गजल-४४५
लक्ष्मण धमाला -दुखी साईलो
ओहायो, अमेरिका
वधशालामा बाँधेर नडराउ भन्छौ तिमी
थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी
लाग्छ मलाई बाँच्नु केही क्षण छ अब
अन्तिम इच्छा के हो ? फरफराउ भन्छौ तिमी
मलाई चिच्याएर भनौ लाग्छ निर्दोष छु
यो कस्तो नियति हो ? नबरबराउ भन्छौ तिमी
म केही क्षणमा इतिहास बनिरहेको छु
राष्ट्रिय हितका लागि नलरखराउ भन्छौ तिमी
थाहा छ मेरो रगतले स्वर्ण युग जन्माउँछ
आफू स्वयं भागेर किन नधरमराउ भन्छौ तिमी