क्याबिन कुइन

सञ्चमान खालिङ/ पीए, अमेरिका

सावित्राले शहर टेकेको दिन
ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू….
सबैसित लजाउँथिन्
भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा
अप्ठ्यारो लाग्थ्यो,
अरुले,
तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा
उसलाई पो लाजमर्नु हुन्थ्यो !

तर,
समय अति बलवान हुँदोरहेछ,
क्याम्पस फी भएर
कापी-किताप भएर
ट्यूशन फी भएर,
डेरा भाडा …..
परिस्थितिको कल्लीले चौखुर्‍यायो
अहिले उनी भइन्- क्याबिन कुइन !
पाखे नाउँ हट्यो,

शहरले कतिलाई सम्हालोस्
केको जागिरले पुग्छ,
फेरि जागिर खानलाई
कोहि चिनेको पनि हुनुपर्‍यो निः
मान्छे नहुनुले,
मान्छे, मान्छे हुन पाउँदैन ।

आफूमा जे स्रोत छ
त्यही प्रयोग गर्छिन् उनी
के त्यसो गर्नु अपराध हो ?
भोकै मर्नु जाति ?
अनुत्तरित प्रश्नहरु
जे होस् उनी
क्याबिन….!
आफ्नै साम्राज्य छ,
मुस्कान मुस्कानमा टिप्स छ,
स्पर्श स्पर्शको मोल छ !

फेरि समयले कोल्टे फेर्छ
रिमरिम, चमचम, चञ्चल परेको वदन
फुस्रो, खस्रो, कोत्रो पर्छ,
हेर्दा- हेर्दै साम्राज्य ढल्यो
एकदिन ग्राहकले धकेल्छ,
‘‘उता जा तेरो सास गनाउँछ !!’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *