह गरिरहन्छ। उसले मनमनै यति कमाउन गरेको आफ्नो परिश्रम सम्झन्छ।
बिहानै उठेर चिया-खाजा तयार गरेको, पुर्णेलाई खुवाएको, बा-आमालाई कोठामा पुर्‍याइ दिएको, माता-पिताको दवाई तयार गरी टेबुलमा राखिदिएको, आफ्नो कोठामा गएर कामका लागि तयार भएको, टिफिनकारीमा चाम्रे हालेर झोलामा राखेको, त्यतिकैमा उसकी बाहुनी रातभरि काम गरेर घर फर्केकी, उसलाई मायाले अङ्गालो हालेर चुम्बन गर्न पनि नपाई ‘होन्डा’ चढेर ‘रस स्टोरको’ गोदामतिर लागेको। दस घण्टा काम गरेपछि मरेर घण्टाको दस डलर कमाएको।
झस्किएर पुर्णेले रोजेको भकुण्डोको मूल्य हेर्छ, ‘बिस डलर’, उसको मुटु चसक्क दुख्छ।
त्यो दुखाइले भकुण्डो अमूल्य हुन्छ। परिश्रम गरेको छ, मिठो फलको आसा छ। तन चुस्त छ, मन प्रसन्न छ। कम्पनीमा बढुवाको अवसर छ। खान-पिनको तालमेल बनेको छ। कहिलेकाहीँ परिवार तथा आफन्तसँगको जमघट पनि चलिरहेकै छ। समयको तालमेल र खर्चमा नियन्त्रणले बचत पनि भइरहेकै छ।

अचानक उसलाई भेट्न एक दिन भक्ते आउँछ। कालो रङ्गको ‘क्याडाल्याक’, ढोका खोलेर बाहिर निस्कँदा माधव छक्क पर्छ। हातमा फायल, झोलामा ल्यावटव, मुखमा जर्दा, आँखामा ‘रे ब्यान’, नाडीमा ‘रोलेक्स’ र गलामा मोटो पहेँलो सिक्री, भक्तेको रूप-रङ्ग नै अद्भुत छ।
भक्ते माधवलाई ‘आइडिया’ दिन्छ। माधव उसको ‘आइडिया’ खुरुक्क किन्छ। अनि बुढा-बुढी भएका माता-पिताको स्वतन्त्रता छिन्छ र खुरुखुरु सरकारी ‘चेक’ लिन्छ।
आजकल माधव र माधवी दुवैले गोदाम धाउनु पर्दैन। परिश्रम गर्नु पर्दैन। उनीहरू आफ्नै माता-पिताका ‘केयर गिभर’ हुन, सरकारी ‘चेक’ घरमै आउँछ, धेरै पर्खनु पर्दैन। आजकल धाउनु पर्छ त केवल डाक्टर अफिस र ‘फार्मेसि’, बाँकी समय खालि खालि छ, कुनै हतार गर्नु पर्दैन।

आज माधवी सरितासँग नङ बनाउन ‘मल’ गएकी छ। माधव बेलुकी धेरैवेर टेलिभिजनमा क्रिकेट हेरेकाले ढिलो उठ्छ। आमाले तयार परिदिएको परौठा खाएर पुर्णेलाई साथ लिन्छ र बाटो पर्तिर तामाङको पसल जान्छ। दस डलरको गुट्खा लिन्छ। छोरालाई एक झोला ‘पोटेटो चिप्स’ दिएर भित्र कोठामा राखिएको ‘स्लट मिसिन’ सँग रमाइलो गर्छ। ‘स्लट मिसिन’ मा चार सय डलर हालेपछि उसले एक सय डलर जित्छ। उसलाई झल्याँस्स सम्झना आउँछ, आज ‘प्रोग्रेस एभेन्यु’ बाट साँलदाई, खगेन्द्र, चक्रे र उसका बाबु आउने दिन। उ मेसिनबाट ‘कुपन’ झिकेर आत्तिँदै तामाङसँग सय डलर नगद र दस डलरको थप गुट्खा लिएर घरतिर हान्निन्छ।

घर पुग्ने बित्तिकै तल्लो तलादेखि नै बाबुलाई पुकार्छ, “ ए पिता ! साँलदाईहरू आए त?”
“खोइ ! को को आए ?”, भान्साबाट आमा कराउन्छिन्, “पितासँग तल बेसमेन्टमा छन्।”
माधव पहिले बैठकमा गएर पुर्णेलाई सोफामा बसाउँछ र उसका हातमा ‘आई प्याड’, ‘आई फोन’ र ‘एक्स बक्स’ को ‘रिमोट कन्ट्रोल’ राखिदिएर अगाडीको टेलिभिजन खोलिदिन्छ। त्यसपछि ‘बेसमेन्ट’ तिर झर्छ।
बेसमेन्टमा खगेन्द्र, चक्रे र उसका बाबु पहिले नै आई सकेका हुन्छन्। माधव पुग्ने बित्तिकै चक्रेका बाबु प्रल्हाद जिस्किन्छन्, “खै त? समयमा कोरम पुर्‍याउने जिम्मा लिएर पान खाने बहाना गर्न पाइन्छ?”
“खै त साँलदाई?”, माधव आश्चर्य हुँदै सोध्छ।
त्यतिकैमा ढोका घर्याक्क खुल्छ। साँलदाई देखा पर्छन् र आँफु अबेर भएको कारण सुनाउँछन्, “हैट! आज बिक्रमेको स्कुलमा ‘पेरेन्ट मिटिङ’ रै’छ। बल्ल बल्ल फुत्किने मौका पाएँ यार।”
चक्रे खुसी हुँदै भन्छ, “बल्ल कोरम पुग्यो, गाँठ्ठे।”
कोठामा खुसीयाली छाउँछ। माधव भान्सातिर फर्किएर आमाले सुन्ने गरी कराउँछ, “ए आमा ! साँलदाई पनि झुल्किए, एक कप थप है।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *