कोरोना उन्मादमा स्खलित चेतना

भक्त घिमिरे
पेन्सिलभेनिया/अमेरिका

अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको छ । पौराणिक पुस्तकहरुले शायद यस्तै कुरालाई ‘प्रलय’ भनेका हुनुपर्छ । जे होस्, कोरोनाले विश्वमा कालखण्डको रेखा कोर्ने पक्का पक्की भइसकेको छ । अब बन्ने इतिहासमा इतिहासकारहरुले ‘कोरोना अघि’ र ‘कोरोना पछि’ भनेर कालविभाजन गर्नेछन् ।

आणविक शक्तिको आडमा विश्वलाई जितेर वशमा पार्न लम्किएको मान्छे आज आफैं कोरोनाजस्तो सूक्ष्म-तृणद्वारा वशीभूत भएर छट्पटाइरहेको छ । हो, हामी दिन दिनै एउटा शव बोकेर बाँचिरहेछौं झैं लाग्न थालेको छ । त्यो कोरोनाको हो कि आफ्नै शव हो भन्ने पनि कसैले अड्कल गर्न सकिरहेको छैन । हामी कोरोना प्रभावको शुरुवातकालमा छौं कि अन्त्यमा छौं अथवा मध्यान्तरमा पुगेका छौं भन्ने कुराको पनि आँकलन कसैले ठोस रूपमा गर्न सकिरहेका छैनन् । मानौं, सबैको चेतना अहिले असमयमै स्खलित भएको छ । यो लेख तयारीको क्रममा अमेरिकामा मात्रै कोरोनाबाट संक्रमितको संख्या दशलाख ३४ हजार नाघिसकेको छ भने मृतकसंख्या पनि ८० हजार पुगिसकेको छ ।

हो ! कोरोना-१९ ले विश्वलाई त्राहीमाम बनाएको छ । यसबाट जोगिनका लागि प्राय सबै देशका सरकारहरु, स्वास्थ्य संगठनहरुले व्यक्ति व्यक्तिमा आपसी दुरी र सरसफाइ, खानपिनमा ध्यान दिन अर्जी जारी गरिरहेका छन् । तर, सरसफाइ व्यक्तिको शरीरमा मात्र हो कि, हामी बस्ने धर्तीको, हामीले भोग्ने पर्यावरणको, हामीलाई पाल्ने प्रकृतिको पनि सफाइ र स्वच्छता आवश्यक छ कि छैन भनेर कसैले सोचेझैं लाग्दैन ! यो अवस्थामा सबैले आ-आफ्नो चेतनालाई स्खलित स्थितिबाट पुनर्ताजगी दिएर जाग्नुको विकल्प छैन । अलिकति लापरबाहीबाट संक्रमित हुँदै सिंगो विश्वको आवादीलाई प्रभावित गराउने यो महामारीले देशको भौगोलिक सिमाना छुट्याउँदैन । कुनै जात-जाति र धर्म-संस्कृति वा भाषा-भाषीलाई छुट्याएर समाउँदैन ! होशियार भए यसबाट जोगिन त सकिन्छ ! थुप्रै मानिसहरु निको पनि भएका छन् । तर, लापरबाही गरेमा यो लेखनाथ पौडेलको काल महीमा जस्तै हो, जसले भन्छः-

“राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,

लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो ,

व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो !”

सर्वप्रथम कोरोना १७ दिसम्बर २०१९ कै दिन पत्ता लागेको थियो । तर, जनवरी २२ सम्म चीन सरकारले भाइरसको संक्रमणबारे जानकारी दिने डा. ली(हरु)-लाई भ्रम फैलाएको आरोपमा कैद गरिरहेको थियो । कैदी अवस्थामै बिरामी परेका डा.ली जनवरी १२ को दिनदेखि नै अस्पताल भर्ना भएका थिए ।

यता चीनियाँ सरकार भने जनवरी २२ तारिखको बेलुकीसम्ममा वुहान शहरमा कोभिड-१९ को कारण जन्यान गुमाउनेहरुको संख्या एक्कासी बढेपछि जनवरी २३ देखि लागू हुनेगरी हुबेयी प्रान्तको वुहान शहर लकडाउन घोषणा गऱ्यो र डाक्टर ली-लाई पनि कैदमुक्त गरी संक्रमितहरुको उपचारमा खटायो । यद्यपि, फेब्रुवरी १ तारिखको जाँचपछि डा. लीलाई कोरोना संक्रमण भएको नतिजा बाहिर आयो । यसरी फेब्रुवरी ७, शुक्रबारको दिन डा.ली  वेनलियाङको दुःखद मृत्यु हुनपुग्यो ।

यही क्रममा चीन सरकारले हुबेयी र वुहान शहरमा कोरोना संकटकाल घोषणा गर्नुभन्दा दुइदिन अघि वुहानबाटै दक्षिण कोरियाको यात्रामा निस्किएकी ६१ वर्षीय एक महिला सियोल नजिकै कार दुर्घटनामा परेकी थिइन् । सामान्य घाइते बनेकी उनलाई दुर्घटनापछिको स्वास्थ्य जाँचमा ज्वोरो आइरहेको पाइएको थियो । तर, कोरोना संक्रमितको रूपमा उनलाई हेरिएन । उनी दक्षिण कोरियाको दायेगु शहरस्थित शिञ्चेवञ्जी चर्चकी धार्मिक प्रचारिका थिइन् । ती प्रचारिकाबाटै दक्षिण कोरियामा कोरोना संक्रमण व्यापक भएर गएको थियो ।

उता कोरोना उत्पादकका रूपमा चीनियाँहरुप्रति विश्वभरि हेयभाव दर्शाउन थालिएको कारण फेब्रुवरी महिनामा केही चीनियाँ युवाहरु इटलीको भेरोना सिटीमा पुगेर आफूहरुलाई मान्छेको रूपमा स्वीकार गर्न सार्वजनिक अनुनय गरेका थिए । आफू भाइरस नभएर मान्छे नै भएको पुष्टि गर्न भन्दै सार्वजनिक रुपमै इटलीयनहरुलाई ती चीनियाँ युवाहरुले अंकमाल गरेपछि त्यहीँबाट कोरोना फैलिएर इटलीको ठूलो जनसंख्या मृत्युको मुखमा पुगेको अर्को चर्चा पनि व्यापक थियो ।

कोरोना कुन देशबाट शुरु भयो, अहिले कहाँ पुग्यो, कुन दिन कति मान्छे मरे भन्ने कुराको जानकारी अहिले गौण भइसकेको छ । संसारभरि करीब करीब तीन लाख मानिसको ज्यान यसले लिइसकेको छ ।

कोरोनाको उत्पति प्राकृतिक रूपमा नभएर मानवजन्य उत्पादन हो, चीनको एउटा प्रशोधन केन्द्रमा यसको उत्पादन गरिएको भनेर अभियोग लगाउनेहरु पनि थुप्रै छन् ।

दाबी गरिएका अभियोगहरुमध्ये चीनकै एउटा शोधकेन्द्रमा विभिन्न रासायनिकहरुको परीक्षण गर्दा गर्दै यो भाइरस बनेको र चीनियाँ वैज्ञानिकहरुको गल्तीबाट त्यहाँका नागरिहरुमा संक्रमित भएको चर्चा छ ।  ‘नेटफ्लिक्स नेटवर्क’मा ‘माई सेक्रेट टेरियस’ भन्ने टेलीशृंखला अन्तर्गत १० भागको दृश्याङ्कनमा करीब ५३ मिनट पार गरेपछि कोरोना भाइरसबारे भविष्यवाणी गरिएको छ’ भनेर मार्च महिनाको अन्त्यतिर सामाजिक सञ्जालहरुमा खूब चर्चा चलेको थियो । यो टेलीशृंखला सन् २०१८ मै बनेको हो । यदि सो कुरा साँच्चो हो भने चीनले पूर्वतयारीका साथ यसको उत्पादन नै गरेको हो कि भन्ने लक्षण पनि देखिन्छ । तर, यो कुरालाई कुनै पनि अनुसन्धानले पुष्टि गरेको छैन ।

एकजना अमेरिकी कानूनवीद लेरी क्लेमेनले जैविक हतियार निर्माण गरी संसारभरि फैलाएको अभियोग लगाउँदै चीन सरकारका विरुद्ध टेक्सासस्थित एउटा संघीय अदालतमा मुद्दा पनि दर्ता गराएका छन् । फ्रिडम वाच भन्ने लेरी क्लेमेन नेतृत्वाधीन समूहले चीन सरकारबाट २० खरब डलर बराबरको क्षतिपूर्ति अदाय गर्न अदालतसमक्ष अर्जी गरेको छ ।

यसबाहेक अमेरिकाकै बोस्टनबाट एकजना अमेरिकी अनुसन्धातालाई कोरोना भाइरसको अनुसन्धानबारे चीन सरकारलाई गुप्तरूपमा सघाउँदै अमेरिकाविरुद्ध जालसाजी गरेको अभियोगमा पक्राउ गरिएको थियो भने अनुसन्धान संकायकै अर्का एक चीनियाँ विद्यार्थीलाई पनि पक्राउ गरिएको थियो । यो लेख लेखिरहँदा पेन्सिलभेनियाँको पिट्सबर्ग विश्वविद्यालयमा अनुसन्धानरत एकजना चीनियाँ विद्यार्थीलाई कुनै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको समाचार पनि प्रकाशमा आएको छ । यी सबै कुराले हामीलाई चीन र चीनियाँहरुका विरुद्धमा विश्वमतको लक्षण देखाइरहेका छन् । तथापि, ठोस अनुसन्धानबाट आएका तथ्यहरुको अभाव जतासुकै विद्यमान छ ।

चीनबाट फैलिएको भनेर विश्वास गरिने कोरोना अमेरिकामा  आइपुग्दा एउटा संक्रामक हैंजाको रूपमात्र लिएर आइपुगेन । यसले अगुवा नेतृत्वको अदूरदर्शिता, अज्ञानता, लापरवाही, पूर्वतयारीमा उपेक्षा, श्रेय लिने र दोष पन्छाउने आदि असक्षमताहरुको पुलिन्दाको रूप पनि सँगै लिएर आयो ।

आधारभूत सोचबाटै विभिन्न खेमामा विभाजित अमेरिकी समाजले यसको प्रभावलाई प्रारम्भिक चरणमा त रोक्न सकेन नै, अहिले अझ अर्थतन्त्रको वहानामा मानिसहरुको मृत्युलाई सहजरूपमा लिइनुपर्ने फर्मान नै जारी हुनथालेका छन् । लक्षण के देखिँदैछ भने कोरोनाको फैलावटले भविष्यसम्म अझ वीभत्स नतिजा देखाउँदै जानेछ ।

संक्रमणको उत्कर्षमा विश्व त्राही त्राही बनिरहेको यो समय अमेरिकामा भने कोरोनाको संक्रमण रोक्ने उद्देश्यमा घोषित चहल-पहल बन्दी र भौतिकजस्ता कुरालाई फुकुवा गर्नुपर्ने भन्दै केही मानिसहरु हतियार बोकेरै सडकमा डुल्न थालेका छन् भने अर्थतन्त्र सुचारू राख्नलाई बन्द खोल्नुपर्ने उच्च राजनीतिक तहमा जीकिर पनि भइरहेको छ ।  यहाँनेर केही मानिसमा विषाणुलाई अँगालेरै बाँच्नु पर्छ भन्ने मनोविज्ञान पह्लाएको देखिन्छ भने धेरै मानिसको दिमागमा त्रासदी र भयको मनोविज्ञानले घर बनाएको छ । यसैभित्र स्वेतसर्वोपरिताको मनोविज्ञानले पनि काम गरिरहेको छ । यसै वर्षको अन्त्यतिर आउने अमेरिकी आमचुनावको मसला पनि बन्न पाएको छ कोरोना ।

चर्चालाई अमेरिकाबाट बाहिर ल्याएर हेर्दा सामान्य भाइरसको रूपमा चिह्नित कोरोनाले विश्वलाई उथल-पुथल बनाइदिएको छ । अहिले त शुरुवात काल हो, यसको असर भयंकर भइसकेको छैन । अबका दिनहरुमा यस महामारीले विश्वको अर्थतन्त्र डामाडोल बनाउने छ । उद्योग-धन्दा र व्यापार वाणिज्य, पर्यटन, आयात-निर्यात सबै कुरामा मन्दी छाउनेछ र कर्पोरेट पूँजीको संकट विश्वले सामना गर्नेछ ।

त्यो अवस्थामा जुनसुकै देशका हुन्, दूरदराजका गाउँहरुबाट खेती किसानी छोडेर श्रमरोजगारमा शहर पसेका मानिसहरु बाँच्नलाई गाउँतिर फर्कने छन् । जीवनका लागि जल, जमीन र जंगलको उपलब्धता र समग्र प्रकृतिको संरक्षण अनिवार्य छ भन्ने कुरा अहिले आएर सिद्ध हुन थालेको छ ।  विश्वभरि मानिसहरु शहरिया सुविधामा आशक्त बनिरहेका थिए । जतिसुकै शहरिया बने पनि, जत्रै आलिशान भवनमा बसे पनि, कहिल्यै भुइँमा नटेकी शिशाको जलपमा हिँडे पनि मान्छेले बाँच्नलाई सास फेर्नुपर्छ, पानी पिउनुपर्छ, अन्न खानुपर्छ । यी सबै कुरा जल, जमीन र जंगलबाहिर सम्भवै छैन । अतः अब एकचोटि फेरि जल, जमीन र जंगलको लागि विश्वमा युद्धहरु हुने सम्भावना बढेको छ ।

तपाईं हामी सबैलाई थाहा छ, आजको विज्ञानले पृथ्वीभन्दा अन्य ग्रहहरुमा जीवनको सम्भावना बुझ्न सबैभन्दा पहिले पानीको खोजी गरिरहेको छ । सबैले बुझ्ने कुरा हो, पानीको विद्यमानता प्रकृतिसित सम्बन्धित छ ।

‘सुजलां सुफलां’ भनेर जलको महिमा गाउने, नदीहरुलाई माता वा देवी, झर्ना र वन-जंगलहरुलाई तीर्थस्थल मान्ने हाम्रो आदर्श थियो । अब यस्तो आदर्श बोक्ने भारत, नेपालजस्ताजस्ता प्रकृतिप्रेमी देशका कुरा पनि अलिकति गरिहालौं ।

नेपालमा वनविनाशको कारण बाढी र पैह्रोले जतासुकै ताण्डव मच्चाइरहेको छ । केही वर्षअघि आएको भूकम्पको वीभत्स नतिजा नेपालमा अहिले पनि आलो घाउझैं बनिरहेको छ । नेपालका गाउँ र शहरहरु पिउने पानीको अभावमा तृषित छन् एकातिर भने अर्कातिर भारतलाई नदीहरु बेचेको अभियोग बारम्बार राजनीतिक मुद्दा बनिरहेकै छ ।  भारतमा पनि नदीहरुको बाँडफाँडबारे राज्य राज्यबीच धुमधाम झगडा छ । अदालतमा मुद्दा चलेको छ । गंगा, यमुना, कृष्णा, काभेरी, झेलम सबै नदीमा राज्यहरुको मुद्दा चलिरहेको छ । नदीहरु पहिलेकै तुलनामा पानी छैन । ती नदीहरुमा वार्षिक ३ प्रतिशतको दरले पानीको मात्रा घटिरहेको पनि विभिन्न अनुसन्धानहरुले देखाएका छन् । पानीको हाहाकार, लुछाचुँडीमा मान्छेले मान्छेको ज्यान लिइरहेको छ । बिहारको एउटा गाउँका वासिन्दाले पानीको सुरक्षाका लागि बन्दुक उठाएका छन् ।

विकासको नाममा सञ्चालित उद्योग, कलकारखानाबाट विषादियुक्त तरल निकासा नदीमा फालिएको छ । खेतीयोग्य जमीहरु सबै सिमेन्टका चट्टानले भरिएका छन् । नदीबाट बालुवा र ढुंगा निकालिएको छ । छेउछाउका वन-जंगल फँडानी गरिएको छ । वंशको आर्थिक सुरक्षा चाहियो भन्दै अतिरिक्त पूँजीको आर्जनका लागि मान्छे प्रकृतिमाथि जाई लागेको छ ।

हो, आज भारतमा गंगा र यमुनाजस्ता शास्त्रीय महिमा बोकेका नदीहरु ढलको नाली बनेका छन् । नागपुर वरिपरि गंगानदीमा गंगोत्रीबाट आएको पानी बग्दैन । त्यहाँ विभिन्न शहरको ढलमात्र बग्छ । वृन्दावनमा तीर्थालुहरु हार्दिक श्रद्धाका साथ जलाचमन गर्छन् । तर, त्यहाँ यमुनाको जल छैन । सबै दिल्लीबाट बगेको मानिसको मल-मुत्रमात्रै छ । गाउँका जलस्रोतहरुमा पाइप लाइन् विछ्याएर शहरमा पुऱ्याइएको छ भने जलस्रोत भएका गाउँहरु नै मरुभूमिमा परिणत भइरहेका छन् । महाराष्ट्र राज्यको उश्मान नगर भन्ने एउटा गाउँका नारीहरुले घरमा चाहिने पानी बोक्नकै लागि वर्षमा लगभग २ हजार किलोमिटरभन्दा अधिक पैदल यात्रा गर्दारहेछन् भनेर एउटा अनुसन्धानले देखाएको थियो ।

यस अतिरिक्त ट्यूबह्वेल र बोरिङ मोटर जडान गरी धर्तीमुनिको पानी निकाल्ने क्रम पनि बढेको छ । तर, औद्योगिक कारखानाको रासायनिक निकासा, अस्पतालहरुबाट फ्याँकिएका ड्रग्सजन्य तरल तथा ठोस पदार्थहरु, मानवजन्य फोहोर-मैला आदिको दलदलमा फँसेको पृथ्वीमा पिउनयोग्य पानीको अभाव बढ्दै गएको छ । उहिले उहिले दुइसय फिट खनेर बन्ने इनारहरु अहिले पाँचसय फिटमा पनि पानी नआउने भएका छन् । धेरै जमीन खनेर निकालिएको पानीमा आर्सेनिक र कोलिफर्मको मात्रा धेरै भएकाले बालबालिकाको मस्तिष्क सुस्त भएका तथ्यांकहरु बाहिर आइरहेका छन् । जमीनमुनिबाटै निकालिएको प्रदूषित जलसिँचाईमा तरकारी खेती, अन्नबालीको उत्पादन गरिएको छ । ती उपभोग्य वस्तुमा सिँचित हेबी मेटल भनिने धातुजन्य वस्तु खुवाएर संसारभरिका मानिसहरुले अहिले सन्तानका नाममा रोबोटहरु हुर्काइरहेका छन् ।

प्रदूषित पर्यावरण र रासायनिक रद्दीबाट उत्पादित खाद्यवस्तु, पर्यावरणका पहरेदार पशु-पंक्षीको निर्मम उपभोग्य भक्षणमार्फत गरिएको प्राकृतिक अतिक्रमणको नतिजा स्वरूप आएको कोरोना भाइरस हाम्रो जीवनका लागि पहिलो नमूना हुनसक्छ । यस्ता अनेकौं हैंजा र संक्रमण भविष्यमा धेरै भोग्नुपर्ने दिन आउन सक्छन् । यसै पनि हामीले पीढीदर पीढी सन्तानका रूपमा हुर्काएका रोबोटहरुबाट हामी विश्वशान्ति, अमन-चैन, सौहार्द्रता, विश्वबन्धुत्व, भाइचाराको आशा गर्नु बेकार हुने लक्षणहरु देखिँदैछ । यसरी नै प्रकृतिमाथि भएको अतिक्रमणको नतिजामा अब सजिलै समुद्रको पानी सफा हुने, पहाड र वनजंगलको पर्यावरण स्वच्छ हुने, वैश्विक तापक्रमको चढाई मत्थर हुने आशा पनि स्खलित मानसिकताको परिणति मात्रै साबित हुने देखिन्छ । वर्तमानमा हिन्द महासागरबाट प्रशान्त महासागरसम्म पुग्ने गरी खातको थाक समुद्रमाथि तर लागेको अन्वेषकहरुले देखाइरहेका छन् । आजै मान्छे समुद्रको पानीमाथि बसेर पिउने पानीको तृष्णामा छट्पटाइरहेको छ भने भविष्यको आँकलन निकै जटिल देखिन्छ । खाद्यवस्तुको मात्र अनिकाल छैन आज, पिउने पानीको हाहाकार छ । भोलि सास फेर्ने हावाको पनि अनिकाल लाग्यो भने के के हुने हो अहिले त्यतातिर नसोचौं ।

पानीको हाहाकार विषयक उठान गर्ने सिलसिलामा यहाँनेर एउटा घटित किस्सा उल्लेख गर्न मन लाग्यो । सन् १९९१ को कुरा हो । भारतीय राज्य महाराष्ट्रको औरंगावाद शहर नजिकै एउटा गाउँमा संयोगवश म पुगेको थिएँ । त्यहाँ एकजना विद्वान महात्मा थिए । त्यसक्षेत्रका लगभग सबैमा विश्वास थियो कि ती महात्माका कुरामा विश्वास नगर्ने शायदै कोही भारतीय होलान् ।

एकदिन उनले धार्मिक महासभा डाके । सभाबीचमै सारा भक्तश्रद्धालुलाई उनीहरुले विश्वास गरेका भगवानले दर्शन दिने उनले बताएका थिए । सभामा करीब ४० हजार मानिसहरुको जमघट थियो । महात्मा मञ्चमाथि उभिएर बोल्दा बोल्दै गाउँमा अग्निशमन यन्त्रको सूचनाझैं गाडीको साइरन बज्न थाल्यो । साइरन बजेपछि एक-दुइ गर्दै मानिसहरु उठेर दौडिन थाले । हेर्दाहेर्दै निमेषभरमा सभामा भेला भएका सबै मानिसहरु गइसकेका थिए । मञ्चमा महात्मा एक्लै भए । दर्शकदीर्घा रित्तै भइसकेको थियो ।

कुरो के रहेछ भने त्यस क्षेत्रका मानिसहरुलाई पिउने पानी बाँड्न हप्ताको एकदिन गाउँमा ट्यांकर आउँदो रहेछ । ट्यांकर आएको बेला समयमा पुगेन भने पानी नपाइँदो रहेछ । पानी थाप्ने आफ्नो पालो उम्केला भन्ने त्रासले त्यहाँका मानिसहरुलाई ‘भगवानले दर्शन दिने’ कुरा पनि अति गौण भयो । घटना यतिमात्र होइन, त्यस गाउँका बुजुर्गहरु भन्छन्-‘लाश बोकेर हिँडिरहेका मलामीहरु ट्यांकरको सूचना पाउना साथ लाश भुइँमा राखेर त्यतै दौडिन्छन् । बिहेका जन्ति पनि गाउँमा ट्यांकर आएको सूचना पाए बारात छोडेर ‘जग्गे’ रित्तै बनाइदिन्छन् । पानी जीवनको स्रोत हो । यसका लागि मान्छेले ज्यान छोड्छ ।

भारत देशको अपमान गर्नलाई मैले यी कुरा भनिरहेको छुइनँ । यो त उदाहरणमात्र हो । विश्वका तमाम देशहरुको गति लगभग यस्तै यस्तै छ । तर, जवीनका प्राकृतिक स्रोतहरु जस्तै नदी, झील र तलाउहरु, वन्य पर्यावरण, पशु-पंक्षी आदिको अस्तित्वमाथि हानि पुऱ्याउने अन्य धेरै देशहरुको तुलनामा भारत र नेपालजस्ता प्रकृतिपूजक देशहरु निक्कै अघि देखिएका छन् । चीनको त अझ कुरै नगरौं, ऊ आफ्नो छुट्टै अन्तरीक्ष निर्माण गरेर अन्य ब्रह्माण्डहरुको आविष्कारमा सक्रिय रहेको हाँक दिइरहेको छ । तर, कोरोनाको संक्रमण शुरु हुन केहीदिन अघिमात्र चीनमा वातावरण प्रदूषणको कारकका रूपमा चीन सरकारविरुद्ध ठूलो संख्याका चीनियाँ नागरिकहरुले सडक संघर्ष गरिरहेका थिए । यता अमेरिकी बढाबाबु पनि ‘द टक अफ् क्लाइमेट चेञ्ज इज जस्ट अ होक्स’ भनिरहेका थिए । अहिले कोरोनाको हम्लापछि सबैको होशचेत उडेको छ । यो गतिले के देखाउँछ भने कोरोना कुनै सूरत समाप्त भइहाले पनि अर्को खाले कुनै महामारी नआउला भनेर निश्चित हुने कुनै आधार छैन ।

नेपालमा काठमाडौंको बागमती नदी मैला भएको मात्र होइन । पानीका स्रोतहरु सबैतिर सुकिरहेको कहाली लाग्दो समस्या नेपालमा छ । मञ्जुश्रीले पानीको पोखरी खोलेर बस्ती बसाएको किंवदन्ती बोकेको काठमाडौं उपत्यका दशकौंदेखि पानीको हाहाकारमा बाँचेको छ । वनतस्करी गरेर विदेशमा काठ निकासी पैठारी गर्ने, दूरदराजका खोला-नदीबाट गिटी-बालुवा बेचेर धनाढ्य बनेका प्रकृति विनाशक नाइकेहरुलाई नेपालमा सामाजिक नेतृत्व दिने गरिएको छ । भारतको कुरा पनि यो भन्दा गतिलो छैन । ‘भगवान’ बस्ने मन्दिरका ढलहरु नदीमा लगेर पोखिएको छ । नदीलाई माता मान्नेहरुले चर्पीको ढल लगेर मातालाई अर्पण गरिरहेका छन् । उद्योगका नाममा प्राकृतिक स्रोतहरुमा सिमेण्टको चट्टान विछ्याइएको छ । विभिन्न नदीहरुको बहाव मोडेर अन्तै बगाइएको छ भने त्यसको असरमा हजारौं गाउँहरु डुबानमा परेका छन् ।  यहाँ देशहरुको नाम लिइरहनु आवश्यक छैन; विश्वमा जतासुकै गाउँ र शहरका बीचमा द्वन्द चर्किएको छ ।

प्रकृतिको विनाश गर्दा कस्तो नतिजा हुन्छ भनेर हाम्रा पुराण र कथाहरुले पनि दर्शाएका छन् । महाभारतको एउटा प्रसंगमा उल्लेख छः सर्पदंशको कारण आफ्ना पिता (राजा परीक्षित) को ज्यान गएको कुरा राजा जन्मेजयले सुनेका थिए । वर्णन अनुसार एकदिन राजा परीक्षित शिकार खेल्न जाँदा शमीक ऋषिको गलामा मरेको सर्प राखिदिए । आफ्ना बाबुप्रति राजाको यस्तो बचकना देखेपछि शमीक ऋषिका पुत्र श्रृंगीले सातदिनभित्रै  सर्पले डसेर राजा परीक्षितको देहान्त हुने श्राप दिएका थिए । सोही श्राप बमोजिम सातौं दिनमा तक्षक नागले डसेर परीक्षितको निधन भयो । त्यसपछि हस्तिनापुरको राजसत्ता परीक्षितपुत्र जन्मेजयको हातमा आएको थियो । राजा हुनासाथ जन्मेजयले आफ्ना बाबुको ज्यान लिने तक्षकलगायत ब्रह्माण्डका सारा नागहरुको वंशनाश गराउने अठोट लिए । यही सिलसिलामा जन्मेजयको नागदाह यज्ञ शुरु भएको थियो ।

त्यसैबेला आस्तिक नामक एक बालऋषि यज्ञस्थलमा आइपुगे । उनी एक नागकन्या माताका ब्राह्मणपुत्र थिए । आफ्नी आमातिरको सारा मावलीवंश नष्ट हुनलागेको बुझेपछि त्यस यज्ञलाई रोक्न उनी त्यहाँ आएका थिए । आस्तिकको नम्र निवेदनपछि खुशी भएर जन्मेजयले नागदाह यज्ञ रोकिदिए । तर, फेरि पनि तक्षक मर्नु परेन, उसको ज्यान बाँच्यो । खाण्डव वनविनाश गर्ने अर्जुनको वंशलाई सजाय दिएरै छोड्यो तक्षकले ।

यसरी नागदाह यज्ञको सपामनपछि विश्राम लिइरहेको बेला राजालाई फेरि अश्वमेध यज्ञ गराउने शनक चल्यो । सो यज्ञमा बोलाइएका ब्राह्मणहरुले महारानीतिर हेर्दै हाँसेको अभियोगमा राजाद्वारा काटिएर मर्नुपऱ्यो । एकातिर नागदाह यज्ञ गरेकोमा यसै पश्चाताप भोगिरहेका राजा जन्मेजयलाई यसरी ब्रह्महत्याको दोष लागेपछि अझ विचलित हुँदै वनतिर लागे । वनमा उनलाई विभिन्न ऋषिहरुले दोषबाट मुक्त हुन आफ्ना पूर्वज पाण्डवहरुको कथा सुन्ने उपदेश दिएका थिए ।

यस्तो उपदेश पाएपछि जन्मेजय वेदव्यासका शिष्य ऋषि वैशम्पायनको शरणमा पुगे । वैशम्पायनले जन्मेजयलाई राजा भरत, शन्तनु हुँदै कुरुक्षेत्रको युद्ध र कुरुवंशको सारा वृत्तान्त जोडेर महाभारतको कथा सुनाइदिए । यसरी वैशम्पायनले जन्मेजयलाई उनका पूर्वजहरुको कथा सुनाइरहँदा उग्रश्रव सौतीले पनि सुने र नैमिषारण्य वनमा शौनक ऋषिको अगुवाइमा तपस्यारत ऋषिसमूहलाई लगेर सुनाइदिए । त्यसपछि क्रमशः जन जनमा फैलिँदै त्यही कथा आजसम्म चलेर आएको छ, जसलाई महाभारत भनिन्छ ।

महाभारतको कथा अनुसार दूर्योधनले पाण्डवहरुलाई हस्तिनापुरको कुनै भाग दिन नमानेपछि राजा धृतराष्ट्रले पाण्डवहरुका लागि खाण्डव वन छुट्याइदिए । सारथी कृष्ण र अर्जुन खाण्डव वन हेर्नलाई एकदिन त्यहाँ पुगेका थिए । त्यहाँको अनकंटार वन, हिंसक जनावर र सर्पहरु देखेपछि उनीहरुको विवेकमा त्यो वनको सफाइ कसरी गर्ने भन्ने कुरा सुझेन !

यतिकैमा लगातार बाह्रो वर्षको श्वैतकी यज्ञमा पोलिएको घिउ खाँदा खाँदा अपच भएका अग्निदेव त्यहाँ आइपुगे । कृष्ण र अर्जुन त्यहाँ पुग्नभन्दा पहिले पनि अग्निदेवले खाण्डवको परिक्रमा गरेका थिए । खास गरी अग्निदेवलाई ब्रह्माजीले अपच खलास गर्न खाण्डव वन जलाउनुपर्ने उपाय बताएका थिए । तर, इन्द्रले खाण्डवका राजा तक्षकलाई सुरक्षा दिएका कारण अग्निले त्यो वन जलाउन सकिरहेका थिएनन् । अर्जुन र कृष्णको साक्षात्कारमा अग्निलाई हौसला भएर अब कसरी आग्जनी गराउने भन्ने योजना शुरु भयो ।

अग्निकै पहलमा वरुणदेवबाट कृष्णलाई एउटा चक्र अनि अर्जुनलाई गाण्डीव धनु, अक्षय तरकश, कपिलध्वज रथ प्राप्त भयो । कथा अनुसार गाण्डीव धनु अलौकिक थियो भने अक्षय तरकशमा कहिल्यै वाणको अभाव हुन्न’थ्यो ।  यस्तो पूर्वतयारीपछि अग्निले खाण्डवलाई प्रज्वलित गरिदिए । कुनै पनि प्राणीले बाहिर भाग्ने प्रयास गरेमा अर्जुन र कृष्णले पिछा गर्थे, मारिदिन्थे । यो अवस्थामा खाण्डवका प्राणीहरु व्याकुल भए । तिनलाई सहायता गर्न समस्त देवसेना लिएर राजा इन्द्र पनि त्यहाँ आइपुगे । यद्यपि, अर्जुन र कृष्णका अगाडि इन्द्रको कुनै जोड चलेन । तर, इन्द्र एउटै कुरामा सन्तुष्ट भए कि त्यो बेला उनका मित्र खाण्डवराज तक्षक वनबाट बाहिर कतै गएका थिए । कथा अनुसार खाण्डव वनमा त्यो आगजनी काण्डपछि तक्षकपुत्र अश्वसेन, मयासुर दानव र चारवटा पंक्षीमात्र बाँच्न सफल भएका थिए ।

यसरी खाण्डवको सफाइ गरेपछि विश्वकर्मा र मयदानवको सहायताबाट पाण्डवहरुले त्यहाँ ठूलो दरबार बनाएर रजगज गरे । त्यो दरबारीय क्षेत्रलाई इन्द्रप्रस्थ भनिन्थ्यो । मयदानवको कारिगरीमा बनेकाले दरबारमा एउटा मयसभा भन्ने छुट्टै कक्ष पनि समावेश थियो ।

कुरो जो होस्, हामीले यहाँ वनविनाश गरी प्रकृतिमा क्षय पुऱ्याउँदाको नतिजाबारे कुरा गरिरहेका छौं । खाण्डव विनाशको प्रतिशोधमा अर्जुनलाई मार्ने हेतुले अश्वसेन कुरुक्षेत्र युद्धको दौरान कर्णको वाणको टुप्पोमा सूक्ष्मदेह धरेर बसेको थियो ।

कृष्णको आड पाएर कुरुक्षेत्र युद्धपछिसम्म पाण्डवहरुको रक्षा भइरह्यो । युद्ध र विनाशको व्यथाले वैराग्य पह्लाएका पाण्डवहरु अर्जुनका नाति परीक्षितलाई हस्तिनापुरको राजसत्ता सुम्पिएर सशरीर स्वर्गको बाटो लागे । अर्जुनलाई मार्ने आफ्नो प्रतीज्ञा पूरा नगरी पाण्डवहरु स्वर्गको बाटो लागेकामा पश्चाताप लिइरहेको तक्षकले अब अर्जुनको वंश नासेर प्रतिशोध लिने अठोट बनायो । यसरी परीक्षित राजा बन्नासाथ तक्षक आएर खाण्डव वनविनाश गराएको अर्जुनमाथिको प्रतिशोधी प्रतीज्ञा नाति परीक्षितलाई डसेर पूरा गरेको थियो ।

हो, महाभारत कथा यसै पनि प्रकृतिसित नजिक छ । यही कथामा कृष्णले व्यक्तिराजा इन्द्रको पूजा नगरी प्रकृतिप्रदत्त गोवर्धन पर्वतको पूजा गर्न उत्प्रेरित गरेको उपकथा पनि छ । कुरो जे होस्, पौराणिक इतिहासमा ‘महाभारत अघि’ र ‘महाभारत पछि’ भनेर काल विभाजन भएको छ ।

अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको छ । पौराणिक पुस्तकहरुले शायद यस्तै कुरालाई प्रलय भनेका हुनुपर्छ । जे होस्, कोरोनाले विश्वमा कालखण्डको रेखा कोर्ने पक्का पक्की भइसकेको छ । अब बन्ने इतिहासमा इतिहासकारहरुले ‘कोरोना अघि’ र ‘कोरोना पछि’ भनेर कालविभाजन गर्नेछन् ।

विश्वका जुनसुकै कुनामा रहे पनि हामी नेपाली बोल्ने लगभग सबैको पृष्ठभूमि प्रकृतिसित जोडिएको छ ! हलि, गोठाला, खेताला, अर्म-पर्म, शिकारी, भैंसीपाला, गाईपाला, भेडापाला आदिको पृष्ठभूमिका मान्छेहरुबाट ‘…हलो जोती खायो माम’ भन्ने उखान सुनेका हामीलाई उतिबेला अचम्म लागे पनि अहिलेको विश्वपरिवेश हेर्दा बुढाहरुको कुरो सही रहेछ भन्न मन लागिरहेको छ । तर, हामी त्यो परिस्थितिमा आज छैनौं । जल, जमीन र जंगलको जीवन भोग्ने सुविधाबाट हामी निकै टाढा पुगेका छौं । हामी शिशाको जलपमा टेकेर जिउने ठाउँमा आइपुगेका छौं । तथापि, हामीलाई जमीनबाट उम्रिएको वनस्पति र अन्न चाहिन्छ शुद्ध-पर्यावरणको स्वच्छ हावा र पानी चाहिन्छ । त्यसर्थ, विश्वमा ‘जस्ट अ होक्स’ भन्नेदेखि लगेर निजी अन्तरीक्ष निर्माण गर्नेहरुसम्मलाई प्रकृतिको संरक्षणतर्फ नयाँ अभ्यास गराउने उपाय सोच्नु जरुरी भएको छ ।

मैले नगरे पनि अर्कोले गर्ला, फलानोले चिलानोले गर्ला नि भन्दै रमिता हेर्ने समय छैन । भोलि आउने नयाँ खाले महामारीले पनि अहिले आएको कोरोनाले जस्तै कुनै देशको सिमाना, जाति, धर्म, सम्प्रदाय वा मान्छेका छालाको वर्ण हेरेर दुःख दिने होइन । प्रकृतिको उल्का, पर्यावरण क्षय वा नदी-समुद्रको आँधी भनौं वा हैंजा, व्याधी र महामारी केही पनि देशको भूगोलमा सीमित हुँदैन । तिनीहरुका लागि सिंगो विश्व एउटै देश हो ।

त्यसर्थ  साना साना राजा-रजौटा र देशको सिमानामा झगडा गरी बस्ने समय होइन यो । विश्व अर्थतन्त्र र कर्पोरेट पूँजीलाई कताबाट कता बगाउने भन्दै विवाद गरिरहने समय होइन हो । विश्व अहिले एउटै विशाल अर्थतन्त्रको सञ्जालमा जेलिएको छ । संसारको कुनै कुनामा मन्दी छायो भने पनि सबैतिर त्यसको असर पुगिहाल्छ । सारा  विश्वका लागि अन्तरीक्ष र पर्यावरण पनि एउटै हो । अहिले भनिएका देशका सरकारहरु त जनताबाट कर उठाएर त्यही कर कार्यालय चलाउने ठेकेदारहरु मात्र रहेछन् भन्ने लाग्न थालेको छ । लाग्छ मान्छे मार्ने युद्धको निर्णय गर्न यी ठेकेदारहरुलाई कुनै समय लाग्दैन । तर, मान्छे बँचाउने निर्णय गर्न प्रायः असम्भव रहेछ ! सबैले आफू बाँच्न आफैंले प्रयत्न गर्नुपर्ने रहेछ । अनि, तिनै आफू आफू मिलेर फेरि ‘हामी’ बन्दा रहेछौं । यसरी हामी हामी मिलेर फेरि विश्वमा विभिन्न जाति, नश्ल, भाषा, रंग, रुप र क्षेत्रीय चेतनाका मानव समुदाय बन्दा रहेछन् ।

त्यसैले अब ‘आफू’ बाँच्नका लागि हामी सबै लागेर धर्तीको तापमान घटाउन, विभिन्न रासायनिक रद्दीहरु नदीमा नफ्याँक्न, बोरिङ मोटर राखेर जमीनमुनिको पानी ननिकाल्न, वन र वन्यजीवहरुको रक्षा गर्दै विश्व पर्यावरणको संरक्षण गर्न वकालत गर्नुपर्ने भएको छ । हो, पृथ्वीका हरेक मानिसले स्खलित चेतनालाई पुनर्ताजगी दिएर जागरण फैलाउँदै अघि नबढेमा आफू बाँचेर अरुलाई बचाउँने दिन अब गइसकेका छन् । बाँच्नका लागि जीवनका स्रोतहरु चिनौं अनि तिनलाई जोगाऔं ! तबमात्र बाँच्ने र बँचाउने तजबीज सम्भव हुनेछ ।

One Reply to “कोरोना उन्मादमा स्खलित चेतना”

  1. Prem Khanal

    First of all, There is no word of gratitude to express for such a great research writing. It took me two breaks to complete it. The Corona is the topic here but the writer has just picked the viral word CORONA as the topic, then goes to science, inventions, discoveries , pollution, economic Crises and at the end either to save nature or to give up the whole life.
    The illustration shows a perfect harmony penning down each and every details with great examples and anecdotes from the epics like Mahabharata, Purans and science. The article is almost a good chapter on a book with the topic Corona Impact. It shows the instances of the time facets prior and post to Corona as AD or BC, After and Before world war and so on if there are any others. The minute details of different countries and the incident of water crises of Maharastra in India, where the public is compelled to give up even welcoming ceremony of God, but just for water not only shows pinching satire to the so called great politicians and social reformers of Great India but also the heart rending and pathetic daily crises of even the free gift of nature in that area. It is just an instance. There are many Maharastras in the world where the people have to give up a lot just for air, water and sun. The political, social, economical and scientific progress in the name of preserving the nature are vividly seen as the main destroyer hiding behind the bars. Of Course the fact is always Bitter. I highly appreciate this article which has good trace of each and every factual blueprint in every pace. Summing up, Thank you Bhakta Daju for bringing out such a valuable and exclusive piece of writing, that too in Nepali, which is not so easy to type. Hoping to read such precious pieces on the prevailing topics in future too. Jai hos.

Leave a Reply

Your email address will not be published. Required fields are marked *