कोरनाले जन्माएको प्रेम
बैरागी माइलो
हेरिश्वर्ग, अमेरिका
सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने उर्दी सरकारले जारी गरेको थियो । मेरो दिनचर्या भने मोबाइल चलाउनु बनिसकेको थियो । मोबाइल नचलाइ भोक- निन्द्रा र दिसापिसाब पनि नलाग्ने भएको थिएँ । यतिकैमा मोबाइलमा टिङ्ग… घण्टी बज्यो ,त्यो घण्टी फेसबुकको हो मलाई राम्रो ज्ञान छ , अन्य घण्टी भन्दा अलि फरक हुन्छ । मेरा आँखा र औंला दुबै हतारिदै खोज्न थाले कस्ले पठायो फ्रेन्ड रिक्वेस्ट भनेर । बिस्तारै औंलाले फोन कोट्याउन थाले । सिधै आँखा परे त्यो सानो र सुन्दर तस्बिरमा । विदेशी नारी जस्तो लाग्ने त्यो कालो चस्मा ,छोटो कपाल र समुद्री तटको ब्याकग्राउन्ड थियो त्यो तस्वीरमा । गुलाबी ओठहरु आधा फक्रिएका थिए । तस्वीर निक्कै मनमोहक थियो । धेरै बेरसम्म तस्वीरमा आँखा बसिमात्र रहे । त्यसपछि प्रोफाइल भित्र छिरेर अध्ययन सुरु गरें । सुनेको थिएँ कसैले रिक्वेस्ट पठायो भनी नहेरी नबुझी अगाल्नु हुन्न भनेर त्यसैले गम्भीरतापूर्वक त्यो तस्वीरसँग जोडिएका मानिसदेखि व्यक्तिगत तथ्यांक हेर्न थाले । मेरो मनले भन्यो यो तस्वीरमा भएको मान्छे असल नै हुनुपर्छ किन भने पोस्ट भएका तस्वीरमा कतै उताउलोपन छैन र साथीहरू पनि भद्र देखिए । अब साथीको स्थान दिने निर्णय एक दिनको अनुसन्धान पछि तय भयो ।
साथी बन्ने अनुमतिमा दस्तखत जस्तो कन्फम बटन थिचिदिएँ । मलाई लाग्थ्यो यति गरेपछि साथीले केहि त प्रतिक्रिया दिनुपर्ने हो तर त्यसो भएन । मैले नै मेसेन्जरमा “नमस्ते हजुर ” लेखिदिए ….दुईदिन पछि प्रतिउत्तर आयो नमस्कार …! सन्चै हुनुहुन्छ कहाँ बस्नु हुन्छ जस्ता अनेकन प्रस्न गरें । केहि प्रस्नका उतर आए …. बिस्तारै हाइ हेलो लेख्न थाल्यौं । परिचय हुँदै गयो ….जीवनका उकाली ओरालीका अनुभव साट्न थाल्यौं । ऊ काठमाडौमा बस्ने रहिछन् अहिले । पहिला पुर्वमा रहेछ घरबार र माइती । जेठी छोरी,निक्कै दु:खले हुर्केकी हुँ बाबा सानो छदा बित्नु भयो ,अहिले आमा दाई र बहिनिहरु छन् । आफ्ना धेरै कुरा एकै बसाइमा पोखिहालिन । हुन पनि दु:ख पाएको मान्छेले सुनिदिने मान्छे भेटायो भने सबै सुनाउँछ । मैले पनि मेरो दु:ख र वेदनाका कथा सुनाएर । सुनाउदा सुनाउदै कहिलेकाहीँ भकानो परेर आउँथ्यो मन । मेरो जीवन भोगाइ ऊसँग थोरै मात्र मिल्थ्यो तर पनि हाम्रो मित्रता १२ वर्ष सँगै बसे जस्तो भान हुन्थ्यो ।
कहिले बाल्यकालका कुरा हुन्थे कहिले व्यापार व्यवसायका त कहिले कामका । मेसेज लेखेरै यति कुरा हुँदै थिए उसले एक दिन कल गरिन् …हेलो नमस्कार ! सन्चै हुनुहुन्छ एकै सासमा बोलिन् । त्यो आवाज जादुमय थियो । मैले पनि उत्तर दिएँ । मेसेजमा जस्तै कुराकानी भए । उही सुखदुःखका कुराकानी । पहिलो आवाज सहितको गफमा अझ धेरै कुरा साटासाट भए । शिक्षण पेसामा रहिछन् र म पनि कुनै समयमा त्यही पेसामा काम गरेको हुनाले गफ विस्तार गर्न सजिलो हुन्थ्यो । दुईतीन दिनमा बाक्लै गफ र मेसेज हुन्थे । हामी घनिष्ठ साथी भइसकेका थियौं । कहिलेकाहीँ ठट्टा -रमाइलो पनि गर्थ्यौं । दुबै जानाको उमेर पनि उस्तै उस्तै भएकाले पनि कुरा गर्न सहज हुन्थ्यो । म उसलाई तपाई भनेर सम्बोधन गर्थे ऊ पनि मलाई सम्मानपुर्वक बोल्न थालेकी थिइ । उ पनि विवाहित महिला म पनि विवाहित मान्छे, कहिलेकाही बोल्न असजिलो लाग्थ्यो । अर्काकी श्रीमती सग यसरी बोल्दा के भन्लान् थाहा पाए भने के सोच्लान् ? मनमा यस्तै कुरा खेल्न थाले । उनी र म बीचको विस्वासको घडीले निक्कै समय चलाइसकेको थियो । समय समयमा आन्तरिक कुरा पनि हुन थाले । उनका श्रीमान् ठुलै हाकिम रहेछन् अनि आफ्ना-आफन्त पनि सबै जागीरे ।
श्रीमानबाट भने जस्तो माया कहिल्यै नपाएको कुरा खोतल्न थालिन् । म सुनिमात्र रहें , धेरै घरेलु कुरा गर्थिन् कुराकानीका दौरान । पैसामा कमाउने तर माया सद्भाव र सम्मान नपाएको कुरा गम्भीरता पुर्वक गरिरहन्थिन् । कोमल मनमा काँडा बिजेको रहेछ बिचरीको । कुराकानीकै क्रममा हजुरकी श्रीमती कस्ति छन् भनेर सोधिन् एक दिन I मैले ठिकै छन् जिविका राम्रो चलिरहेको छ भनिदिएँ । यति कुरा भए पछि चारपाँच दिन मेसेज कल केहि पनि गरिनन् । किन एकासी हराइन् भनेर म आफैं मेसेज लेखे …कता हराउनु भयो हो साथी ? प्रतिउतर तुरुन्तै आयो हराएको छैन …। मनमा के के कुरा खेल्न थाल्यो त्यसैले बोल्न मन लागेन यस्तै यस्तै कुरा मेसेन्जरमा लेख्थिन् । मेरो मन पनि उनीप्रति आकर्षित हुन थालेको पत्तै भएन । बिस्तारै बिस्तारै उनका कुरामा साथ दिन थालें । फेरि एक दिन मलाई प्रेमिका बनाउन सक्नुहुन्छ भनेर सोधिन ..म धेरैबेर अलमल्ल परें , अर्कै कुरा गरेर टारे त्यो दिन । भोलिपल्ट पनि प्रस्ताव राखिन् , मैले किन नसक्नु भनिदिए । उसो भए मलाई तपाई हैन तिमी भन्नु है भनिन् । अब प्रेमका कुरा हुनथाले,संसार बेग्लै भएको महसुस हुन थाल्यो । एकआपसमा लामो कुरा हुन थाल्यो I
हामी दुबैले छोराछोरी बिर्सिसकेको आभास हुन्थ्यो । उनलाई पनि श्रीमानको याद आउदैन भन्थिन् मलाई पनि श्रीमतीको याद आउन छाडिसकेको थियो । हुन त प्रेममा मानिस अन्धो हुन्छ अरे त्यस्तै भएको होकि ? I गहिरो प्रेमको निशानी भने केहि थिएन त्यो त बाचाकसम मात्र । मौलाइ रहेको प्रेममा आँधी चल्यो, उनी सम्पर्क बिच्छेद भइन् । लाखौं कोशिस गरें तर कतैबाट पनि उसग सम्पर्क गर्न सकिन । कहाँ गइन् होला ? के भयो होला बिचरीलाई ? अनेकन प्रश्नभित्र उनलाई खोजिरहेछु । प्रेम पनि सपना जस्तो हुनेरहेछ । सुनेको थिएँ प्रेम एक मानसिक रोग हो रे कतै मलाई पनि मानसिक रोगी त बनाएन यो अद्भुत प्रेमले ???