कैङ्कर्य

आचार्य नारद सुदामा
हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका

सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ सँग तिन वटा सूत्र थिए।

१. आँखामा पट्टि बाँध्नु (नदेख्नु)

२. कानमा ठेडी ठोक्नु (नसुन्नु) र

३. मुखमा पानी भर्नु (नबोल्नु)

काले कहिले चिकित्सालयको मूल द्वारमा ठोकिन्थ्यो। कहिले विद्यालयको कालो पाटी सम्म जिन्दगीका रेखाहरूसँग रमाउँथ्यो। धेरै जसो मन्दिरको ठुलो घण्टी र सत्सङ्गको कथामा हराउँथ्यो । विवाह व्रतबन्धको रमझम, आगन्तुकको सेवा अतिथि शाला र पाकशालामा नाच्थ्यो। मलामीको शून्यतामा विलय हुन्थ्यो। मृत्यु जस्तो भाव विह्वल अवस्थाको मलमपट्टि बन्थ्यो। यी सबै कालेका दिनचर्याहरू थिए । अग्रजलाई श्रद्धापूर्वक आदर र अनुजलाई प्रेमपूर्वक स्नेह गर्न खप्पिस काले रमाइलो मिजासको थियो। असहाय व्यक्तिहरू सहयोगका निमित्त घर आँगनमा उपस्थित बनेर आवश्यकता पूर्ण गर्दा उसको मन प्रफुल्लित हुन्थ्यो। आफ्नो ज्यानलाई दाउमा राखेर कोरोना जस्तो महामारीबाट प्रभावित पीडित परिवारलाई उद्धार कार्यका लागी स्वास्थ्य चौकी, सरकारी र गैरसरकारी निकायका ढोका ढकढकाउनु र रोगीहरूको सेवामा खुसी हुन्थ्यो । क्वारेन्टाइनमा बसेका रोगीका लागी सुरक्षा कवच औषधी र खाद्यान्नको व्यवस्था प्रति दिन निष्ठा भावले गर्दथ्यो। कैङ्कर्य नै मानव धर्म मध्येको सर्वश्रेष्ठ धर्म हो भन्ने पाठको ज्ञान थियो कालेमा ।

अन्त: कसैबाट आफ्नो आलोचना नभए कालेलाई असाध्य असह्य हुन्थ्यो, मनमा बतास चल्थ्यो। गोधुली देखि प्रात:काल सम्म निन्द्रा लाग्दैनथ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *