गजल ५२४
दुःखी अतुल
अमेरिका
थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ
मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ
प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि
मैले चुम्बन गर्न पाएको हुँ दिव्य लाली अधर कसले गुमाउँछ
प्रकृतिले सौगात स्वरूप प्रदान गरेको छ अवलोकन गर्नलाई
निरन्तर सुमधुर ध्वनि निकाल्ने निर्मल निर्झर कसले गुमाउँछ
प्रेमको सुनौलो यात्रामा मनमोहक नदी प्राप्त भयो भन्दैमा
सम्पूर्ण चीजले भरिपूर्ण विशाल शान्त सागर कसले गुमाउँछ
दुःखी हुने कारण एक भए पनि खुसी हुने कारण अनेक छन्
बेकारमा ओठको मुस्कान हुन्छ यति सुन्दर कसले गुमाउँछ