गजल-४५०

लक्ष्मीप्रसाद सापकोटा
आइओवा, अमेरिका   

बितेको  समय  सम्झेर  पछुताउनु  बेकार  छ ।
भोलि बिर्सेर केवल आजमै रमाउनु बेकार छ ॥

घमण्ड  चाहिँदो  गर्नुपर्छ आजको आनन्दको ।
नखाई नखाई धन सम्पत्ति बचाउनु बेकार छ ॥

तेस्रो नेत्र खोले पुग्छ असल खराब छुट्ट्याउन ।
हरेक विद्वानको जयजयकार लाउनु बेकार छ ॥

जीवनमा केही नगर्नेहरू नै उचाल्ने र पछार्ने हुन ।
यहाँ जोकोहिले मीठो सपना सजाउनु बेकार छ ॥

पूजा हो ध्यान देवताको, मन भित्रभित्रै  गरे हुन्छ ।
भोक भोकै बसेर पत्थरमा दूध चढाउनु बेकार छ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *