खेम रिजालका दुई गीत
खेम रिजाल
ओहायो, अमेरिका
१.
संगीत: सत्यस्वरुप आचार्य
गायन: स्वरूपराज आचार्य
एल्बम: पहिलो भेट
जाली हुन्छ माया भन्थे रेटेपछि थाहा पाएँ
आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ
. . . . . . . . . . . . . . . . . . . . . . .
हाँस्दै आयौ माया लायौ मिठा मिठा कुरा गरेऊ
माया जालमा फसाएर आफ्नो इच्छा पुरा गरेऊ
नबिझाउने पाइला थिए टेकेपछि थाहा पाएँ
आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ
. . . . . . . . . . . . . . . . . . . . . . . .
चोखो थियो माया मेरो आखिरीमा खेलाई छाड्यौ
झुटा सपना देखाएर जिन्दगी नै केलाई छाड्यौ
भेट्न आउने बाटोहरू मेटेपछि थाहा पाएँ
आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ
२.
संगीत: खेम रिजाल
गायन: मेलिना राई / किशोर सिवाकोटी
एल्बम: रिया-रिदम
बिर्सीयोकी परदेशीले फर्की आएन
थाहा छैन मेरो खबर पायो पाएन
. . . . . . . . . . . . . . . . . . .
रातभरि उसकै यादमा पोल्छ मेरै छाती
उराठ लाग्छ गाउँ बेसी सम्झिएर साथी
एकान्तमा प्रीत बनी किन छाएन
थाहा छैन मेरो खबर पायो पाएन
. . . . . . . . . . . . . . . . . . .
तड्पिनु र तड्पाउनु यस्तै हो कि माया
केही छिनमै हराई हाल्छ बैगुनी त्यो छाया
अँधेरीमा जून बनी ओर्ली आएन
थाहा छैन मेरो खबर पायो पाएन