गजल: १३७ (सवाल-जावाफ)
रामकृष्ण पौडेल”अनयास”
चितवन
सवाल
तड्पाएर मनलाई दुई किनारामै छाड्दै ठुले
मुग्लान पस्यौ हामी दुईको चोखो प्रेम मार्दै ठुले ।
न गतिलो बास अनि छाक टार्ने गास छैन
भोकभोकै आदिपेटमा बसे दुःख काट्दै ठुले ।
कहिले आउँछौ साहुको ऋण तिर्न पाए हुन्थ्यो भन्दै
भारी बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले ।
चुहिने घरको छानो अनि एकहात बस्त्र जोर्न आखिर
बस्नु पर्यो दुःख सही कर्मसँग हार्दै ठुले ।
ऐंचो पैंचो मेला पर्म गर्दै जीवन काटौँला नि
फर्क स्वदेश बाँचौला भो , दुःखसुख टार्दै ठुले ।
जवाफ
मुटुभित्र माया साँची मुग्लान पस्नु पर्यो कान्छी
स्वदेशमा रोजगार छैन यतै बस्नु पर्यो कान्छी ।
गरिबीको पेटमा लात मार्ने धेरै हुन्छन् यहाँ
त्यसैले त गास खोज्न कम्मर कस्नु पर्यो कान्छी ।
जाएजेथा सबै साहुको तिम्रो आधीपेट सम्झी
तिर्न सबै नपुगेसि यतै फस्नु पर्यो कान्छी ।
जे लेख्या छ बिधाताले त्यहि हुन्छभन्दा आखिर
खोस्यो भाग्य र त आज तलै खस्नु पर्यो कान्छी ।
कति खुट्टा मोल्नु र खै तिम्रो काख छाडी यहाँ
आफ्नै देशमा आर्जन हुने केही रच्नु पर्यो कान्छी ।