गजल – ३८८
नारद आचार्य ‘सुदामा’
पेन्सिल्भिन्या, अमेरिका
मलाई ठुलो मान्छे बनाउन, बाले पाखुरा बेचेको छ!
फेरि आमाले एक छाक खाएर, पटुका कसेको छ!!
सक्दिन भुल्न उनीहरूको तपस्या, त्याग र बलिदान!
छेक्दैन नक्कली प्रेमले,धेरै अञ्जुली सपना देखेको छ!!
आलै छ याद , ढिकी जाँतो अनि घाँस दाउरा गरेर!
मेरै लागी कापी कलम किन्न हरपल गाँस घटेको छ!!
कन्दमूल खाएर कल्पवृक्षको छानो मुनि बास बसी!
चिसो रात अनि तातो दिनसँग पौठेजोडी खेलेको छ!!