गजल-१६
भेडीखर्क मेरो बास पढ्न अझै लाग्छ आश
स्कूल छैन आसपास साथीसंगी दाउरा घाँस
बाबा-आमा लेकबेसी, नाम मेरो राम केसी
दाई भयो परदेशी, चरुवा हुँ म त खास
उमेर ‘भो दश बर्ष, जुटाउँछु घरखर्च
कामगर्दै दिन टर्छ, धुक-धुकी मेरो सास
पल्लाघरे धन्सरे, शहरमा पढ्छ रे
म त भएँ बन्चरे, नियतिले पार्यो दास
मिर्मिरेमा उठ्नु छ, भेडा खेदी कुद्नु छ
कोशौं टाढा पुग्नु छ, नत्र कहाँ मिल्नु गाँस
मालिकको छोरोले, कुट्नु कुट्यो मोरोले
थला परें ज्वरोले, सास छदैं भए लास