गजल-४०४

हिमा ढकाल
पेन्सिल्भिन्या, अमेरिका

भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन्
बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्।

आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको
जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी भन्छन्।

रोदन,  हाँसो  बराबरी  चल्छ  दिनरात जस्तै
यसैलाई नै दु:ख पिस्ने समयको घानी भन्छन्।

जसको  दिन सकिन्छ  नि घुम्ने फिर्ने  संसारमा
काल आई उसैलाई लान्छ छानी-छानी भन्छन्।

नियम  नै  हो  सृष्टिको  यो  आउनै पर्ने जानै पर्ने
दु:ख  मान्नु  व्यर्थ  हुन्छ, सत्य जानी जानी भन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *