खुसी फर्किएको दिन
सीएम् निरोला
न्यू ह्याम्पसायर, अमेरिका
बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ र फोन राखेँ। एकैछिनमा क्षितिजजीले गर्नु भएको कलको पनि २-३ मिनेट कुरा गरेर फोन सम्वाद सकाएँ।
…. भ्यार्र भ्यार्र मेरो फोन बज्छ। श्रीमतीले रौद्र रूप देखाउँदै आफ्नो पिडा पोख्दै थिइन्, ”हैन तपाईँ चैँ हरेक बेलुका कल सेन्टरमा काम गर्नु हुन्छ कि के हँ? के दिनमा यस्तासँग फँसेछु भने नि ! मेरो त ज्यानै जान लाग्यो इनको यो कसैको नभएको फोनले। हैन कि आज बुढी रोज कि त्यो फोन। अति गर्नु चार नगर्नु भन्थे…” गनथन् जारी नै रह्यो उनको। म भने फोन टिपेर कोठातिर लागेँ ।
“दाइ, नमस्कार ! म ओखरबोटे कान्छो। चिन्नुभएन? तपाईँले मेरो कथा लेखिदिनु भएको थियो नि!” हर्षित मुद्रामा ऊ मलाई उसको परिचय दिँदै थियो। लाग्थ्यो संसारमा ऊभन्दा खुसी अरू कोही नै छैन।
“दाइ, यो मेरो नम्बर हो। सेभ गर्नु ल। तपाईँको नम्बर नि पेन्सिलभेन्याका तपाईँका ज्वाइँबाट पाएको। दाइ म त आज कति धेरै खुसी छु,” उसको यो खुसीको क्षण म स्पष्टै कल्पना गर्न सक्थेँ ।
“दाइ, मैले त बिहे पनि गरेँ नि, नर्सनीसँग। पूजा हो नाम। मभन्दा ४ वर्ष कान्छी। नर्सनी भए पनि म लठ्वालाई कति धेरै माया गर्छिन्। मेरो त श्रीमती भने नि आमा भने नि अब ता उही हो। बाको पनि ख्याल गर्छिन्,” ऊ निरन्तर आफ्नो खुसी मसँग साटिनै रह्यो।
“दाइ, दु:खिको पनि दिन आउँछ भन्थे हो रहेछ, मेरो पनि जीवनमा खुसी पलायो।, तपाईँलाई धन्यवाद।”
“मलाई? किन नि?” मैले जिज्ञासा राखेँ।
“हो दाइ, तपाईँसँगको भेटपछि घर गएर कति रोएँछु कति। रुँदारुँदै बेहोस नै भएँछु। एमरजेन्सीमा तीन दिन राखेको अरे । त्यहीँबाट मलाई काउन्सिलरकोमा पनि पठायो,” ऊ रोकिन्छ।
“अनि?” मैले प्रश्न तेर्साइहालेँ।
“अनि मलाई फेरि खै कोनि के भन्ने ठाउँमा लग्यो ९११ को गाडीमा हालेर। त्यहाँ अरू ४ दिन राख्यो। पूजा त्यहाँ कि नर्स रहेछिन्। मेरो नाम देखेपछि उनले सिएम भन्ने मान्छेले लेखेको तपाईँको कथा हो भनेर सोधिन् । नर्सनीसँग बोल्न डर लाग्यो; बोलिनँ। पुन: सोधिन्, होइन भन्ने इसारा दिँदै टाउको हल्लाएँ। उनी गइन्,” ऊ पुन: रोकिन्छ।
“त्यसपछि नि ?” मैले सोधी हालेँ।
“भोलिपल्ट औषधीसँगै तपाईँले लेखेको कथा पनि ल्याइछन्। तपाईँको फोटो त हिरोको जस्तै आएको रहेछ। (खल्ल हाँस्छ ऊ) त्यसपछि मैले केही भन्न सकिनँ, आँसुले लपक्कै भिजेंछु । त्यसपछि के भयो थाहा भएन, ब्युझिंदा उनले मलाई उनको काखमा सुताएकी रहेछिन् । आमाजस्तै लाग्यो, झन् रोएँ। कति रोएँ कति, उनको त्यो सेतो कपडा नै भिजेछ, अर्की नर्सनी आएर सुई लगाइएँ; म पुन निदाएँछु,” ऊ भक्कानिए जस्तो भ्रान्ति हुन्छ।
केही बेर चकमन्न हुन्छ।
“हो दाइ, उनले निकै चाकर गरिन् । पछि म नै हुँ भन्दिएँ। त्यसपछि झन् माया गर्न थालिन् । त्यहाँबाट बिदा नदिए पनि हुन्थ्यो जस्तै लाग्दै थियो। घर पठाइहाल्यो,” ऊ रोकिन्छ।
अनि?
“मेरो फोन पनि थिएन उनले घरको ठेगाना मागिन्, दिएको थिएँ। शनिवारको बिहान घरको ढोका ढकढक ढकढक गर्छ, मैले ढोका खोलेको त उनी रहेछिन्। बालाई टोपी र ज्याकेट अनि मलाई एउटा फोन ल्याइदिएको रहेछ। हाम्रोमै भात खाने गरेर आएकी रे, हामी दुवै भएर पकायौँ अनि सबै भएर भात खायौँ ,” ऊ पुन: रोकिन्छ।
नरोकिए पनि हुन्थ्यो जस्तै लागिरहेको थियो तर टक्क रोकिन्छ।
“अनि भनन,” म आग्रह गर्छु ।
“त्यसपछि उनले हामीलाई बजार लैजाने भनिन् , उनी बाको कोठामा गएर लुगा फेरिन्, हामीलाई पनि फेर्न लगाइन्। हामी दिनभर बजार घुम्यौ र बेलुका घरमा ल्याएर छाडिन्। त्यो बेलुका पनि फोनमा हामी बोल्यौँ, अनि त उनीसँग नबोल्दा पनि दिनै नबितेजस्तो लाग्न थाल्यो। उनको बिदाको दिन हामी भेट्न र घुम्न थाल्यौं,” पु:न रोकिन्छ।
“अनि?”
“एक दिनको कुरा हो, उनले मलाई घर लगिन्, उनका बाआमाहरु खै कता गएका रहेछन्……..”,
“खै के एक दिनको कुरा?….. ” म निक्कै जिज्ञासु हुन्छु।
“भन्दिनँ लाज लाग्छ हे हे, फेरि कसैलाई नभन्नु भनेकिछिन्,” निकै लामो सास फेर्छ।
“ए ! ल.. ल.. ठिकै छ, दाइलाई पनि नभन्ने?” मैले सोडा थपिदिएँ।
“दाइ पनि नि, हे हे। उनको कोठामा सुत्यौं नि,” निकै लजाए झैँ गरेर बोल्छ। “त्यसपछि त…….।”
“एक दिन उनले विवाह गर्नुपर्छ भनिन्, बाले पनि मान्नुभयो, हाम्रो विवाह पनि भयो। तपाईँको नम्बर नै थिएन बोलाउन पाइनँ । कति हो कति दु:ख लाग्यो, तर तपाईँ त मेरो मनमा हुनुहुन्छ, नबोलाए पनि आएझैँ भो,मनमै भएका कारण,” निकै दार्शनिक कुरा छाँट्यो मोराले।
“दाइ उनको कामबाट आउने बेला भो, बालाई दबाई खुवाएको छैन भन्ने थाहा पाइन् भने मार्छिन्, रिस त नि कडा छ, राखेँ ल? मेरो नम्बर सेभ गर्नुभयो नि?” निकै प्रसन्न मुद्रामा थियो ऊ।
“गरेँ हजुर गरेँ।”
दुवै गलल्ल हाँस्छौं।
“बाई बाई मेरो दाजु,” फोन झ्याप्प काटिन्छ। मेरो पनि खुसीको आँसु बगेछन्। तौलिया तानेर आँसु पुछेँ र उनको उज्वल भविष्यको कामना गरिरहेँ , गरिरहनेछु।
बिचरा ओखरबोटे, उसको कथा लेखिदिएर मैले पनि ठिकै गरेँछु । जति दु:ख पाउनु थियो अब तिम्रा दु:खका दिन कहिल्यै नफर्किउन्। सदा प्रगति सुन्न र देख्न पाइयोस् !
(यस कथाको पहिलो भाग भूट्निज् लिटेरचर डट कममा २७ अगस्त २०१५ मा “ओखरबोटे कान्छो ” शीर्षकमा यहाँ प्रकाशित भएको छ )