खाए खा नखाए अमेरिका जा
दागाने काइँलो
शीर्षकमा उल्लेख गरिएको उखान टुक्का ‘खाए खा नखाए घीच’ भन्ने नेपालीहरुमाझ निकै प्रिय टुक्कासित मेल खाने प्रकारको छ । पूर्वी नेपालका झापा र मोरङमा छरिएर बसेका भूटानी शरणार्थीले आज यही टुक्कासित मिल्दो—जुल्दो परिस्थिति सम्हाल्नु परेको छ । आफ्नो सर्वस्व छाडेर रातारात भूटानदेखि जीउज्यान जोगाउन नेपाल छिरेका शरणार्थीहरुमाझ दातृराष्ट्रहरुको आगमनसंगै खाने र बस्ने सुविधा मिल्दाका खुसीका क्षणहरु आज आएर पुराना कथा बन्दै गएका छन् ।
शरणार्थीहरुको लामो बसाईसंगै उनीहरुको राहतमा संसस्थाहरुले ब्यापक कटैती गर्न शुरु गरेका हुन । शुरुका दिनमा शरणार्थीहरुलाई लाउने कपडादेखि लिएर बिभिन्न खाद्य सामाग्री वितरण गरिएको थियो । पछि ती सहुलियतहरु केवल रासन—पानीमा सिमित राखियो । त्यती मात्र नभएर चामल, दाल, तेल र नुनको परिणाममा क्रमिकरुपले घटाउदै जादाँ भरखरै आएर शरणार्थीको रासनको चाँजो—पाँजो मिलाउदै आएको विश्व खाद्य कार्यक्रमले ५० प्रतिशतभन्दा ज्यादाले कटैती गरेको छ । अबउसो शरणार्थीले मासिक केवल प्रति व्यति २ केजी ६०० ग्राम चामल पाउने भएका छन् । यति सानो राहत भनिएको राष्ट्रसंघको सौलियत गणतीय हिसाबमा एक छाकलाई ९३ ग्राम चामल पर्नेछ ।
विश्व खाद्यय कार्यक्रमका अनुसार विभिन्न राष्ट्रमा देखिएको आर्थिक मन्दिका कारण शरणार्थीलाई उपलब्ध गरिंदै आएको आर्थिक अनुदानमा कमी आएकाले यस्तो कठोर निर्यण लिन बाध्य भएको हो । उसले यो परिणाम लामो समयसम्म नभएको र तत्कालै यसअघि प्रदान गरिएको चामलको मात्रा उपलब्ध गराउने आश्वसनसमेत दिएको छ । तर शरणार्थीहरु त्यस्तो आश्वसनको व्यवहारिक पक्षमा शंका गर्दछन् । विगतका अनुभवलाई संगालेर शरणार्थीहरुमा यस्तो शंका आउनु स्वभाविक देखिन्छ ।
यस अघि शरणार्थीहरुले एक छाकको २०० ग्राम गरेर प्रत्येक १४ दिनमा पाँच केजी ६०० ग्राम चामल पाउने गरेका थिए । अहिले २०० बाट घटाएर ९३ ग्राममा झारिदा शरणार्थीहरुमा चिन्ताले छाएको छ । पुनर्वास प्रक्रिया अन्तरगत सबै शरणार्थीहरु अमेरीकालगायतका मुलुकमा जान चहाँदैनन् । विदेशतिर जान नचाहने शरणार्थीहरु नेपालमै शिविरमा बस्न चाहन्छन् । नेपाल बसुन्जेलसम्म राहत सामग्रीको अपेक्षा उनीहरुको ठूलो चहानाको रुपमा उभिएको बेला यस प्रकारको निर्णयले भोलिका दिनमा दातृ—संघसस्थाहरुले विचल्लीमा पारेर छाड्ने हुन कि भन्ने भयले शरणार्थीहरु पीडित भएर बाँचेका छन् ।
पछिल्लो तथ्यका आधारमा नेपालका शिविरमा दर्ता भएका १,०६,००० शरणार्थीमध्ये २२,००० शरणार्थी विभिन्न देशमा पुनर्वासकालागि हिँडिसकेका छन् । अब शरणार्थी शिविरमा केवल ८४,००० शरणार्थी बाँकी रहेको बेला किन राहतमा कटौती गरिंदैछ, त्यो महत्वपूर्ण विषय हो । प्रति शरणार्थी १०० ग्रास चामल काटेर ८,४०० केजी चामलको बचत गरिएको छ । अहिलेको बजार भाउ (प्रति केजी ५० रुपया) मा यसको मूल्य ४,२०,००० हुन आउछ, जुन राष्ट्रसंघका पाँच जना कर्मचारीको मासिक तलब भन्दा पनि कम हुन्छ । आफ्ना महँगा कर्मचारीहरु चिल्ला गाडीमा रातोदिन शरणार्थीकालागि भनेर पोस्न सक्ने राष्ट्रसंघीय शरणार्थीकालागि उच्चायुत्तको नेपाल कार्यलय र विश्व खाद्य कार्यक्रम जस्ताले पाँच लाख रुपयाकालागि शरणार्थीमाथि किन खेलबाड गरिरहेका हुन, सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ । नत्र खुलेर शरणार्थीलाई भनिदिनु पर्यो—खाए खा नखाए अमेरिका जा ।