केही मुक्तकहरू

प्रतिमान सिवा
ओहायो, अमेरिका

(१)
एक   थरी    ब्वाँसाहरूको   हुलमा,
फक्रँदा  फक्रँदै   चुँडिएको   फूलमा,
एक  चोक्टा  मेरै  कलेजो   टाँसिएर
गयो उतै कतै, त्यही धोतीको तुलमा ।

(२)
आउने  पनि,  जाने  पनि  घुमेन्ते  नै हुन्
डुल्नु  घुम्नु  नै  हो  फिरन्तेहरूको   धुन,
कहिले चर्को कहिले अलिनो जीवनयात्रा
मिल्दै  नमिल्ने  घुलनमा, कस्तो  यो  नुन ।

(३)
जति  बाँड्यो  उति  बढ्छ  भन्थे  ज्ञान
डाहाले  पो  भरिएको  छ  यहाँ  ज्यान
सत्य   तथ्य   बोल्नु  त  कहाँ  हो कहाँ
कसरी हुन्छ धकेल्नु नै छ सबको ध्यान ।

(४)
आफ्नो  त  आफ्नै   हुन्छ  भन्थे   सबले  मायामा
लालच  नै  हुँदो  रहेछ  लुकेको सुटुक्क छायामा
चनाखो  चेतना  अवश्य   असल   हुन्छ   भन्छन्
जति खेरपनि सर्न सक्छ ताल दायाँ देखि बायाँमा ।

(५)
भमरा  न  हो,  उडिरहन्छ    फूल  देखि  फूलमा
चुस्दै   जवानी   हरेकको   सानो   सानै   भूलमा
बाँच्नु  छ  यदि  कसैले  आफ्नो  अस्तित्वमा  भने
स्वाभिमानी बन्न सिक, छोडी रुन व्यर्थै फजुलमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *