केही रुवाईहरू
मोहन राई
नेदर्ल्याण्ड्स
१)
मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ?
लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो होस थियो ।
खै त आज हाम्रो त्यो दाम्पत्य जीवनको निशानी ?
संस्कारको प्रतिक मात्र हैन त्यस्मा एउटा पृथक जोस थियो ।
२)
नुनिलो स्वादको नुनहरूमा मलाई पाऊने छौ,
संगीतको हरेक धुनहरूमा मलाई पाउने छौ ।
संसारको जुनै कुनामा रहे पनि निष्पक्ष रहनेछु,
बालकरूपी ती गुणहरूमा मलाई पाउँने छौ ।
३)
विदेशमा पैसा रूखमा कदाचित् फल्दैन रहेछ,
कतै रहुँ, किस्मत बिना जिन्दगी चल्दैन रहेछ ।
के गर्ने हे दैव? आफ्नो त भाग्य बिधाता नै महाठग परेछ,
आखिर दशनंग्री नखियाई अगेनमा चुलो बल्दैन रहेछ ।
४)
यदि मानवता यहाँ नटुक्रिएको भए,
संसार मेरै पेवा हो भन्ने सोच नफक्रिएको भए,
आज किन विश्वयुद्धबाट त्रशित हुनु पर्थ्यो र ?
बुद्ध फेरि जन्मन्थे यदि सांसारिक रिति नबिग्रिएको भए I