केही थान छोटा कविताहरू

प्रतिमान सिवा
ओहायो, अमेरिका

१.
मखुण्डो

मैले मेरा घरमा
मेरा कोठाको भित्तामा
धेरै थरिका मखुण्डाहरु झुण्ड्याई राखेको छु ।

विभिन्न मुद्राका,
विभिन्न चेतनाका,
विभिन्न अभिव्यक्तिका
र विभिन्न आकृतिका ।

समयानुसार, परिस्थिति अनुसार र सङ्गत अनुसार
पुरानो मखुण्डो उतार्छु अनि नयाँ लगाउँछु ।
घरमा बस्दा लगाउने छुट्टै
बाहिर जाँदा लगाउने छुट्टै ।

हैरान छु ! मखुण्डा फेरेकाले,
कृत्रिम हाँसो हाँसेकाले,
जिउने अभिनय गरेकाले ।

के तपाईँका पनि मेरै जस्तो
धेरै मखुण्डाहरु छन् ?

२.
वरिष्ठ

यसपालि
मैले मेरा करेसाबारीमा
खोर्सानी, करेला, बैगुन, टमाटर आदी इत्यादि रोपेको थिएँ ।

म त दङ्ग परेँ
जब केही दिन पश्चात् करेसाबारीको अवलोकन गरेथेँ ।

दङ्ग किन परिस् भनेर सोध्नु हुन्छ होला:-
सबै वरिष्ठ फलेछन् ।
वरिष्ठ खोर्सानी, वरिष्ठ करेला, वरिष्ठ बैगुन, वरिष्ठ टमाटर आदी इत्यादि ।
सायद अझै,
वरिष्ठ पालङ्गे, वरिष्ठ बेथु आदी उम्रिनै बाँकी छ होला ।

जसरी,
हाम्रो समाजमा प्रत्येक दिन
प्रत्येक घडी
एक एक गरेर वरिष्ठहरू उम्रिरहेकाछन् ।

३.
सम्बन्ध

झिनो तार जस्तै हो सम्बन्ध !!
केवल विश्वासमा अनि भरोसामा अडिएको ।

सानो तिनो झोंकाले पनि कुनै बेला
चकनाचुर पारेर विश्वासको धरातल तोडी दिन सक्छ ।
सम्बन्धको जग एकचोटी भत्किएपछि
जति गाँसे पनि गाँठो भने अवश्य रहिरहन्छ
र बेला मौकामा बिझाई रहन्छ ।

4.
मान्छे म्यासिन बन्दैछन् आजकाल

घरदेखि काम र कामदेखि घर,
वर्षौंदेखिको यही छ दिनचर्या
जहाँ मानिस बिस्तारै म्यासिन बन्दैछन्
प्रोग्राम्ड र स्वचालित रोबोट झैँ ।

अर्कातिर
म्यासिनलाई मानव बनाउन तल्लीन छन् वैज्ञानिकहरु ।
केवल चेतना भर्न बाँकी छ रोबोटमा ।
त्यतिन्जेलसम्ममा
मानवबाट समवेदना पनि हराउनेछ
र मानव अनि म्यासिन एकै हुनेछन् ।

५.
जीवन

कहिले कहीँ म सोच्दछु
मरेर बाँच्नु र बाँची बाँची मर्नु सायद उस्तै होलान्

तर अहँ पटक्कै हुन सक्दैन
पोहोर साल अन्तिम भएर बाँचेको ऊ
आज दिन दिनै मरिरहेछ-
आत्मामा,
हृदयमा,
र विश्वासघातमा ।
जसरी सन्तान हुर्काउनमा आधा जीवन बित्छ
अनि तिनैबाट धिक्कारिँदै अरू आधा जीवन पनि बित्छ ।

६.
नदी

नदी
कैयौँ खहरेहरूलाई अँगाल्दै
प्रत्येक चट्टान र पत्थरहरूमा
ठक्कर खाँदै
पछारिँदै
निरन्तर अघि बढिरहन्छ
र विलीन हुन्छ महासागरमा एकदिन
जसरी
हर्ष, विमर्ष र दु:खमा बगेको जीवन
एकदिन अनन्ततामा गएर टुङ्गिन्छ ।

७.
रङ्गहरू

रङ्गहरू
कहिले रङ्गिन हुन्छन् त कहिले फिक्का हुन्छन्
आफैमा मौसमी र बेमौसम बन्छन्
आजीवन हिँड्नु पर्ने यात्रा जस्तै
कहिले आरोह त कहिले अवरोह
फरक यति हो
हाँस्न गाह्रो हुन्छ
र रुन झनै गाह्रो ।
त्यसैले कहिले कहीँ
रङ्गिन भएर पनि फिक्का हुनै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *