क्या फेसबुक !

लेखक
लेखक

टी पी मिश्र
अमेरिका

सन् २००९ को अन्त्य ताका हुनुपर्छ केही न खालो सारिएला भनेर सुटुक्क छिरेथें, यो फेसबुक भन्ने जङ्गलमा। ती सिकारु दिनहरूमा फेसबुकलाई चाहिनेभन्दा पनि कम चलाउनु पर्ने बाध्यता थियो । उ बेला मिनेट गन्तिले द्रब्ये तिर्नु पर्ने साइवर क्याफेमा । निकै बेर हात्तीछापे चप्पल पट्याक-पट्याक पार्दै पैदल हिंडेर मात्र पुगिन्थ्यो त्यहाँका साइबर क्याफे । आफ्नो पालो कुर्नु पर्ने बाध्यता त छँदै थियो । कोही बेला आधा दिन पर्खेरै बित्थ्यो । अनगिन्ती पटक त जब आफ्नो पालो आउँथ्यो, तब झ्याप्प बिजुली पनि त्यस दिनका लागि अस्ताउँथ्यो । बरा! वर्षौं आफैँ नन्वाई लुतोले ग्रस्त बागमती बगेको देशको अवस्था !

अमेरिकाको बसाइपछि ती दु:खका दिनहरू खोइ कता गए कता? यहाँ त साइबर नै आफ्नै खल्तीमा छ । जानी-नजानी फेसबुकलाई चार-चौकाबाट मसान जगाइसकियो । यो त एउटा नसामा रमेको मसानभुत नै पो रैछ कि क्या हो? बेला-बखत यसो बिहान पाइखाना बसेको बेला दाहिने हातले चिउँडोलाई टेवा दिँदै झ्वाट्ट सोच्छु । दिउँसो अन्य कतै पाइखानामै भए पनि खल्तीबाट मोबाइ झिकेर अरुहरुको फेसबुकका भित्ता-भित्ता (म ‘वाल’ भन्न रुचाउँदिन), कान्ला-कान्ला, बारी-बारी चर्दै हिँड्छु । आखिर त्यसो गरे बापत न मलाई कसैले अर्मल नै तिराउन सक्छ, न कि म त्यसो नगरी बस्नै सक्छु । उनीहरुबारे मलाई केही थाहा नहोस् भनेर गाउँघर फलाक्दै हिँड्ने अनि मलाई शत्रु सम्झने मेरा केही दर्जन प्रिय मित्रहरुको पछिल्लो दु:ख-सुख पत्तो पाउन होस्, वा त मेरो सम्पर्कबाट बिना कारण बाहिरिएको आफन्तको प्रगति हेर्न, आखिर मलाई यही फेसबुक चाहिन्छ । अरूको जीवनमा फेसबुकको असर के छ? त्यो मेरो चिन्ताको विषय पनि भएन । न मैँले अरूको बारे, न अरूले मेरो बारे चिन्ता लिने जमाना नै हो यो ।

यसरी फेसबुकमा लिप्त भएर लागि पर्ने सायद म मात्र होइन भन्दै कहिलेकाहीँ मन-मनै चित्त थमाउने पनि गर्छु । चित्त नथमाए अरू भुत्राको लछारपाटो लाउनु नै के छ? अरूलाई दोष थोपरेर आफू चित्त बुझाउने बानी त मेरो मात्र के, धेरैको हुन्छ नि । म फेरि केही कुराको लत परेपछि आफ्नै कमजोरी भनेर सिरोपण गर्ने समाजको पनि त परिन नि । मेरो समाजमा त कुलतको दोष जति अरूलाई दिने हो, अनि उपलब्धिहरुको श्रेय आफैँले मात्र लिने हो ।

पश्चिमाहरुले फेरि ठ्याक्क यसको उल्टा गर्दारहेछन् भन्या । यिनीहरू के नै पो सुल्टा गर्छन् र? म नव शिशुको नालसहित, त्यसमा पनि आमाको कोखबाट बाहिर निस्कन साथ् फेसबुकमा फोटाहरु हाल्छु । पश्चिमाहरु शिशुलाई बस्त्र लगाएर मात्र फोटाहरु हाल्दा रै’छन् । म डाँडापारि अस्ताउनै लागेका मेरा बाबै, जो अस्पतालको शैयामा छन्, उनीसँग सेल्फी खिचेर खुत्रुक्क फेसबुकमा लगाउँछु, जगतैले देख्ने गरी । ‘लाइक’ र ‘कमेन्ट’ हेर्दै बस्छु, कोही-कोही बेला दिनभर सम्म । एकखालको आनन्द आउँछ । बाबैलाई के बिमार लागेको भनेर नालीबेली सुनाइदिएँ अस्ति फेसबुकमा । धन्न लेखेँछु । बुढा त्यसको एक हप्ता पनि राम्रो नबित्दै माथितिर लागे । राम्रैसँग पुगे त होलान् नि । पश्चिमाहरुले मर्नै लागेका सँगको सेल्फी फेसबुकमा हाल्ने त कुरै छोडौँ, यिनीहरूले त्यस्ता-उस्ता फोटाहरु खिच्दैनन् पनि होला । बिमारको बारे त झन् उनीहरूले कहिले पनि केही खुलाउँदैनन् । कति न कुरा लुकाउन जानेका, निर्दयीहरु ! मलाई चैँ भाको कुरा भन्नलाई किन लाज मान्नु जस्तो लाग्छ ।

अस्ति काका खसेको बेला भाइले उनको प्राण बिनाको शरीरका फोटोहरू हालेछ फेसबुकमा । लासलाई हेर्दै एकछिन भक्कानिएँ । मलामी जाने फुर्सत नै मिलेन । दुई हप्तासम्म खुरुखुरु बेगार तिर्नु थियो, बिदै मिलेन । मेरो एघार बर्खे छोरालाई चैँ अचम्म लागेछ लास हेरेर ।आजकलकाहरुलाई त्यस्तै हो । कहिले लास नदेखेको उसले त्यो रात निद्रा मै डराएको स्वांग पार्यो । अलिक ठुलो हुँदो हो र हामी भुटान-नेपाल तिरै हुने भने मैँले गालैमा छ्याप्प औंठा छाप बसाउने थिएँ । उसले मज्जाले मेरो बिहा देख्ने थियो । लास देखेर किन डराए जस्तो गर्नु? फेरि कुनै दिन डराएको स्वांग पार्यो भने मैँले यसको ठाँडो फुटाउन सक्छु । हेरुँ त्यसपछि कसरी चलाउँदो रैछ रात-दिन फेसबुक । तर केटोले निकै कुराहरू सिक्दैछ जस्तो पनि लाग्छ । अङ्ग्रेजी फरर बोल्ने भएको छ । यही कम्प्युटर आँखा रसाउनजेल चलाएर त्यसो भएको हुनु पर्छ । मलाई खुब नयाँ-नयाँ कुराहरू पनि सिकाउँछ । मेरो पालामा कम्प्युटर र फेसबुक हुँदो हो त म पनि केही कुरामा कमी नहुने थिएँ क्यार । फेसबुकको जङ्गलमा त तेह्र बर्ख पुगेकाहरुलाई मात्र प्रवेशद्वार खोलिन्छ भनेको पनि सुनेको थिएँ । उसो भए मेरो केटोले ताल्चा खोल्ने चाबी भेटेको हुनु पर्छ । कि चैँ फेसबुकलाई नै राम्ररी सुतायो केटोले । जे होस् बाउको हैसियतले गर्वै गर्नु पर्ला !

जिउँदो हुँदा काका अलिक सन्काहा र अरूलाई घोचपेच गरिरहने खालका थिए । निकै सयले त ‘लाइक’ नै गरेका रैछन् उनको लासको फोटोलाई । सिधा भन्ने हो भने काका बितेकोमा निकै सय खुसी भए । जिउँदो हुँदा बुढाले इष्टमित्र कमाएका भएको दु:खी हुन्थे मान्छे । यसो ‘कमेन्टहरु’ हेरेँ, सबैले अङ्ग्रेजीमा ‘रिप-रिप’ लेखेका रहेछन् । खोइ त्यो भनेको चैँ के हो मलाई थाहा भएन । श्रद्धान्जली दिएका होलान् जस्तो लाग्यो । पश्चिमाहरुले फेरि सास नभएका शरीरका फोटाहरु फेसबुकमा हाल्दा रैनछन् ! खुब आफूलाई सभ्य अनि सिपालु ठानेर त्यसो गरेका होलान् नि ! उनीहरू जीवित हुँदा हाँसेर खिचेका फोटा पो छपाउँदा रहेछन् फेसबुकमा त । मान्छे मरेको बेला फेसबुकमा के हाँसेका फोटा हालेका होलान् जस्तो लाग्छ । त्यसो त मेरो भाइ मात्र होइन, एउटा मित्रले त झन् दाह-संस्कारको पुरै ‘लाइभ’ खिचेर भिडियो राखेछन् फेसबुकमा । लासलाई नजिकबाट घरी-घरी क्यामेराले ‘जुम’ गर्दै देखाइएको रहेछ । सम्झेँ मेरो भाइले लासका फोटाहरु फेसबुकमा राखेर ठिकै गरेको रहेछ । बरु मैँले चैँ भुतुक्क बिर्सेँछु बाबैको लासका फोटाहरु फेसबुकमा हाल्न । बुढा रिसाए होला माथि ।

यो ‘लाइभ’ ले त अब घरमै बसेर ओहायोको पुराण होस् कि नेब्रास्काको बुद्ध जयन्ति, न्यु ह्याम्प्साइरको क्रिस्मस होस् कि पित्त्स्बर्गमा रामकृष्ण ढकाल साँझ, एरिजोनामा बितेकाको दाह-संस्कार होस् कि टेनेसीको फुटबल खेल, सिड्नीको भजन-किर्तन होस् कि अल्टाको मध्य रातको सूर्य, क्राइटचर्चको वनभोज होस् कि एड्लेडको ‘बारबीक्यु’, सबै हेर्न सकिने रहेछ । बिस्तारैसँग अब एउटा क्यामेरा चलाउने छिमेकी र घरका जति मात्र घाटमा जाँदा दाह-संस्कार हुनेरहेछ । अरूहरू घरको टेबुल माथि चिया गिलास सहित कम्प्युटरमा ‘लाइभ’ हेर्दै मलामी गएको सम्झने छन् । क्या फेसबुक !

मेरी स्वास्नी चैँ मलाई गलत देख्न थालेकी छे आजकल । हुन त पश्चिमाहरुसँग म भन्दा बढी सङ्गत गरेर त्यसो भनेकी होली । उसको कुनै दोष छैन । हजारौँ पटक त परस्त्रीका खौरिएका हुन् कि झ्याम्म रौँले भरिएका, हेर्दा सेता-सेता देखिने तिघ्राहरु जानी-नजानी हेरियो यही फेसबुकमा । धेरै जसो त जानीजानी हेरियो, के जिब्रो लुकाएर कुरा गर्नु? स्वास्नीलाई थाहा हुँदो हो त मेरो अस्ति नै बास टुट्ने । उसले पनि ‘सिक्स प्याक कि खोइ के प्याक’ खोज्दै सयौँ पुरुषका शरीरहरु यही फेसबुकमा खोजी कि जस्तो पनि लाग्छ । नत्र मेरो पहाडे-फर्सी जस्तो भुँडी घटाउन किन दिनरात गनगन गर्थि होला र? पोहोर साल फूलपातीको दिन ढालेको पाङ्ग्रे खसीका फोटालाई मैँले फेसबुकमा राखेको निहुँमा निकै बेर कच्कच् गरी स्वास्नीले । मरेको पाङ्ग्रेका फोटा देखेर टाउको भन्भनियो रे । मैँले नसुने जस्तो गरेँ । त्यही साँझ चुली-बोटुको पर-परी भुटेको फल मासु, राम्रो नचबाई सुलुक्क-सुलुक्क निल्दै, डकार हान्दै चुपचाप ओछ्यान पसी बुढी । मेरै जित भएथ्यो उ बेला ।

म सुत्ने बेलामा अमेरिकाको अर्कै राज्यमा बस्ने साइनोले साथी मात्र पर्ने मने (थर लुकेको छ!) घरी-घरी निकैवटा खाली र केही बिर्कै नखोलिएका कोरोना वियरका बोतलसँगै निदाउरो अनुहार देखाउँदै ‘सेल्फी’ फेसबुकको भित्तामा हालिरहन्छ । बेला-बेला त मेरो फेसबुकको भित्तो नै ठ्वाँस्स गनाएको झैँ लाग्छ । फेसबुक नहुने भए मनेको यस्तो हबिगत त परै जावस्, बिचरा ऊ परलोक हुँदा पनि थाहा हुने थिएन होला ।

क्या जिन्दगी ! एक मनले सम्झन्छु ।
मनेको नौटंकी र बेला-बेलाको पिटाइले उनकी स्वास्नीको के हाल होला? अर्को मनले अर्कै भन्छ ।

मनेले अस्ति भर्खर ‘मुन्नी बद्नाम हुइ डारलिङ् तेरे लिए’ गीतमा नाच्दै भनेर फेसबुकमा एउटा लिंक हालेको देखेँ । मेरो पनि मन पर्ने गीत भएकोले लिंक हतपत खोलेँ । बज्याले सबै घिनलाग्दा कम्मर मुनिका फोहोरी भिडियो पो राखेको रहेछ । खोइ जानी-जानी हो कि नजानी, त्यो उसैले जान्दछ । लिंक खोलेको बखत यौटै सोफामा बसेकी ठुली फुपू र मेरो अहिले पनि पानी बाराबारको स्थिति छ । मैँले उनलाई चप्परी मुनि राखें रे । गाउँघरमा त्यसो भन्दै हिँडिछिन् फुपू । मलाई जिउँदै मरेको झैँ भान हुन्छ त्यो घटना सम्झँदा । लाज लुकाउने ठाउँ कतै भेटेको छैन । फुपूलाई कुरा बुझाउने सबै कोसिस एकपछि अर्को गर्दै विफल भए । तिन हप्ता त फेसबुक नै बन्द गरेर बसें । पछि फेरि सबै साथीभाइहरुले लगातार मोबाइलमा म्यासेज गरे । त्यो तीन हप्ता केही न केही हराएको जस्तै भो । फेरि प्रवेश गरेँ यो घना जङ्गलमा । प्रवेश शुल्क पनि त तिर्नु पर्दैन नि । फुपूले पनि ठुलो कुरा नगरे हुन्छ । उनको कतै नबिकेको पटमूर्ख छोरोले पहिलेकी बुहारीलाई छोरो नजन्माएको निहुँमा छोडेर फेसबुकबाटै परार साल नेपालको धरानकी कुलघरान राम्रै भएकी, हेर्दा हिरोनी नै देखिने, उमेरले आफूभन्दा दस वर्ष कान्छी एउटी परीलाई फँसाएको त हो नि । अहिले उनीहरू सँगै हाँसेर बसेका छन् । “तल्लो जातकी” बुहारीसँग नबस्ने भनेर अहिले फुपू-फुपाजु बुढेसकालमा बाक्लो दाल खाइरहेका छन् । अब मसँग पानी नबारेका हुँदा हुन् त बेला-बेला प्रेसर कुकरमा दाल बसाइ त दिन्थें ।

फुपूको छोरो अर्थात् मेरो भाइ एक प्रकारको छ । हेर्दै-हेर्दै यो केटो फेसबुकमा ठुलो साहित्यकार भैसक्यो । गजल मात्रै दिनको तीन-चार वटा हाल्छ फेसबुकमा, गीत र कविताको त गन्ति छैन । दुइटा त पुस्तक नै छपाइसक्यो भाइले । उसका फेसबुमा भएका कोसेलीहरु यसो बोक्रे-बोक्रे पढ्छु बेला-बेला । ‘लाइक’ र ‘कमेन्ट’ को ओइरो लाग्छन् उसका रचनाहरुमा । केटो गमक्क पर्छ । मलाई पनि ‘कमेन्ट’ को लागि हात पसारी रहन्छ । खोइ मैँले उहिले साहित्य कक्षामा जे पढेथें, त्यो चस्माले हेर्दा त भाइका सिर्जनाहरू ताइ न तुइका पाउँछु । गीतहरू सुर र तालका हुन्छन् । घरी-घरी फेसबुक मै केटो विवादमा पनि परिरहन्छ । सायद भाइ मध्यरातसम्म टोड्काउँदै, बेसुरी अवस्था मै फेसबुक चलाउँछ । मेरी स्वास्नी उसलाई ‘फेसबुके साहित्यकार’ भन्छे । फेसबुक कोदाली हुँदो हो त भाइको चलाइमा उसका हातमा टिलपिल-टिलपिल परेका ठेलै-ठेला उठ्थे होलान् । कुन दिन यसले बुहारीलाई धोकेको सुरमा भकुरेको पनि फेसबुकमा ‘लाइभ’ देखाउन बेर छैन । बिचरा भाइलाई मात्र के दोस्नु दिनु । मेरो पनि खासै भन्ने हो भने आइफोन चलाइले ठेलै उठे जतिकै भाको छ । हत्केलाहरु पुरै लथ्राक-लुथ्रुक गलेका छन् ।

भाइको एउटा पिलन्धरे साथी पनि यही फेसबुकमा ठुलो पत्रकार भएको छ । उसले घरी-घरी तथ्यहरू छिपाएर समाचारहरु ‘ब्रेक’ गरिरहन्छ, यही फेसबुकमा । आफुँलाई सायद ऊ ठुलै पत्रकार सम्झन्छ । फेसबुक नहुने भए यी पिलन्धरे सायद उहिलेका कुरौटे नारद हुन्थे गाउँ-घरमा । दिनभरि गाउँ चहार्दै, नानाथरी कुरा लाउँदै हिन्थे क्यार । मेरी स्वास्नी कै पारामा भन्ने हो भने उनी ‘फेसबुके पत्रकार’ हुन् । माताऔँसीका दिन हजारौँ आमाहरू मुस्कुराउँदै उभिन्छन्, वर्षभरि घरमा पनि मुस्कुराउँन्, पूजाआजामा जुम्ल्याहा हात क्यामरालाई गर्दै भक्तजनहरु आइरहन्छन्, हामी पनि बाबु आमा हुने भयौ भन्दै । को के प्रगति गर्दैछ सबै देख्न पाइन्छ, यही फेसबुकमा ।

भाइको मात्र कुरा गरेको जस्तो हुन्छ । अरूहरू यही फेसबुकमै भूटानी नारायण गोपाल भए । अस्ति खोइ कता हो (जानी-जानी ठाउँ नभनेको), यी नारायण गोपालले एउटा साङ्गीतिक मेलामा खुट्टा लर्बराउँदै गीत पनि गाए रे । उनकै छेउमा बसेका मेरा एउटा मित्रको नाकबाट अहिले पनि ‘स्कच हुइसकी’ को बासना हराएको छैन । सक्कली नारायण गोपाल पनि त उ बेला टन्न धोकेरै गाउँथे भनेको सुनेको थिएँ उहिले-उहिले । सिको गरेका होलान् नि हाम्रा नारायण गोपालले चैँ । यही फेसबुकमा परिवर्तनका ठुल्ठुला धक्कु लडाउने निकै जना खपिनसक्नु समाजसेवी भएका छन् । समाजलाई त खोइ कहाँ के गरे थाहा भएन, तर आफ्ना फेसबुकका भित्ताहरु भने दिनै पिछे चाहिने-नचाहिने कुराहरूले परिवर्तन गरेका छन् । क्या फेसबुक ! भन्दै होलान् उनीहरू मैँले जस्तै ।

अहिलेसम्मको हिसाब-किताब हेर्दा करिब सत्र-सय भन्दा अलिकति बढी घण्टा बिताइएछ फेसबुक खेलाउँदै । हेरु अबको केही वर्षमा जीवनमा ठुलै उपलब्धीको पोको नै हात पर्ला कि? नत्र यतिको मिहिनेत गरेर चलाएको फेसबुकलाई मैँले सलाई-काँटी ठोस्न सक्छु ।

Other articles by T P Mishra:

[feedzy-rss feeds=”http://bhutaneseliterature.com/label/writer/t-p-mishra/feed” max=”10″ feed_title=”no” meta=”no” summary=”yes” summarylength=”1000″ thumb=”no” ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *