गजल: ३०१
डी एन काफ्ले
एड्लेड अस्ट्रलिया
पिउँदा-पिउँदै जिन्दगीकै नसामा उ पर्यो भन्दिनु
सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु
खुशी चुम्न जिन्दगीको शीखर चड्छु भन्दैथ्यो ऊ
चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनु
बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो
समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनु
संघर्षको उपवनमा गुलाब, बेली र चमेली
सार्दा-सार्दै फूल सरि एक् साँझ उ झर्यो भन्दिनु
किन्यो बैँस्, माटो किन्यो, किन्दै थियो जिन्दगी नै
आयुको मोल गर्नै नपाई झोला उस्ले भर्यो भन्दिनु
बाँच्दा-बाँच्दै जिन्दगीकै नसामा उ पर्यो भन्दिनु
साँच्दा-साँच्दै जिन्दगीकै दसामा उ पर्यो भन्दिनु