के शुभकामना दिउँ
हरि पराजुली-झापा/नेपाल
खै, के शुभकामना दिउँ म तिमीलाई
यहाँ त ,
अभावका आवासहरु,
चाउरिएका प्रतिक्षारत पेटहरु
बुइगलको छेउबाट क्षितिजपारिको तारा गन्दै
मंसिरको सुनौलो बिहानी पर्खंदैछन् !
यहाँ त पिल्सिएका जवानीहरु,
जवानीको उपभोग गर्न नपाउँदै,
दुखद कहानी बनेर
मृत्यु शैयाको स्टेजमा
वाचन हुने गर्छन्,
खोक्रो आडम्बरको प्रलोभनमा
देशद्रोही बनेर,
दुवै हातमा मृत्युको कोसेली बोकी
जयजयकार मनाउने गर्छन्-
खै, के शुभकामना दिउँ म तिमीलाई !
यसवर्ष पनि अघिल्लो वर्षझैँ
भुइँचालो गयो जीवनमा,
आँधी आयो मस्तिष्कमा
अनि पहिरो गयो आस्था र विश्वासहरुमा !
गत वर्षझैँ यस वर्ष पनि
मेरा आँसुहरु नदी बनेका छन्
मैले टेकेका प्रत्येक पाइलाहरू
एका एक् मरुभूमि भएका छन् ।
म,
त्यसै-त्यसै
पागल भएको छु
एकछिन मौनतामा टोलाउँछु,
आफ्नै दुःखी मनसँग प्रश्न गर्छु
आँसुकै उत्तर पाउँछु-
तर, मन बुझ्दैन ।
खै के भनौ र !
घरखेत धितो राखेर बिदेशिएको छोरो
बिगत दसौं वर्षझैं
यस वर्ष पनि फर्केन,
थाहा छैन जीवित छ या छँदै-छैन
समय बिस्फोटन भएको छ,
हिजोमात्र भाइ एम्बुसमा परेछ…
बुहारीको रातो सिँदूरले पनि छेक्न सकेन ।
चोटमाथि महा चोट
पीडामाथि महा पीडा,
घर-खेत साहुको हातमा छ,
सम्पूर्ण परिवार मेरो काँधमा छ,
मलाई एउटा नेपाली अस्तित्वले,
गरिबीको पक्षघातले समातेको छ ।
लडेको छु संघारमा,
घायल मुटु,
त्यसै -त्यसै काँपिरहेको बेला
अन्तरद्वन्दका चक्रव्यूहरु बोकेर,
शम्शान घाटको स्वागत गर्दै
वेदनाको पहिरोमा पुरिएको बेला-
म,
आफ्नै रगतको टीकामा मुछिएको बेला
भन त मित्र,
अब,
ओठ्भरि मुस्कान छरेर हाँस्दै- हाँस्दै,
खै, के शुभकामना दिउँ म तिमीलाई नयाँ वर्षको ?